पछिल्लो समय मुलुकभरको सहकारी अभियानमा समस्या आएको बेला काभ्रे जिल्लाको बचतऋण सहकारी अभियान कसरी अगाडि बढेको छ ?
नेपालको सहकारी अभियानले एउटा उचाई लिएको थियो । तल्लो तहका जनतासम्म वित्तीय पहुँच अभिवृद्धि गरी सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा सहकारीहरुले महत्वपूर्ण भूमिका खेल्दै आएका थिए । सरकारले पनि अर्थनीतिका तीन मध्ये एउटा खम्बाको रुपमा सहकारीलाई लिएको छ । तर पछिल्लो समय विश्वव्यापी रुपमा आएको आर्थिक मन्दीको प्रभाव मुलुकको अर्थतन्त्रमा पर्दा त्यसको असर नेपालको सहकारी क्षेत्रमा पनि प¥यो । जसका कारण शहरी क्षेत्रका केहि ठूला सहकारी संस्था वित्तीय संकटमा परे । एक त मुलुकमा आएको आर्थिक मन्दीको प्रभाव त अर्कोतर्फ संस्थाहरु नीति र विधिमा नचल्दा वित्तीय समस्यामा परे । केहि संस्थामा आएको समस्याका कारण सामुदायिक रुपमा सञ्चालन भएका संस्थाहरुमा पनि त्यसको प्रभाव पर्न गयो । पनौति, धुलिखेल र बनेपा नगरपालिका क्षेत्रमध्ये, बनेपामा स्थापना भएका र कतिपय बाहिरी जिल्लाबाट आएर सेवा केन्द्र खोलेका संस्थाहरु धेरैजसो समस्यामा परेका छन् । संस्थालाई मुल्य, मान्यता र सिद्धान्तमा सञ्चालन नगरी पैसा संकलन गर्न खुलेका संस्थाहरु नै समस्यामा परेका हुन् । जथाभावी ऋण लगानी गरेका र संस्थामा न्यूनतम तरलता समेत नराखेका संस्थाहरु झनै अप्ठेरोमा परे ।
ती संस्थाहरुमा आएको समस्या समाधान गर्न हामीले नगरपालिकासँग समन्वय गरेर अगाडि बढ्यौं । बनेपामा रहेका संस्थाहरुको अनुगमनको लागि विज्ञ टोली गठन गरी संस्थाहरुको निरीक्षण गर्ने काम भयो । बनेपामा २४० संस्था रहेको भएपनि कतिपय संस्था सदस्यको बचत अपचलन गरेर भागिसकेका रहेछन् । कतिपय संस्थाको कार्यालय र सम्पर्क नम्बर पाइएन । बनेपा नगरपालिकामा रहेका २४० संस्थामध्ये १०० संस्थाको हामीले अनुगमन ग¥यौं । अनुगमन गरेका १ सय संस्थाका ३ सय सञ्चालकहरुलाई नगरपालिकासँग सहकार्य गरेर सहकारी तालिम दियौं । हामीले सो नगरपालिकाका १४ वटा वडाका अध्यक्ष र सहकारीकर्मीबीच गोष्ठीको आयोजना ग¥यौं । सहकारी अभियानमा आइपरेको समस्या समाधानका लागि समन्वय गर्न आग्रह ग¥यौं । प्रत्येक बुधबार बचत संघले हरेक संस्थाका सञ्चालकहरुलाई लक्षित गरेर तालिम दिँदै आएको छ । त्यो तालिमले संस्थाहरुलाई सुशासनमा रहेर संस्था सञ्चालन गर्न मदत गरेको छ । हामीले जिल्लाको बचत तथा ऋण अभियानलाई व्यवस्थित गर्न र वित्तीय अनुशासनमा सञ्चालन गर्नको लागि सहजिकरणको भूमिका खेलिराखेका छौं ।
सहकारीप्रति सदस्यहरुको विश्वास कस्तो रहेको छ ?
सहकारी संस्थाप्रति सदस्यहरुको विश्वास क्रमशः बढ्दै गएको छ । जसले गर्दा समुदाय र सदस्यकेन्द्रित वित्तीय कारोबार गर्दै आएका संस्थाहरुको कारोबार बढेको पाइन्छ । सदस्यहरुलाई पनि आफु आवद्ध संस्थालाई विश्वास गरेर नियमित रुपमा कारोबार गर्न हामीले आव्हान गरेका छौं । सहकारी क्षेत्रप्रतिको गलत प्रचारका कारण संस्थाहरुप्रति सदस्यको विश्वास घटेको अवस्था थियो । तर प्रारम्भिक संस्थाका सञ्चालकहरुले संस्थाप्रति विश्वास दिलाउन र सहकारीमा सहज बातावरण सृजना गर्न संघले सहजिकरण ग¥यो । जसकारण सहकारीप्रति सदस्यको विश्वास बढेर गएको छ । मुलुक नै आर्थिक मन्दीबाट गुज्रिरहेकाले त्यसको प्रभाव संस्थाहरुमा परेको छ । जसले गर्दा ऋण असुलीमा केहि समस्या छ ।
मुलुकमा आएको आर्थिक मन्दीका कारण कति संस्था समस्यामा परेका छन् ?
काभ्रे जिल्लाका कति संस्था समस्यामा परेका छन् र कति सदस्यको बचत जोखिममा परेको छ भन्ने यकिन तथ्यांक हामीसँग छैन । सञ्चालकहरुबीचको आन्तरिक द्वन्द, सञ्चालकहरु स्वयंले ऋण लिने र समयमा चुक्ता नगरेका कारण संस्थाहरु समस्यामा परेका देखिन्छन् । त्यसैगरी संस्थाहरुले ठूलो मात्रामा घरजग्गामा लगानी गर्नु, संस्थाहरु नाफामा नभएपनि प्रतिस्पर्धामा जानको लागि लाभांश वितरण गर्नु, लेखा सुपरीवेक्षण समिति निस्कृय बन्नु, नीति विधि र कार्यविधिमा नचल्दा संस्थाहरु समस्यामा परेको पाइएको छ । अर्कोतर्फ संस्थासंस्थाबीच अन्तर लगानी गरेका कारण एउटा संस्था बिग्रिन जाँदा अन्य धेरै संस्था समस्यामा परेको देखियो । कतिपय सञ्चालकहरुमा संस्था सञ्चालनको ज्ञान नै भएन । नीति विधि भनेको के हो र कसरी बचत परिचालन गर्ने भन्ने थाहा नै भएन । कतिपय संस्थामा कर्मचारी हावी भए । यसले गर्दा पनि संस्थाहरु समस्यामा परे ।
काभ्रे जिल्लामा २२ वटा संस्था समस्यामा परेका छन् । समस्यामा परेका संस्थाको बारेमा जानकारी पाए लगत्तै हामीले संघबाट निरीक्षणको लागि पठाउने र संस्थामा देखिएका समस्याहरु सुधार गर्नको लागि पहल ग¥यौं । सामान्य समस्यामा परेका संस्थाहरुलाई अनिवार्य रुपमा तालिममा सहभागि गराउने र सञ्चालकहरुलाई नीति, विधि र कार्यविधि अनुसार संस्था सञ्चालन गर्न अभिप्रेरित गर्ने काम हामीले गरेका छौं । संस्थालाई सही ढंगले व्यवस्थापन गरी सदस्यहरुलाई कसरी संस्थाप्रति निश्चिन्त गराउने भन्ने पाटोमा पनि हामीले काम गर्दै आएका छौं । यसले गर्दा कतिपय संस्थालाई सहजरुपमा कारोबार गर्ने वातावरण बनेर गएको छ ।
जिल्लामा रहेका कति संस्था बचत संघमा आवद्ध भएका छन् । ती संस्थाको विकास र प्रवद्र्धनका निम्ति संघले के गर्दै आएको छ ?
सहकारी अभियानमा देखिएका समस्याहरु समाधानको लागि माथिल्लो निकायहरुमा बहस र पैरवी गर्ने काम गर्दै आएका छौं बागमती प्रदेशमा रहेका १३ वटै बचत संघहरुका अध्यक्ष सम्मिलित एउटा फोरम बनेको छ । यो फोरमले समस्यामा परेका संस्थाहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर समाधानका लागि पहल हुँदै आएको छ । बचत संघमा १४१ वटा संस्था आवद्ध रहेका छन् । हामीले सबै संस्थालाई संघमा आवद्ध हुन पत्राचार गरेका छौं तर सबैलाई बाध्यात्मक बनाउन सक्दैनौं । सहकारी अभियानमा अभिभावकत्व चाहिन्छ भन्ने महशुस गरेका संस्थाहरुले संघको सदस्यता लिएका छन् । कतिपय संस्था झोलामा मात्रै सीमित छन् । कारोबार गरेका छैननन् । दूरदराजमा रहेको संस्थाले संघसम्म पहुँच बनाउन सकेका छैनन् । ती संस्थालाई संघमा आवद्ध भएर सेवा लिन कठिन भएको छ ।
शिक्षा तथा तालिमको क्षेत्रमा संघको भूमिका के छ ?
प्रत्येक वर्ष सदस्य संस्थाहरुलाई आवश्यकता अनुसार तालिम दिँदै आएका छौं । वर्षभरी कुन–कुन तालिम गर्ने भनेर क्यालेण्डर नै बनाएका छौं । त्यसैका आधारमा प्रारम्भिक संस्थाहरुको आवश्यकता अनुसार लेखा, नापी, ई ट्याक्स, व्यवस्थापन, सञ्चालकको क्षमता अभिवृद्धि जस्ता थुप्रै तालिम दिन्छौं । हरेक बुधबारको तालिमलाई निःशुल्क बनाएका छौं ।
पछिल्लो समय जिल्लागत संघ, प्रदेश र केन्द्रीय संघहरुप्रति सदस्य संस्थाहरुको आकर्षण घटेर गएको देखिन्छ । संघहरु राजनीतिक थलोको रुपमा विकास भए, अभियानको हकहित र प्रवद्र्धनका लागि काम गरेनन् भन्ने आरोप लाग्ने गरेको छ नि ?
संघहरुले आवश्यकता अनुसार सहकारी अभियानको लागि निरन्तर बहसपैरवी गर्दै आएका छन् । सम्बन्धित निकायमा पहल गर्ने र समन्वय तथा सहकार्य गर्ने काम सबै संघहरुले गर्दै आएका छन् । ती कुराको आभाष नभएकाले कतिपय तर प्रारम्भिक संस्थाहरुले त्यस्तो आवाज उठाएको हुनसक्छ । सहकारी ऐन बनेको छ तर पूर्ण रुपमा कार्यान्वयन भएको छैन । ऐनमा भएका कतिपय व्यवस्था सहकारीमैत्री छैनन् । अर्थतन्त्रका ३ मध्ये एक खम्बा भन्ने तर सहकारीलाई सहज रुपमा काम गर्न नदिने थुप्रै नीतिहरु छन् । बैंक तथा वित्तीय संस्थामा जतिवटा पनि खाता खोल्न पाइन्छ । सहकारीमा मात्रै अंकुश लगाउनुको कारण के हो ? कतिपय सहकारी अभियानकै जानेबुझेकाहरुले पनि यो ठीक हो भन्ने गरेको पाइन्छ । तर यसले सहकारी अभियानलाई संकुचन गर्छ । यसलाई हटाउनुपर्छ ।
जिल्लाको आर्थिक सामाजिक रुपान्तरणमा सहकारी संस्थाले खेलेको भूमिकालाई कसरी लिन सकिन्छ ?
तल्लो तहका जनताको लागि सहकारीले ठूलो योगदान गरेको छ । ससानो बचत गरी भविष्यका लागि पुँजी निर्माण गर्ने काममा सहकारीले सघाएको छ भने बैंकिङ पहुँचबाट टाढा रहेका जनताको आर्थिक क्रियाकलाप अगाडि बढाउन धेरथोर मदत पु¥याएको छ । सहकारीले घरदैलोमा नै गएर दसबीस रुपैयाँ बचत संकलन गरेर सहज सेवा दिएको छ । गाउँघरका किसानलाई सहकारीले बीउबिजन देखि लिएर मलखाद र आवश्यक पुँजी तथा प्रविधि उपलब्ध गराएको छ । जन्मदेखि मृत्युसम्म नै सहकारीले सेवा दिएर सदस्यहरुलाई मदत पु¥याएका छन् । बजारमुखी केहि संस्थाले पैसाको कारोबार गरेकाले मात्रै यो समस्या आएको हो । स्थानीय स्तरमा समुदायमा आधारित सहकारी संस्थामा कुनै समस्या छैन । स्थानीय स्तरमा स्वार्थ भावनाले कुनै पनि संस्था खुलेका छैनन् ।
काभ्रे कृषि र पर्यटनको लागि पनि उर्वर क्षेत्र हो, सदस्यहरुलाई स्वरोजगार बनाउन पनि सहकारीले भूमिका खेलेका होलान् नि ?
गाउँघरमा पशुपालन र कृषि कार्य गर्नका लागि ऋण दिने गरेकाले सदस्यहरुको आर्थिक समृद्धिमा सहकारीले टेवा पु¥याएकै छन् । उत्पादन र बजारीकरणमा समेत सहयोग गरेकाले समाजमा आर्थिक परिवर्तन ल्याउन ठूलो मदत मिलेको छ । सहकारी अभियानले पु¥याएको योगदानलाई सही मुल्यांकन गर्ने हो भने गर्व गर्ने ठाउँ पनि थुप्रै छन् ।
सहकारीमा आएको राष्ट्रिय समस्याले गर्दा सहकारीको औचित्यमाथि नै प्रश्नचिन्ह लागेको छ नि ?
सहकारी बिना मानिसको जिन्दगी नै चल्दैन । तल्लो तहका जनतालाई सेवा दिने एउटै माध्यम सहकारी हो । यसको विकल्प बैंक तथा वित्तीय संस्था हुन सक्दैन । सामाजिक क्रियाकलापलाई अगाडि बढाउनेदेखि आर्थिक क्रियाकलापलाई चलायमान बनाउन सहकारी महत्वपूर्ण कडी हो । समाजमा सहकारीको विकल्प छैन । संविधानले भने जस्तै सहकारीलाई अर्थतन्त्रको ३ मध्येको एउटा बलियो खम्बा बनाउन हामी लाग्नुपर्छ । यसका लागि राज्यले पनि सहज बातावरण सिर्जना गरिदिनुपर्छ ।
सहकारीले गरेको गलत कुराको मात्रै प्रचार भयो । सहकारीले समाजमा पु¥याएको योगदानको प्रचारप्रसार भएन भनिन्छ नि ?
समाजको दुःखसुखमा सहकारीले काम गरेका छन् । सरसफाई, रक्तदान, स्वास्थ्य शिविर र सबै उमेर समुहलाई लक्षित गरी थुप्रै कार्यक्रम गर्ने गरेका छन् । नयाँ बुहारी सम्मान कार्यक्रम, शैक्षिक सम्मान, छात्रवृत्ति, काजकिरिया खर्च, उपचार खर्च, सुत्केरी भत्ता, ज्येष्ठ सदस्यहरुलाई भत्ता लगायतका विभिन्न राम्रा काम सहकारीहरुले गर्दै आएका छन् । समाज परिवर्तनमा सहकारीले धेरै राम्रा काम गरेका छन् ।
संघले यस वर्ष सदस्य संस्थाहरुलाई कसरी लाभान्वित गराउँदैछ ?
गत आर्थिक वर्षमा हामीले सदस्य संस्थाहरुलाई कुनै पनि प्रतिफल दिन सकेनौं । लगानी गरेको ऋण समयमा नउठ्दा प्रतिफल दिन सकेनौं । समयमा ऋण असुली नभएकाले नाफा गर्न सकिएन । त्यसले गर्दा लाभांश दिने कुरा नै भएन । संघले लगानी गरेको नेफ्स्कून, सहकारी बैंक लगायतले पनि कुनै प्रतिफल दिएन । त्यसैले हामीले पनि दिन सक्ने अवस्था रहेन । यो वर्ष संस्थाहरुलाई लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट केहि रकम उपलब्ध गराउँछौं । यसपटक भने ऋण असुलीमा सुधार भएको छ । ऋणको साँवाब्याज असुली भएकै कारण केहि प्रतिफल सक्षम भएका हों । कतिपय संस्थाको धितोमा रहेको सम्पत्ति लिलाम विक्री गरेर ऋण असुली गरेका छौं । जसका कारण संघको भाखा नाघेको ऋण न्यून रहेको छ ।
नेपालपत्र संवाददाता