भक्तपुरको बसिडोलमा रहेको बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कोभिड १९ को महामारी सामान्यतर्फ उन्मुख हुँदै गएको र सहकारी विभागले पनि सहकारी ऐन २०७४ र नियमावली २०७५ अनुसार सदस्यहरुको भौतिक उपस्थितिमा नै साधारणसभा गर्न सूचना जारी गरेकोले संस्थाले एकै दिन सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के. बी. उप्रेतीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा संस्थाका अध्यक्ष श्रेष्ठले सदस्यको आर्थिक, सामाजिक र साँस्कृतिक पक्ष मात्र नभएर संस्थाले वित्तीय, स्वास्थ्य, प्रविधि जस्ता कुरामा समेत साक्षर बनाउन क्रियाशील रहेको बताए । २०६४ सालमा स्थापना भएको संस्थासँग अन्य २ संस्थाको एकिकरणपश्चात् कार्यक्षेत्र विस्तार भएतापनि समुदायमा आधारित, दिगो र भरपर्दो संस्थाको रुपमा विकास गर्न आफुहरु लागिपरेको उनले जनाए ।
शेयर लगानीमा सदस्यहरुको समान आर्थिक सहभागिता गराउने अभियानको थालनी गरेको, सदस्यहरुलाई नवीनतम आधुनिक प्रविधिसँग साक्षात्कार गराउँदै लगेको र सदस्यलाई सदस्यद्वारा नै कार्यक्रमको तर्जुमा गरी थप रोजगारका अवसर सिर्जना गर्नेतर्फ संस्था केन्द्रित रहेका अध्यक्ष श्रेष्ठले बताए ।

संस्थाका सचिव मोहनकृष्ण श्रेष्ठले आ. व. २०७७।७८ को प्रगति विवरण तथा आ.व. २०७७।७८ को नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए । संस्थाले चालु आ.व. मा सहकारी ऐनको परिधिभित्र रही कार्यक्षेत्र भित्रका समुदायलाई सदस्य बनाउने, प्रोबेशन ब्राण्ड प्राप्त गर्न लागि पर्ने, एटिएम सेवा सञ्चालन गर्ने, सीपमूलक तालिम सञ्चालन गरी सदस्यहरुमा व्यवसायिकताको अभिवृद्धि गर्ने, एकिकरण अभियानलाई थप अगाडि बढाउने र संस्थाको प्रवद्र्धन गर्न विभिन्न सामग्रीको प्रकाशन तथा वितरण गर्ने उनले जानकारी दिए ।
संस्थाका कोषाध्यक्ष श्याम प्रधानले आ.व. २०७७।७८ को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै शेयरपुँजी १२ करोड ४७ लाख ४२ हजार, जगेडा तथा अन्य कोष ३ करोड ५३ लाख २० हजार, बचत संकलन ९१ करोड ३३ लाख ९६ हजार, ऋण लगानी ९३ करोड ८५ लाख ५८ हजार गरी कुल वासलात १ अर्ब १४ करोड ६ लाख पुगेको बताए । संस्थाले त्यस अवधिमा संस्थाले १ करोड ७८ लाख ९४ हजार नाफा आर्जन गर्न सफल भएको छ ।

संस्थाका प्रबन्ध सञ्चालक जगतकृष्ण श्रेष्ठले १४औं बसन्तसम्म पार गर्दा भक्तपुर जिल्लाभर सहकारी क्षेत्रमा कारोबारका आधारमा पाँचौं स्थान हासिल गर्न सफल भएको जनाए । कोभिड १९ को महामारीका बीच मुलुकका अधिकांश आर्थिक सुचकांकमा न्यून वृद्धिको अवस्था कायम रहेतापनि संस्थाका वित्तीय सूचांकको वृद्धि उल्लेख्य रहेको र संस्थाले ऐतिहासिक सफलता प्राप्त गर्न सकेको उनको भनाई छ ।
संस्थाले सदस्यहरुलाई बंगलामुखी स्मार्ट एप, विप्रेषण सेवा, कनेक्ट आइपीएस, फोन पे रिचार्ज सेवा, मिस्डकल सेवा, ब्यालेन्स इन्क्वायरी, इसेवा र सवारी नवीकरण गर्ने जस्ता सुविधा प्रदान गरिरहेको छ । संस्थाले मुख्य कार्यालय सहित शंखधर चोक र ललितपुरको ग्वार्कोमा सेवाकेन्द्र सञ्चालन गर्दै आएको छ ।