काठमाण्डौको जयबागेश्वरीमा रहेको नवाली बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोभिड १९ को महामारीको अवस्था सामान्यतर्फ उन्मुख भएसँगै संस्थाले सदस्यहरुको उपस्थितिमा एकैदिन साधारणसभा सम्पन्न गरेको हो ।
सभामा अध्यष आशामान संगतले मन्तब्य राख्दै संस्थाले सहकारिताको भावना अनुरुप सदस्यहरुलाई वित्तीय सेवाका साथै बचतमा उचित प्रतिफल प्रदान गर्दै आएको बताए । सहकारीप्रति सदस्यले देखाएको विश्वासका कारण संस्थाले यस अवधिसम्म आइपुग्दा राम्रै प्रगति गर्न सकेको र भविष्यमा राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुर्याउने आशा उनले व्यक्त गरे ।
२०६७ सालमा स्थापना भएको संस्थाले सदस्यहरुमाझ बचतऋण परिचालन गरी त्यसबाट कमाएको नाफाबाट जगेडा तथा अन्य कोषहरुमा समेत व्यवस्था गर्दै आएको छ । त्यसका साथै सदस्यहरुलाई संरक्षित पुँजी फिर्ता कोषबाट बचतकर्तालाई ४० र ऋणीहरुलाई ६० प्रतिशत रकम वितरण गर्दै आएको अध्यक्ष संगतले जानकारी दिए ।
संस्थाका सचिव बाबुराजा संगतले आ. व. २०७७।०७८ को वार्षिक प्रतिवेदन तथा चालु आ.व.को भावी कार्यक्रमहरु प्रस्तुत गर्दै शेयरपुँजी १ करोड ५० लाख पु¥याउने, सदस्य संख्या वृद्धिका साथै बचतऋण लगानी बढाउने, कारोबारलाई छिटो छरितो र पारदर्शी बनाउँदै लैजाने जस्ता योजना रहेको उल्लेख गरे ।
संस्थाका कोषाध्यक्ष अशोक कुमार डंगोलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असार मसान्तसम्म संस्थाको शेयरपुँजी ९२ लाख ४८ हजार, बचत ७ करोड ५४ लाख २३ हजार र ऋण लगानी ५ करोड ७८ लाख २२ हजार पुगेको जानकारी दिए । त्यसैगरी संस्थाको कोषहरुमा १ करोड १३ लाख ८ हजार पुगेको छ । संस्थाले गत आ.व. मा २० लाख ५५ हजार नाफा आर्जन गरेको र लाभांश कोषबाट सदस्यहरुलाई १५.७८ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । संस्थामा ९८० सदस्य आवद्ध रहेका छन् ।
