काठमाण्डौ । पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले सहकारी क्षेत्र समस्याउन्मुख भनिरहन आवश्यक नभएको बताएका छन् । सहकारी क्षेत्रलाई जोखिममा पार्ने बैकिङ्ग क्षेत्रको तरलता अभावको समस्या हल भएको अवस्थामा सहकारी क्षेत्र समस्याउन्मुख रहेको भन्न नमिल्ने उनले बताएका हुन्। सहकारी सुशासन प्रवर्धन सम्बन्धी बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
बैकिङ्ग प्रणाली र बचत तथा ऋणको कारोबार गर्ने संस्थाहरुबीच अन्योन्यास्रित सम्बन्ध हुने भएकाले त्यसको असर सहकारी क्षेत्रमा पर्ने गरेको उनले जनाए । अब बैकिङ्ग प्रणालीका कारण सहकारी अभियानलाई अप्ठ्यारो स्थिति आइनपर्ने भन्दै खतिवडाले सहकारी संस्थामा सुशासन कायम गर्न सके बैकिङ्ग क्षेत्रको स्रोत समेत ल्याएर उत्पादनमा लगाउने अवसर सृजना भएको उल्लेख गरे।
बैकिङ्क क्षेत्रको ब्याजदर औसत ५ प्रतिशत विन्दुले घटेकाले त्यसको उपयोग कसरी गर्ने भनेर बचतकर्ताले सोच्न थालेको उनको भनाई छ । ‘राम्रा र समुदायमा आधारित सहकारी संस्थामा लगानी गर्दा बचतको ब्याज राम्रो आउँछ भने उनीहरु लगानी गर्न तयार छन्, जोखिम निवारण गर्न सके सहकारीलाई अवसर सृजना भएको छ,’ उनले भने । धेरै जसो बचत ऋण सहकारी संस्थाको स्वास्थ्य राम्रो रहेको र समस्यामा परेको सहकारी संस्थाको समस्या समाधान गर्न सके अभियानलाई राम्रो हुने उनको भनाई छ । अर्थतन्त्रका अरु क्षेत्रबाट सहकारीमा अप्ठ्यारो अवस्था सृजना हुने अवस्था नरहेको र सहकारीमा समस्या अब सहकारीकर्मीकै कारणले मात्र आउने उनले प्रष्ट पारे।
आन्तरिक सुशासन र वित्तीय व्यवस्थापन गर्न नसक्दा मात्रै सहकारीमा समस्या आउने उनले बताए । ‘सहकारीमा दुइ किसिमका धारणा विकसित भएका छन् । पहिलो सबै सहकारीमा विकृति नभएको र मुल्यमान्यताभन्दा बाहिर गएर नचलेको भन्ने बलिया छन् भन्ने धारणा रहेको छ । अर्कोतर्फ अभियान बिग्रियो र यसलाइ प्रणालीभित्र ल्याउन नसके अर्थतन्त्रलाइ नै संकटमा पार्छ भन्ने छ। यसको धार सानो भएपनि हल्ला ठूलो छ । त्यो हल्लाले ठूलो प्रभाव पारेको छ । सामाजिक सञ्जालको दुनियामा सानो हल्लाले ठूलो प्रभाव पार्छ । वित्तीय प्रणालीमा शतप्रतिशत् संस्थाहरू ठीक हुँदैनन् तर अधिकांश सहकारी संस्थाहरू ठीक छन् । संस्थाहरूले सदस्यको बचत डुबाउँदैनन् भन्ने आश्वस्त पार्ने काम केन्द्रीय संघहरूले गर्नुपर्छ,’ उनले भने, ‘सहकारीप्रति यसअघि जति नकारात्मकता नरहेको र जसले गलत गर्छ उसले दण्ड पाउने रहेछ भन्ने बातावरण बनेर गएको छ।’
सहकारी संस्थाहरूलाई राष्ट्र बैंकको नियमनमा राख्न नहुने डा. खतिवडाले बताए। राष्ट्र बैंकको नियमनमा गएको खण्डमा भने स्वनियमनको बुँदा हटाउनुपर्ने उनले बताए । ‘सहकारीलाई राष्ट्र बैंकको नियमनमा राख्नै हुँदैन, राष्ट्र बैंकको मोह छोड्नुहोस्, राजनिती गर्नेले नियमनमा बस्न चाहँदैन,’ उनले भने, ‘सहकारीका अधिकांश सञ्चालक राजनीतिमा छन्, सहकारी राष्ट्र बैंकको नियमनमा गयो भने भोलि अर्कै समस्या आउँछ ।’
पूर्वअर्थमन्त्री खतिवडाले लेखापरीक्षकहरूले पेशागत धर्म छाडेको दिन सिलिकन भ्यालीको हालत हुने बताए । अर्थ सामाजिक व्यवस्थाको एउटा अंग भएको उनको भनाइ छ । बैंकिङ प्रणाालीबाट अब सहकारीमा समस्या नरहेको समेत उनले बताए । साथै बैंकिङ क्षेत्रको ब्याजदर उच्च हुँदा सबै क्षेत्रलाई समस्यामा पारेको उनको भनाइ छ ।
‘सहकारी कोषहरू पारदर्शी हुनुपर्छ, लेखापरीक्षक सुशासनमा बस्नुपर्छ,’ पूर्वअर्थमन्त्री खतिवडाले भने, ‘अडिटरले पेशागत धर्म छोड्नु हुँदैन, अडिटरले कमजोरी गर्दा सिलिकन भ्यालीका बैंकहरू डुबेका छन् । त्यो अवस्था हाम्रोमा आउन दिनु हुँदैन ।’
अर्थतन्त्र नबिग्रिएको तर अपेक्षाकृत नरहेको उनको भनाइ छ । ६० खर्ब बचतको ५ प्रतिशत ब्याजदर हुँदा बचतकर्तालाई धेरै घाटा भएको उनले बताए । जति सहकारी संस्था बिग्रिएपनि अब सुधारको बाटोमा जानुको विकल्प नरहेको उनको धारणा छ ।
नेपालपत्र संवाददाता