नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले संघको ३३औं वार्षिक साधारणसभा वास्तवमै परिणाममुखी हुने दाबी गरेका छन् । साधारणसभा नजिकिएसँगै देशैभरका सदस्य संघ संस्था, नियामक निकाय तथा सरोकारवालाहरुको चासो बढेकाे र त्यसैलाई सम्बोधन गर्ने गरी भएको आन्तरिक तयारी गरिएकाे जनाउँदै अध्यक्ष ढकालले यो साधारण सभा साकोस अभियानको निम्ति वास्तवमै नतिजामुखी, दुरगामी महत्वको साथै अविष्मरणीय हुने दाबी गरे ।
नेपालपत्र न्यूजसँगै कुुरा गर्दै अध्यक्ष ढकालले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित बुटवल शहरको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा पुस ५ र ६ गते हुने सभाको अन्तिम तयारी जोडतोडका साथ भैरहेको जानकारी गराए । देशभरबाटै प्रतिनिधिहरु धेरै लामो समयपछि काठमाडौं बाहिर त्यो पनि शान्तिका अग्रदूत गौतम बुद्धको तपोभूमिमा हुने सभामा सहभागिताका लागि आतुर भएको अध्यक्ष ढकालले बताए ।
‘साँस्कृतिक, ऐतिहासिक, प्राकृतिक लगायत महत्व बोकेको शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमिमा हुने साधारण सभा नेपालको साकोस अभियानको लागि साँच्चिकै अविष्मरणीय हुने विश्वास संघको सञ्चालक समितिले लिएको छ, ’अध्यक्ष ढकालले भने, ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ लाई समेत ध्यानमा राखी आन्तरिक पर्यटन प्रवर्धनको सेकेन्डरी उद्देश्य पनि यो वार्षिक साधारण सभाको रहेको छ प्राइमरीभनेको त साधारणसभाको कार्यसूची उपरको कामकारवाही नै हो ।’
नेफ्स्कून सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापन उपसमति, उपसमितिहरु, तथा व्यवस्थापनको संयुक्त प्रयासले बुटवल साधारणसभा साँच्चिकै परिणाममुखी हुने विश्वास लिएको उनले बताए । यो साधारणसभाले नवीनता पस्कने उनले उल्लेख गरे ।
ढकालको अध्यक्षतामा कार्तिक २६ गते काठमाडौंमा बसेको संघ सञ्चालक समितिको ३ सय ३३औं बैठकले ३३ औं वार्षिक साधारण सभा बुटवलमा गर्ने निर्णय गरेको थियो ।
नेफ्स्कूनले १६ वर्षपछि (२०६४ सालपछि) काठमाडौं बाहिर बार्षिक साधारण सभा आयोजना गरेको हो । २०८० पुस ७ र ८ गते काठमाडौंमा सम्पन्न नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभाबाट ढकालको नेतृत्वमा नयाँ सञ्चालक समिति तथा इन्द्रराजज्योति पौडेलको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्वाचित भएपछिको यो पहिलो बार्षिक साधारणसभा हो ।
नेफ्स्कूनको नयाँ सञ्चालक समितिको पहिलो वार्षिक साधारणसभा नै काठमाडौं बाहिर आयोजना हुँदैछ । मुलुक संघीयतामा प्रवेश गरेसँगै विकेन्द्रीकरणको सिद्धान्तअनुरुप नेफ्स्कून सञ्चालक समितिले काठमाडौं बाहिर साधारण सभा गर्ने योजनासहित लुम्बिनी प्रदेशमा सहमति जनाएको अध्यक्ष ढकालले बताए । यसैगरी, लुम्बिनीमा पहिलो पटक नेफ्स्कूनको वार्षिक साधारण सभा आयोजना गरिएको हो । ढकालले भने, ‘यसअघि पनि नेफ्स्कूनले काठमाडौंबाहिर मोरङको लेटाङ तथा विराटनगर, बाँकेको नेपालगञ्ज, गोरखा मा वार्षिक साधारण सभा आयोजना गरेको इतिहास छ ।’
त्यस्तै, सन् २०२५ लाई संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाउने घोषणा भैसकेको परिप्रेक्ष्यमा आयोजित नेफ्स्कून सदस्य संघ संस्थाहरुको यो सर्वोच्च निर्णयकारी सभाले सहकारीको छविलाई थप उजिल्याउने दिशामा थप सुशासित, मर्यादित, सदस्यकेन्द्रीत र पारदर्शी रुपमा अघि बढ्न अभियानलाई दिशाबोध गर्ने विश्वास अध्यक्ष ढकालले गरे । यसैगरी, नेपाल सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई भ्रमण दशक घोषणा गरेको सन्दर्भमा समेत नेफ्स्कूनको साधारणसभा सहकारी पर्यटन प्रवर्धनमा सहयोगी बन्ने विश्वास उनको छ ।
यो पटकको साधारण सभा सिकाइको थलो पनि हुने अध्यक्ष ढकालले बताए । सभामा साकोस अभियानको समसामयिक विषयमा २ वटा कार्यपत्र प्रस्तुतीकरण रहेको छ, ’उनले भने, ‘साकोस अभियानको सुशासन, प्रवद्र्धन र आन्तरिक नियन्त्रण प्रणालीको मजबुतीकरणका विषयमा सदस्यहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम तय भएको छ, त्यस्तै साकोस अभियानभित्रको प्रणाली र फिट एण्ड प्रपर टेस्टको विषयमा पनि विज्ञबाट कार्यपत्र प्रस्तुति हुनेछ । साकोस अभियानको सर्वोच्च सभाले एउटा संकल्प प्रस्ताव पारित गरी त्यसमार्फत् साकोस अभियानलाई दिशानिर्देश गर्ने विश्वास हामीले लिएका छौं ।’
नेफ्स्कूनको साधारण सभाको कार्यतालिका अनुसार पहिलो दिन उद्घाटन र कार्यपत्र प्रस्तुतिपछि दोस्रो दिन अध्यक्ष, महासचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन उपर छलफल र सदस्यहरुको राय, सल्लाह र सुझाव समेटी पारित गर्ने कार्यसूची रहेको छ । वार्षिक साधारण सभामा सदस्य संस्थाका प्रतिनिधिहरू सक्रिय रूपमा सहभागी भएर नेपालको बचत तथा ऋण अभियानलाई सही दिशानिर्देश गर्न अध्यक्ष ढकालले आग्रह गरे ।
साधारणसभामा उपस्थिति भएर निर्णय प्रक्रियामा सहभागी जनाउनुका साथै विषयविज्ञबाट नयाँ कुरा सिक्न पनि अध्यक्ष ढकालले सबैलाई अपील गरे । साधारण सभामा सहभागी हुने प्रतिनिधिहरुलाई सभास्थलमा सहज आवतजावतमा सहजीकरणका लागि हेल्प डेस्क स्थापना गरिने छ भने आसपासका होटलहरुमा सहुलियत दरमा गुणस्तरीय खानपिनको लागि समन्वय पनि भएको उनले बताए ।
उनले भने, ‘वार्षिक साधारण सभा भएकाले साकोस अभियानको निर्णयस्थल यो हो । यसले गर्ने निर्णयले नै भोलिका दिनमा नेपालको बचत तथा ऋण अभियानलाई दिशानिर्देश गर्नेछ । त्यसकारण साधारणसभामा उपस्थिति भएर निर्णय प्रक्रियामा सहभागि हुनु हरेक संघसंस्थालाई म आग्रह गर्दछु ।’
एक अर्को प्रसङ्गमा उनले अघिल्लो सञ्चालक समितिको कार्यकालमा भएका विषयहरु उठाएर अहिले साधारण सभाको नजिकिदै गर्दा प्रायोजित रुपमा संघको खेदो खन्ने, अतिरञ्जना गर्ने र व्यक्तिगत रुपमा फोटोहरु टाँसेर कुप्रचार गर्ने काम समेत भैरहेको भन्दै यस्ता अफवाहको पछि नलाग्न पनि अध्यक्ष ढकालले सदस्य संघ संस्थाहरुलाई आग्रह गरे ।
उनले भने, ‘नयाँ सञ्चालक समिति आएपछि हिजो बिग्रिएका कामलाई सुधार गर्ने काम भएको छ, भाखा नाघेको ऋण असुलीमा तीब्रता दिइएको छ, सुशासनप्रति प्रश्न नआउने गरी काम गरिएको छ जुन कुरा साधारणसभामा सदस्यहरुसँग सप्रमाण राख्ने तयारी गरिएको छ । यस्तो बेला संघको प्रगतिबाट अत्तालिएकाहरुले कुप्रचार गरेको उनले बताए ।
विभागबाट भएको सघन अनुगनमबाट प्राप्त सुझावहरु कार्यान्वयन गरी अधिकांश सूचकहरु सन्तोषजनक भएको परिप्रेक्ष्यमा साधारणसभाको नजिक सदस्यहरुलाई विगतका विषयहरु कोट्याएर दिग्भ्रमित गर्न खोजिएको भन्दै यस्ता विषयबाट अविचलित गरी बुटबलबाटै जवाफ खोज्ने तयारी गर्दै सहभागी हुन पनि उनले आग्रह गरे ।
नेपालपत्र संवाददाता