बुधबार, भाद्र ३ गते २०८३

तिमी नेपालीहरू बेवकुफ हौ; लुम्बिनी नेपालमा हुँदाहुँदै गौतम बुद्ध भारतमा जन्मेका हुन् भन्ने झुटको प्रचारलाई तिमीहरू हुस्सु बनेर सुनिरहेका छौ.... : रजनीश


मंसिर २७, २०८१ बिहीबार
तिमी नेपालीहरू बेवकुफ हौ; लुम्बिनी नेपालमा हुँदाहुँदै गौतम बुद्ध भारतमा जन्मेका हुन् भन्ने झुटको प्रचारलाई तिमीहरू हुस्सु बनेर सुनिरहेका छौ.... : रजनीश

ओशो रजनीश (१९३१–१९९०) को जन्मको नाम चन्द्र मोहन जैन हो । रजनीश उनैले रखेको उपनाम हो, जसको शब्दार्थ हुन्छ रजनी (रात) ईश (इश्वर) अर्थात रातको ईश्वर । एक कलेजको लेक्चररबाट आफ्नो क्यारियर शुरू गरेका रजनीश ‘आचार्य रजनीश’, ‘भगवान श्री रजनीश’, हुँदै जापानी शब्दको ‘ओशो’ उपनामले चिनिएका थिए । रहस्यवादी दर्शन, नयाँ धार्मिक आन्दोलन र ‘सम्भोगदेखि समाधिसम्म’ जस्ता प्रवचनले पाएका पुस्तकाकारका कारण यिनी विवादमा परिरहे ।

१९६० देखि यिनी भारतको भ्रमण गर्न थाले । विवादास्पद र आलोचनात्मक भाषणका कारण विवादमा आइरहे । यिनले परम्परागत हिन्दु धर्मदेखि महात्मा गान्धीसम्मको आलोचना गरे । तर गौतम बुद्ध र राजा जनकको प्रशंसा गरे । ‘समाजवाददेखि सावधान’ जस्ता प्रवचन र पुस्तक प्रकाशनले तहल्का मच्चाए । ध्यान, सचेतन, प्रेम, उत्सब, साहस, सिर्जनशीलता र रसिकताजस्ता गुणलाई मानवजीवनका आवश्यकताका रुपमा ब्याख्या गरे । यिनका ब्याख्यानको चरम विवादका कारण यिनी ‘सेक्स गुरू’ को उपाधी समेत पाए ।

सर्वप्रथम पुणेमा आश्रम स्थापना गरेर बसेका रजनीशमाथि भारतको तत्कालीन जनता सरकारले ५० लाख डलर ट्याक्स तोकेपछि तनाब उत्पन्न भयो । आखिर उनी आफ्ना अनुयायीसहित सो आश्रम छोडेर अमेरिका लागे । त्यहाँको ओरेगन राज्यमा ‘रजनीशपुरम्’ आश्रम स्थापना गरेर बसे । त्यहाँ उनका अनुयायीहरूले सामुहिक जहर काण्ड मच्चाउने काम, एक अधिवक्ताको हत्या अपराध जस्ता हर्कत गर्न थालेको र रजनीशपुरम र स्थानीय निवासीहरूको विवाद उत्पन्न भएपछि अमेरिकी सरकारले फिर्ता पठायो ।

त्यसपछि उनले २१ वटा मुलुकमा प्रवेशको कोशिश गरे तर कतै अनुमति पाएनन् । आखिर उनी भारतको पुणे आश्रममा फर्किए । त्यहीँ उनको निधन भयो । हिजो डिसेम्बर ११, उनको जन्मदिन हो ।

अमेरिकाबाट भारत वापस आएपछि रजनीश एकपटक नेपाल आएका थिए । बुद्ध भारतमा जन्मेका हुन् भनी भारतीयहरूले गरेको प्रचारवाजीको उनले विरोधमात्र गरेनन्, उपरोक्त वाणीद्वारा विद्युतीय झट्काजस्तो घच्घच्याउने काम गरेका थिए । होटल सोल्टीमा भएको उनको पत्रकार सम्मेलनमा सरिक हुने अवसर मिलेको थियो ।