बुधबार, भाद्र ३ गते २०८३

मनबाधिकारको निहीतार्थ र समाजमा यसको महत्व


मंसिर २५, २०८१ मंगलबार
मनबाधिकारको निहीतार्थ र समाजमा यसको महत्व
यो बर्ष २०२४ को मानवाधिकार दिवसको मूख्य नारा ‘असमानताहरु कम गर्ने र मानबाधिकारलाई अघि बढाउने’ रहेको छ । यस नाराले हाम्रो समाजमा ब्याप्त  गहिरो असमानताको स्थितिलाई हटाउनै पर्ने आवश्यकतालाई स्पष्टरुपमा रेखाङ्कित गर्दछ । यस शीर्षकले सन्देश दिन्छ कि असमानताहरु केवल आर्थिक र सामाजिक स्तरमा मात्रै छैनन् यसका अतिरिक्त लिङ्ग, बर्ण, जाति, धर्म र क्षेत्रका भेदभावकारुपमा पनि ती कायम रहेका छन् । जसले समाजमा घृणा,हिंसा र बिभाजन जन्माउने गर्दछन् । बास्तवमा यी असमानताहरुलाई अन्त्य गर्नु अत्यावश्यक छ ।किनभने जबसम्म यस्ता भेदभावपूर्ण संरचनाहरुलाई समाप्त गरिदैन तबसम्म हामी सबै मानब जातिका लागि समान अवसर, समान न्याय र समान बिकासको सुनिश्चितता गर्न सक्तैनौ ।
 
वास्तबमा असमानताहरुको प्रभाव केवल ती ब्यक्तिहरुमा मात्र पर्ने होइन, जसलाई यसले प्रत्यक्षरुपमा प्रभाबित तुल्याउँदछ त्यसका अतिरिक्त समग्र समाजका लागि नै यसले नकारात्मक परिणाम उत्पन्न गर्दछ र प्रभाव पार्दछ । जब महिलाहरु, बालबच्चाहरु, अल्पसंख्यकहरु तथा कमजोर बर्गका मानिसहरु बर्गीय शोषण र सामाजिक उत्पीडनको  शिकार बनेर आफुले पाउनु पर्ने आधारभूत मानबाधिकारबाट बञ्चित रहन्छन् त्यसबेलासम्म समाजका लागि उनीहरुको योगदान घट्छ र त्यसबाट समाजको समग्र बिकास रोकिने गर्दछ । त्यसैले असमानताहरुलाई कम गर्ने र अन्त्य गर्ने कुरा केवल एउटा संबैधानिक तथा कानुनी मामिला र मानबाधिकारको मामिल मात्र होइन, यो त यथार्थमा समाजको जनमुखी सम्बृद्धि र शान्तिसँग गासिएको महत्वपूर्ण र आबश्यक कुरा हो । 
 
यो ‘असमानतालाई कम गर्ने र मानबाधिकारलाई अघि बढाउने’ बिषयले हामीलाई यो सम्झना गराइरहने अबसर दिन्छ कि ती असमानताहरु केवल ब्यक्तिगत स्तरमा मात्र होइन, सस्थागत तथा संरचनात्मक स्तरमा समेत कायम रहेका हुन्छन् र छन् । उदाहरणका लागि शिक्षा, स्वास्थ्य सेवाहरु अनि रोजगारीमा भेदभावका कारण कतिपय समुदायहरुलाई सेवा प्राप्त भइरहेको हुँदैन । यस्तो स्थितिमा कतिपय समुदायकासँग संसाधन र अवसरहरु हुन्छन् भने अन्य बाँकी समुदायले आधारभूत अधिकारसम्मको पहुँच पाइरहेका हुँदैनन् । यसको सही समाधान त्यतिबेला मात्र हुन पाउँछ जतिबेला हामीले सामाजिक, आर्थिक र राजनीतिक दृष्टिकोणले समान अवसहरुको सुनिश्चितता प्रदान गरेका हुन्छौं र सबै बर्ग  समुदायले उनीहरुका अधिकारहरु पूर्णरुपले अनुभूति गर्न पाउँदछन् । जब मानिसहरु आफ्ना अधिकारहरुप्रति जागरुप हुन्छन् तब मात्रै उनीहरु यस्ता असमानताका बिरुद्ध  खडा हुनसक्छन् र आफ्ना अधिकारहरुको रक्षा गर्न सक्तछन् ।
 
मानबाधिकारका सिद्धान्तको आधार वास्तबमा ‘मानबता’ हो । यसको अर्थ हो कि हरेक मानिसलाई आफ्नो अस्तित्वको निम्ति समान अधिकार प्राप्त छ चाहे उसको रंग, धर्म,जाति, लिङ्ग या राष्ट्रियता जुनसुकै किन नहोस् । यो अधिकारले जीवन, स्वतन्त्रता र ब्यक्तिगत सुरक्षालाई सुनिश्चितता प्रदान गर्दछ  जुन कुनै पनि अन्य अधिकारभन्दा बढी महत्वपूर्ण छ भन्ने यसको अर्थ हो । बिश्वमा फ्रान्सेली क्रान्ति र समाजबादी अक्टाेबर क्रान्तिले मानब समाजका लागि उत्कीर्ण गरेका यी मानब अधिकारका महत्वपूर्ण कुरालार्इ गम्भीररूपमा मनन र पालन गर्नु अत्यावश्यक छ । अन्यथा याे एउटा बर्षेनी कर्म काण्ड दाेहाेर्याउने कुरा मात्र भएर रहनेछ ।