काठमाण्डौ । पछिल्लो समय सहकारी संस्थाहरुले पनि बैंक सरहकै व्याजदरमा ऋण लगानी गर्न थालेका छन् । संस्थाहरुमा तरलता थुप्रिन थालेसँगै सदस्यहरुलाई सस्तो ब्याजदरमा ऋण दिन थालेका हुन् ।
केही सयम अघिसम्म सदस्यहरुले गरेको अविश्वासका सहकारी संस्थामा तरलता अभाव लगायतका समस्या रहेको भए पनि पछिल्लो समुदाय र सदस्य केन्द्रीत वित्तीय कारोबार गर्ने संस्थाहरुमा अधिक तरलता थुप्रिएको छ । समुदायमा आधारित सहकारी संस्थाहरुमा २० प्रतिशतभन्दा माथि तरलता जम्मा भएको छ ।
एकातिर बैंक तथा वित्तीय संस्थाले संस्थागत निक्षेपमा दिने ब्याजदर घटाउँदै लगेका छन भने अर्कोतर्फ मुलुकमा आर्थिक क्रियाकलापमा अपेक्षाकृत वृद्धि नहुँदा बजारमा ऋणको माग न्यून छ । यस्तो अवस्था सहकारी संस्थाहरुले एकल अंकमा ऋण लगानी गर्नका लागि विभिन्न प्रकारका स्किम योजना अघि सारेका छन् । कतिपय संस्थाले सहुलियत कर्जा योजनाको नाममा त कतिपय संस्थाले सदस्य पुनरोत्थान कर्जाको नाम नयाँ नयाँ स्किम ल्याएका हुन् ।
सहकारी संस्थाहरुले सदस्यलाई सस्तो र मासिक किस्ताबन्दीमा ऋण लगानी गर्ने योजना अघि सारेसँगै ऋणको माग बढ्ने अपेक्षा गरिएको छ । भक्तपुरको शंखधर चोकमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई विभिन्न शिर्षकमा ९ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । संस्थाले सिद्धार्थ साना तथा मझौला व्यवसाय, सिद्धार्थ घर जग्गा खरिद, सिद्धार्थ उद्यमशील, औद्योगिक र सिद्धार्थ शैक्षिक ऋण ९ प्रतिशत ब्याजदरमा नै लगानी गर्ने जनाएको छ । संस्थाले ती क्षेत्रमा एक बर्षदेखि बढीमा १० बर्षका लागि ५० लाखसम्म रकम ऋण लगानी गर्ने नीति लिएको छ ।
त्यसैगरी भक्तपुरकै बालकुमारी साकोस र काभ्रेको पनौतीमा रहेको लक्ष्मी महिला साकोसले ८ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएका छन् । बालकुमारी सहकारीले कृषि, पशुपालन, शैक्षिक, घर निमार्ण, व्यापार व्यवसाय र उद्यमशीलताको क्षेत्रमा ८ प्रतिशत ब्याजदरमा नै ऋण लगानी गर्ने जनाएको छ । संस्थामा अधिक तरलता रहेको र सदस्यहरुलाई सहुलिय ब्याजदरमा ऋण लगानी गरी आय आर्जनमा टेवा पु¥याउने उदेश्यले बालकुमारी समृद्धि ऋण ल्याएको व्यवस्थापक सुजेन्द्र श्रेष्ठले बताए । १० बर्ष अवधिका लागि मासिक किस्ता बन्दीमा ४० लाखसम्म रकम ऋण लगानी गर्ने उनको भनाई छ ।
संस्थाले प्रकाशित गरेको कात्तिक महिनाको वित्तीय विवरण अनुसार ३९.४९ प्रतिशत अर्थात ६८ करोड ९६ लाख तरलता रकम रहेको छ । संस्थाको शेयर पुँजी १३ करोड ७४ लाख, जगेडा कोष ६ करोड ३३ लाख, बचत संकलन १ अर्ब ७४ करोड ६३ लाख, ऋण लगानी १ अबृ २५ करोड ४१ लाख गरी कुल सम्पत्ति २ अर्ब १२ करोड २६ लाख पुगेको छ ।
त्यसैगरी लक्ष्मी महिला साकोसले पनि कृषि, पर्यटन र साना तथा मझौला व्यवसायमा सदस्य पुनरोत्थान ऋण लगानी गर्ने भएको हो । संस्थाले ८ प्रतिशत ब्याजदरमा ५ लाखसम्मको ऋण १० बर्षको लागि लगानी गर्ने जनाएको छ । संस्थाले कार्तिक महिनामा प्रकाशित गरेको वित्तीय विवरण अनुसार ३२.२८ प्रतिशत अर्थात ७ करोड ८४ लाख तरलता रकम रहेको छ । संस्थाको शेयर पुँजी ३ करोड, साधारण जगेडा कोषमा १ करोड ५३ लाख, विभिन्न कोषमा ८२ लाख ९५ हजार, कुल संस्थागत पुँजी १ करोड ६१ लाख, बचत संकलन २४ करोड ३० लाख, ऋण लगानी १८ करोड ६६लाख गरी कुल सम्पत्ति २९ करोड ६६ लाख पुगेको छ ।
यी संस्थाले मात्र नभई वित्तीय रुपमा सबल अन्य सहकारी संस्थाले समेत सस्तो ब्याजदरमा ऋण लगानी गर्न थालेका छन् । विगतमा कतिपय सहकारीले घरजग्गा र अनुत्पादक क्षेत्रमा ठुलो मात्रामा ऋण लगानी गर्दा तरलता समस्या झेल्नु परेपछि अहिले सहकारी संस्थाहरुले सदस्यहरुको आयआर्जन वृद्धि गर्ने, उत्पादनमूलक तथा साना र मध्यम प्रकारको ऋणलाई प्राथमिकतामा राखेका छन् ।
सहकारी विभागले सहकारी संस्थाहरुलाई अधिकतम १६ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्न अनुमति दिएको छ । विभागले २ वर्ष अघि सन्दर्भ ब्याजदर निर्धारण गर्दै १६ प्रतिशत कायम गरेको भएपनि त्यसको पुनरावलोकन हालसम्म गर्न सकेको छैन ।
नेपालपत्र संवाददाता