शुक्रबार, कार्तिक ७ गते २०८३

न्यून वर्गलाई आर्थिक रूपमा माथि उठाउन सहकारी बाहेक विकल्प छैन

मंसिर १३, २०८१ बिहीबार
न्यून वर्गलाई आर्थिक रूपमा माथि उठाउन सहकारी बाहेक विकल्प छैन

पाँचखाल नगरपालिकामा रहेको स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा उल्लेख  भूमिका  खेल्दै आएको छ । सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालित उक्त संंस्थाले सदस्यहरुको हितलाई पहिलो प्राथमिकतामा राखेर वित्तीय कारोबार गर्दै आएको छ । जसकारण संस्थाप्रति सदस्यको विश्वास कायम रहेको छ भने वित्तीय कारोबारमा समेत वृद्धि हुँदै गएको छ । संस्थाले सदस्यहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले ससानो व्यापार व्यवसाय र कृषि क्षेत्रमा ऋण लगानी गर्दै आएको व्यवस्थापक सन्तोष नापितले बताए । वित्तीय मन्दीकाबीचमा पनि संस्थाले ऋण लगानी र असुलीलाई प्रभावकारी रुपमा आगाडि बढाएर खराब कर्जा १ प्रतिशत भन्दा तल रहेको उनको भनाई छ । वित्तीय संकटका कारण मुलुकमा आएको आर्थिक मन्दीका वावजुद पनि संस्थाले ऋण असुली गर्न सकेका कारण सदस्यहरुलाई १४ प्रतिशत लाभांश दिन सकेको उनले जनाए । आगामी ३ बर्ष भित्र संस्थाको कार्यक्षेत्र भित्र बसोबास गर्ने व्यक्तिहरुलाई सदस्य बनाउने लक्ष्य रहेको उनले बताए । संस्थाको समग्र अवस्था, सदस्यलाई दिने सेवा सुविधा र सहकारी क्षेत्रका विषयमा व्यवस्थापक नापितसँग गरिएको कुराकानीः

-------------

स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई के कस्ता सेवा प्रदान गर्दै आएको छ ? 

संस्थाप्रति सदस्यहरुको पूर्ण विश्वास रहेको छ । सदस्यहरुले संस्थालाई विश्वास गरेर नियमित रुपमा बचत तथा ऋणको कारोबार गर्दै आएका छन् । हामीले सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा दिन प्रविधिको प्रयोगलाई पनि अगाडि बढाएका छौं । सदस्यहरुले गरेको कारोबार हेर्नको लागि र नियमित रुपमा गरिएको बचत रुजु गर्न मिल्ने गरी मोबाईल बैकिङ र एसएमएस सेवा सुविधा सञ्चालनमा ल्याएका छौं । 

सदस्यहरुले  आफ्नो खाताबाट एक हजार भन्दा बढी रकम झिक्नु भयो भने तुरुन्तै सदस्यको मोबाइलमा म्यासेज जान्छ । सदस्यहरुले रकम राखेको र झिकेको जानकारी दुई मिनेट भित्र नै पुग्छ । त्यसैगरी सदस्यहरुले बचत फिर्ता माग्नु भयो भने पाँचखाल नगरपालिका भित्रका सदस्यहरुलाई ५ मिनेटमा नै बचत फिर्ता पुर्‍याउने सुविधा ल्याएका छौं । दुई किलोमिटर भित्र ५ मिनेट र त्यस भन्दा टाढाका सदस्यहरुको हकमा समय अनुमान गरेर जानकारी दिन्छौं । सदस्यहरु बचत फिर्ता लिनको लागि कार्यालयसम्म आइराख्नु पर्दैन । सदस्यहरुले डिजिटल प्रविधिमार्फत् जुनसुकै प्रयोजनका लागि भुक्तानी गर्न सक्नुहुन्छ । अक्सपान इन्टरप्राइजेजसँगको सहकार्यमा हामीले डिजिटल भुक्तानी सुविधा सञ्चालनमा ल्याएका हौं । 

त्यसैगरी  कुमारी बैंककोसँगको आवद्धता र मोफिनसँगको सहकार्यमा अनलाईन पेमेन्टको सेटलमेन्ट गर्दै आएका छौं । संस्था शेयर सदस्यहरुको भएकाले कुनै पनि शुल्क नलिइकन सदस्यहरुलाई यो सेवा दिँदै आएको छ । अहिले वित्तीय क्षेत्रमा क्युआर कोडको प्रचलन  निकै बढेर गएको छ । सदस्यहरुलाई क्युआर कोड वितरण गरी भुक्तानी प्राप्त गर्न सक्ने सुविधा पनि दिएका छौं । अहिलेसम्म अनलाईन सेवामा १ सय १० जना र एसएमएस सेवामा २ सय जना सदस्य जोडिएका छन् । क्रमशः सदस्यहरुलाई प्रविधिमा जोड्दै लाने योजना बनाएका छौं । प्रविधि प्रयोगका विषयमा पनि सदस्यहरुलाई मोफिन कम्पनीका प्रतिनिधिहरुले सिकाउनु भएको छ । 

पछिल्लो समय संस्थाको समग्र वित्तीय अवस्था के छ ? बचत संकलन र ऋण लगानीमा वृद्धि हुँदै गएको छ त ? 

संस्थाको लक्ष्य अनुसार वित्तीय कारोबारमा वृद्धि हुँदै गएको छ । त्यसैगरी सदस्यहरुको विश्वास जित्न विभिन्न नयाँनयाँ सुविधाहरु थप गर्दै गएका छौं । यसले गर्दा संस्थाको बचत संकलन र ऋण लगानीमा क्रमशः वृद्धि हुँदै गएको छ । संस्थामा १ हजार ३ सदस्य आवद्ध रहेका छन् भने २१ करोड कुल सम्पत्ति पुगेको छ । संस्थाको शेयर पुँजी १ करोड ४५ लाख र जगेडा तथा अन्य कोषमा २१ लाख माथि रहेको छ । संस्थामा तरलता वृद्धि भएर गएको छ भने त्यसको तुलनामा बजारमा ऋणको माग कम छ । पछिल्लो समय धेरै सहकारीले सदस्यको बचत अपचलन गरेर भागेका छन् । यसले गर्दा स्थानीय व्यक्तिहरुले सञ्चालन गरेको संस्थाप्रति सदस्यहरुको विश्वास बढेर गएको छ । सदस्यहरुले विगतको जस्तो अन्धाधुन्द जुनसुकै सहकारीमा बचत गर्दैन । संस्था छनोट गर्ने र बुझेर मात्र कारोबार गर्ने प्रचलन बढेर गएको छ । यसले गर्दा संस्थामा तरलता बढेको हो । 

कृषि, पशुपालन, पर्यटन र स–साना व्यवसायमा संस्थाको लगानी कस्तो रहेको छ ?

पाँचखालको नारा नै ‘पाँचखाल नगर कृषि शहर’ भन्ने रहेको छ । त्यसै अनुरुप हामी पनि चल्ने हो । हामीले पनि कृषि र ससाना व्यापार व्यवसायमा ऋण लगानी गर्दै आएका छौं । कृषिमा गरेको लगानी दुई ÷तीन महिना भित्र नै फिर्ता आउँछ । हामीले कृषि र व्यापार व्यवसायमा ऋण लगानी गरेकाले छिटो छिटो ऋणको साँवा व्याज फिर्ता आउने भएकाले तरलता अभाव नभएको हो । दैनिक रुपमा सदस्यहरुको व्यापार भइराखेको हुन्छ । त्यसैबाट सदस्यहरुले ऋणको किस्ता तिर्नु र बचत गरिराख्नु हुन्छ । यसले गर्दा हामीलाई तरलतामा कुनै समस्या छैन । संस्थाबाट ३ सय ८५ जना सदस्यले ऋण लिएर स्वरोजगार बनेका छन् । सदस्यहरुलाई चालु पुँजी र धितोमा ऋण लगानी गर्ने गरेको छौ । सदस्यहरुको अवस्था हेरेर १ लाखसम्म विना धितो पनि लगानी गर्छौं र राम्रो कारोबार गर्दै गएको खण्डमा २ लाखसम्म लगानी गर्छौं । धितोमा भने १२ लाखसम्म लगानी गर्ने गरेका छौं । 

सहकारीप्रति सदस्यको विश्वास घटेको गएको छ , पाँचखालको अवस्था के छ ?

केहि संस्थाले सदस्यहरुबाट संकलन गरेको पुँजीलाई सदस्यहरुमाझ परिचालन नगरी  केहि सञ्चालक र कर्मचारीहरुले आफ्नो फाइदाका लागि लगानी गर्दा सहकारीमा सदस्यको विश्वास घटेको हो । सञ्चालकहरुले घर जग्गा र अनुत्पादक क्षेत्रमा लगानी गरेकाले समयमा त्यसबाट राम्रो प्रतिफल नआएपछि संस्थामा तरलता सृजना भयो र सदस्यहरुलाई बचत फिर्ता गर्न नसकेपछि संस्थाप्रति सदस्यहरुको विश्वास घटेर गयो । त्यसकारण कतिपय संस्थाहरु बन्द हुन पुगे । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सहकारीको उदेश्य अनुसार सहकारीहरुले संस्थामा संकलित पुँजीलाई सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नतिका लागि लगानी गर्नुपर्छ । त्यो भयो भने सहकारीमा कहिल्यै समस्या आउँदैन । संस्थाको दिगोपना हेर्ने हो भने पहिला सदस्यहरुको नै उन्नतिमा सघाउनुपर्छ । 

सहकारीमार्फत् गरिबी र बेरोजगारी घटाउने तथा उत्पादन बढाई देशलाई आत्मनिर्भर बनाउने कुरा कतिको सम्भव छ ? 

जोशजागँर भएका तथा पुँजी नभएका मानिसहरुलाई आर्थिक रुपमा माथि उठाउने भनेको सहकारीले नै हो । सहकारीले भन्दा बाहेक त्यो काम कसैले गर्न सक्दैन ।  संविधानमा नै अर्थतन्त्रका ३ खम्बा मध्ये एउटा खम्बाको रुपमा सहकारीलाई लिइएको छ । सहकारीले ग्रामीण र दुरदराजका जनतालाई समेत वित्तीय सेवा प्रदान गरी उत्पादनमा लगाउन सकेको छ भने सहज रुपमा स सानो पुँजी परिचालन गरी स्वरोजगार बनाउने काम गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाले बिना धितो एक रुपैयाँ पनि लगानी गर्दैनन् । हामीले सदस्यहरुको आनीबानी, चरित्र र परियोजना अध्ययन गरेर ससानो पुँजी बिना धितो उपलब्ध गराउँछौ । कतिपय मानिसलाई १० ÷२० हजार रुपैयाँको अभावले व्यवसाय गर्न समस्या भईराखेको हुन्छ । त्यहाँसम्म बैंक तथा वित्तीय संस्था त पुग्दैपुग्दैनन् । सहकारीको लक्ष्य भनेको सानो र मध्यम व्यवसाय गर्नेहरुलाई माथि उठाउनु हो । आर्थिक तथा सामाजिक रुपमा पिछडिएका र सानो पुँजीबाट माथि आउन खोज्नेहरुको लागि सहकारी वरदान नै बनेको छ । 

सहकारी भनेका ठग हुन्न भन्ने भाष्य समाजमा निर्माण गर्न खोजियो, सहकारी त्यस्तै हुन् त ? 

त्यो गलत हो । पछिल्लो समय केही सहकारीले बदमासी गरेकाले यसलाई गलत तरिकाले व्याख्या गरियो । सहकारीको परिकल्पनालाई हेर्छौं भने त्यो होइन । सहकारी सदस्यको लागि हो । सहकारीमार्फत् सदस्यको समृद्धिको आधार तयार गर्ने हो । सहकारीले गरेको राम्रो कामको भन्दा पनि नराम्रो कुराको बढी प्रचार गरियो । जसका कारण सहकारीको छवि धमिलिन पुग्यो । 
तर स्थानीयस्तरमा स्थापना भएका सहकारीले समाज र सदस्यको लागि राम्रो काम गर्दै आएका छन् । ती सहकारी संस्थामा कुनै समस्या छैन । जुन संस्था सदस्यसँग जोडिएर काम गर्छ, त्यो संस्थामा कहिले समस्या आउँदैन । सहकारीहरु वित्तीय अनुुशासनमा बसेर काम गर्नुपर्छ । त्यसका लागि संस्थासँग पनि नीतिनियम, आन्तरिक कार्यविधि र योजना हुन आवश्यक छ । व्यक्तिगत स्वार्थ त्यागेर सामुहिक हितका लागि काम गर्नुपर्छ । संस्थाले गरेको विभिन्न क्रियाकलापको माध्यमबाट समाजमा सहकारीको पहिचान बन्ने  हो । ठुलो ऋण लगानी गरेर मात्रै समाजमा  संस्थाको पहिचान बन्दैन । समाजका हरेक गतिविधिमा जोडिएर सामाजिक गतिविधि गर्न सकियो भने संस्थाप्रति सदस्यको विश्वास बढेर जान्छ । सहकारीमार्फत् नै हामीले दिगो विकासको लक्ष्य हासिल गर्न सक्छौं । 

संस्थाले १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ, सदस्यलाई कति प्रतिशत प्रतिफल दिन सफल भयो ?

हामीले आर्थिक मन्दीको बीचमा पनि गत बर्षको नाफाबाट सदस्यहरुलाई १४ प्रतिशत लाभांश दिन सफल भएका छौं । अहिलेको आर्थिक मन्दीले सदस्यहरुको व्यापार व्यवसायमा समेत प्रभाव परेको छ । जुन सदस्यहरुले ऋणको साँवाब्याज तिर्न सक्दैनन् ती सदस्यहरुलाई व्याज भए पनि तिर्नको लागि हामीले अनुरोध गर्यौ । नियमित रुपमा ब्याज तिर्ने सदस्यहरुलाई ब्याज र हर्जनामा केही छुट सुविधा दियौं । सदस्यहरुले नियमित रुपमा ब्याज तिरेका कारण संस्थाले राम्रो नाफा आर्जन गर्न सक्यो । जसको कारणले त्यो मात्रामा सदस्यलाई प्रतिफल दिन सफल भयौं । संस्थामा ०.७५ प्रतिशत मात्रै खराब कर्जा रहेको छ । हामीले सदस्यहरुलाई उदेश्य अनुसार ऋणको परिचालन गर्न अभिप्रेरित गर्छौं । संस्थाबाट भएको ऋण लगानीमा कुनै समस्या छैन । 

संस्थाले सदस्य राहत कार्यक्रम पनि सञ्चालन गरेको छ ?

हामीले विभिन्न संघसंस्थासँग सहकार्य गरेर सदस्यहरुलाई स्वास्थ्य सुविधाहरु दिएका छौं । त्यसैगरी आर्थिक रुपमा कमजोर रहेका शेयर सदस्यका छोराछोरीको अध्ययनमा सहयोग गर्ने उदेश्यले छात्रवृत्ति प्रदान गछौं । साधारण सभाको दिनमा दुई जनालाई स्वेच्छा छात्रवृति प्रदान गर्दै आएका छौं । ज्येष्ठ सदस्यलाई आथिक सहायता प्रदान गछौं भने महिला सदस्यलाई सुत्केरी भत्ता र सदस्यहरु बिरामी परेर उपचार गर्नु परेमा स्वास्थ्य बीमा मार्फत बढीमा १० हजारसम्म आर्थिक सहयोग उपलब्ध गराउने गरेका छौं । 

अहिले विभिन्न रोगका कारण कतिपय सदस्यले नियमित औषधी सेवन गर्नुपर्ने अवस्था छ । उहाँहरुलाई छुट सुविधा प्रदान गर्न पाँचखाल डायग्नोसिस पोलिक्लिनिक र अन्य स्वास्थ संस्थासँग पनि सहकार्य गरेर १० प्रतिशतदेखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौं । संस्थाले सदस्यहरुलाई कार्ड उपलब्ध गराएको छ , त्यसैको आधारमा सदस्यहरुले छुट पाउनुहुन्छ । सदस्यहरुको उमेर अनुसार हामीले लघुबीमा गरेका छौं । यसले गर्दा संस्था र सदस्य दुबैलाई वित्तीय भार नपरोस् भन्ने हाम्रो उदेश्य हो । 

अहिले स्थानीय, प्रदेश र संघिय सरकारले सहकारीको नियमन तथा प्रवद्र्धन गर्दै आएका छन्, स्थानीय सरकारले सहकारीको प्रवर्धनमा कस्तो भूमिका खेलेको छ ? 

संस्थाको कार्यक्षेत्र स्थानीय तहमा रहेको छ । स्थानीय तह मातहत सहकारी आएपछि विगतको भन्दा राम्रो अनुगमन भएको छ । स्थानीय सरकारले समयसमयमा सहकारी संस्थाहरुको नियमन तथा अनुगमन गर्नुका साथै सहकारी सम्बन्धी शिक्षा तथा तालिमको आयोजना समेत गर्दै आएको छ । त्यसैगरी जिल्ला संघ र बचत संघले पनि सदस्यसंस्थाहरुसँग अन्तरक्रिया गर्नुका साथै आवश्यक  पर्ने तालिम तथा शिक्षा पनि प्रदान गर्दै आएका छन् । अनुगन पछि कुन कुन पक्षमा सुधार गर्नु पर्ने हो, त्यो विषयमा पनि जानकारी दिनुहुन्छ । यसले गर्दा संस्थामा समस्या आउनुपूर्व नै सुधार गर्ने मौका पाउने हुँदा संस्था सुदृढ भएर गएका छन् । 

संस्थाका भावी योजना के छन् ? 

हामीले चालु आर्थिक बर्षमा शेयर सदस्य, बचत संकलन र ऋण लगानीमा समेत वृद्धि गरी संस्थाको वासलात बढाउने योजना बनाएका छौं । सदस्यहरुले कुन सहकारी राम्रो र कुन सहकारी नराम्रो भन्ने कुरा छुट्याउन सकेका छैनन् । जसले गर्दा सदस्यहरुले ब्याजको लोभमा परेर जुनसुकै संस्थामा बचत गर्दा उनीहरुको बचत जोखिममा परेको छ । 

हामीले सहकारी शिक्षामार्फत् सदस्यहरुलाई सहकारीको महत्वको बारेमा जानकारी दिने र असल र खराब संस्था छुट्टयाउने तरिका समेत सिकाउने योजना बनाएका छौं । सहकारीले गर्ने काम के हो र कसका लागि सहकारी आवश्यक हो भन्ने बारेमा पनि सदस्यलाई बुझाउँछौं  । कार्यक्षेत्रभित्र रहेका सदस्य र गैरसदस्यलाई भेला गरेर संस्थाले दिने सेवा सुविधा र विभिन्न प्रडक्टका बारेमा जानकारी दिन्छौं । बजारमा १६/१७ प्रतिशत ब्याज दिने सहकारी पनि छन्, त्यस्ता संस्थामा विचार गरेर मात्रै बचत गर्न सचेत गराउँछौं भन्छौ । हामीले सदस्यहरुलाई बचतमा १०/११ प्रतिशत ब्याज दिन्छौ र १४ प्रतिशतमा ऋण लगानी गर्छौं । तर १६ प्रतिशत भन्दा बढी ब्याज दिने संस्था कस्ता हुन् आफैं विचार गर्नुस् भनेर हामी भन्छौं । सहकारीको राम्रो पक्ष र नराम्रा पक्षको बारेमा बताएर सदस्यहरुलाई सुसूचित गराउँछौं । संस्थाका सञ्चालक, ब्याजदर र सम्पूर्ण कुरा अध्ययन गरेर मात्र सदस्य बन्न भन्छौं । 


 


्