भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सहकारितामार्फत् नै विश्वले आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सक्ने बताएका छन् । नयाँ दिल्लीको भारतमण्डपमा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन–२०२४ को उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले सहकारीले नै विश्वको भविष्य निर्माण गर्न सक्ने बताए । उनले सहकारीमार्फत भारत ‘ग्लोबल कोअपरेशन’ गर्न तयार रहेको समेत उल्लेख गरे ।
भारतमा रहेका ८ लाख सहकारीले विभिन्न क्षेत्रमा योगदान गरेको भन्दै उनले १० करोड महिला सहकारीमा जोडिएर आर्थिक उन्नयनमा लागेको उल्लेख गरे । पहिलो पटक भारतमा भएको यस प्रकारको सम्मेलनले सहकारी क्षेत्रमा नयाँ आयाम ल्याउने उनले बताए ।
संसारको लागि सहकारी एक आर्थिक मोडल भएको भन्दै उनले भारतका लागि भने सँस्कृतिको आधार र जीवनशैली भएको जनाए । सबै सुखी रहने र सह–अस्तित्वलाई स्वीकार्ने कुरा भारतको मूलतत्व भएको र सहकारी पनि सोही सिद्धान्तबाट अगाडि बढेको उनले जनाए । आर्थिक सशक्तिकरण, सामाजिक रुपान्तरण, स्वतन्त्रता र सामुहिकताको आधार सहकारी भएको उनको भनाई छ ।
भारतका खाली जमीन र ग्रामीण क्षेत्रमा सहकारीले उत्पादन वृद्धि तथा बजारीकरणमा धेरै काम गरेको उनले बताए । ग्रामीण किसानलाई एकीकृत गरी दुग्ध, कृषि र पशुपालनको क्षेत्रमा क्रान्ति नै ल्याएको भन्दै उनले अमूलको उत्पादन विश्वबजारमा नै गुणस्तरीय रहेको उल्लेख गरे । भारतमा सरकार र सहकारी जोडिएर समृद्धिको बाटो तय गरेको भन्दै मन्त्री मोदीले भारतीय जनताको आर्थिक समृद्धि नै आफ्नो प्राथमिकताको विषय रहेको बताए ।
भारतका २ लाख हाउजिङ कोअपरेटिभले लाखौं घर निर्माण गरी सर्वसुलभ मुल्यमा गुणस्तरीय बासस्थान सदस्यहरुलाई उपलब्ध गराउँदै आएको उनले जनाए । भारत सहकारी बैंक बलियो बन्दै गएको र यसप्रति जनताको विश्वास बढाउन नीतिगत रुपमा धेरै सुधार गरेको उनले बताए । भारत सहकारी बैंक विगतमा भन्दा प्रतिस्पर्धी र पारदर्शी बन्दै गएको र डिजिटल बैंकिङ समेत विस्तार गरेको उनले उल्लेख गरे । भारतमा २ लाख बहुउद्देश्यीय सहकारी संस्था स्थापना गरी उत्पादन, बजारीकरण र अन्य विभिन्न क्षेत्रमा काम गर्ने योजना रहेको उनले सुनाए ।
सम्मेलनको उद्घाटन सत्रमा भूटानका प्रधानमन्त्री, संयुक्त राष्ट्र संघीय उच्चप्रतिनिधिहरु, आईसीएका अध्यक्ष, भारतीय गृह तथा सहकारी मन्त्री अमित शाहसँगै विभिन्न मुलुकका सहकारी अभियानका विशिष्ट व्यक्तित्वले सम्बोधन गरेका थिए ।
एक सय देशका ३ हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको सम्मेलन ३० नोभेम्बरसम्म चल्नेछ । उक्त सम्मेलनमा नेपालबाट राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कुन र सहकारी विकास बोर्डका प्रतिनिधिहरुकासाथै सञ्चारकर्मीहरु सहभागी रहेका छन् ।
नेपालपत्र संवाददाता