काठमाडौ । राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी सुब्बा थाम्सुहाङले पदबाट राजिनामा दिएसँगै महासंघले नयाँ महाप्रबन्धकको लागि आवेदन खुलाएको छ ।
महाप्रबन्धक थाम्सुहाङले आफ्नो कार्यकाल बाँकी रहँदै आगामी पौष मसान्तदेखि लागु हुने गरी पदबाट राजिनामा दिएकी हुन् । उनले दिएको राजिनामा महासंघको बोर्ड बैठकले स्वीकृत गरेसँगै नयाँ महाप्रबन्धक नियुक्तिको लागि बाटो खुलेको हो । महासंघको स्थापनाकालदेखिनै कर्मचारीको रुपमा प्रवेश गरेकी थाम्सुहाङ २०७६ असार १९ गते महाप्रबन्धक पदमा नियुक्त भएकी थिइन् ।
थाम्सुहाङको कार्यकाल अझैं ४ वर्ष बाँकी रहेपनि अध्यक्ष ओमदेवी मल्लसँग मतभिन्नता बढेपछि उनले राजिनामा दिएको श्रोतले जनाएको छ । महासंघको अध्यक्षमा मल्ल निर्वाचित भएर आएसँगै दुवैबीच दुरी बढेर गएको थियो ।
महासंघ सहकारी अभियानको सर्वोच्च निकाय भएको र यसको छविमा आँच आउन नदिइ अभियानलाई थप उचाइमा लैजान सघाउ पुगोस् भन्ने उद्देश्यले थाम्सुहाङले राजिनामा दिएको बुझिएको छ ।
उनको राजिनामासँगै महासंघका बरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय पदपूर्ति उपसमिति गठन भएको छ । समितिको सदस्यहरुमा महासंघका उपाध्यक्ष खेम पाठक र सञ्चालक टेकप्रसाद चौलागाईं रहेका छन् ।
महासंघले महाप्रबन्धकका लागि निकालेको सूचनामा अधिकृत तहमा न्यूनतम ८ वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ । त्यसैगरी ३५ वर्षदेखि ६० वर्ष उमेरका योग्यता पुगेका व्यक्तिले उक्त पदमा आवेदन दिन पाउनेछन् । त्यसका लागि व्यवस्थापन वा मानविकी संकायमा स्नातकोत्तर उत्तीर्ण गरेको र अँग्रेजी भाषामा दख्खल भएको हुनुपर्ने सूचनामा भनिएको छ ।
त्यसैगरी सरकारी निकायसँग सहकारी क्षेत्रका विषयवस्तुमा लबिइङ गर्न सक्ने, व्यवसायिक योजना निर्माण तथा रणनीतिक योजना तयारी गरी महासंघलाई थप उच्चाईमा लैजान सक्ने अनुभवी व्यक्ति महाप्रबन्धकका लागि आवदेन योग्य हुने जनाइएको छ । महासंघले ४ वर्षे कार्यकालका लागि महाप्रबन्धक नियुक्त गर्न लागेको हो ।
पछिल्लो समय राजनीतिक गुटबन्दी बढ्दै गएको र सञ्चालक तथा कर्मचारीबीच इगोका कारण सहकारीका संघसंस्थाका उच्च तहका कर्मचारीहरुले एकपछि अर्को गरी राजिनामा दिने क्रम बढेको छ ।
नेपालपत्र संवाददाता