काठमाडौं । सहकारी क्षेत्रको विकास र सुदृढीकरणका लागि राष्ट्रिय सहकारी बैंक लिमिटेडले ‘सहकारीका समसामयिक अड्चन र निकास’ विषयक प्रदेश स्तरीय गोष्ठी सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्पन्न गरेको छ ।
बैंकको २१औं वार्षिक साधारण सभाअघि सहकारी क्षेत्रका चुनौती र समाधानका उपायहरूको समीक्षा गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहकारीकर्मी, विज्ञ, तथा अभियन्ताहरूको व्यापक सहभागिता रहेको थियो ।
बैंकको धनगढी शाखाले आयोजना गरेको उक्त गोष्ठीमा सहकारी ऐन, सहकारीका मूल्य, मान्यता र सहकारी क्षेत्रका समस्याहरूको यथार्थमा आधारित गहन छलफल गर्दै आवश्यक सुधारका उपायहरूको विषयमा प्रस्तुतिकरण गरिएको थियो । कार्यक्रममा सहकारी ऐन, सहकारीका मूल्य र मान्यताको पालना, सुशासन, र पारदर्शिता जस्ता विषयमा केन्द्रित रहेर नेपाल राष्ट्र बैंकका उप–निर्देशक तथा सहकारी विज्ञ डा. रमेश चौलागाईंले सहकारी क्षेत्रका चुनौती र समाधानका उपायबारे प्रस्तुतीकरण गरेका थिए । कमजोर नियमन प्रणाली, सहर केन्द्रित कारोबार, र निजी व्यवसायको शैलीमा सहकारी सञ्चालन गर्दा समस्या थप जटिल बनेको उनले उल्लेख गरे ।
संघीयता कार्यान्वयनसँगै तीनै तहमा नियमन पुगे पनि नियामक निकायहरूले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको कारण सहकारीहरू संकटमा परेको औँल्याउँदै, सहकारीको सुदृढीकरणका लागि सहकारी प्राधिकरण स्थापना गरी सहकारी सम्बन्धी काम मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग प्रत्यक्ष समन्वयमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
साथै, डा. चौलागाईंले बचत र कर्जाको सीमा निर्धारण गर्ने, बचतकर्ताका रकमको कानुनी स्रोत खुलाउने, र सहकारीलाई पारदर्शी बनाउँदै दिगो विकासतर्फ उन्मुख गराउनुपर्ने आवश्यकता औँल्याए । गोष्ठीको प्रमुख अतिथि समेत रहेका भएका उप–निर्देशक चौलागाईंले सहकारी क्षेत्रको सुशासन, उत्तरदायित्व, र पारदर्शितामा जोड दिए ।
सहकारी क्षेत्रको समस्याको समाधानका लागि सुधारको सुरुवात आफैँबाट गर्नुपर्ने राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै बैंकले सहकारी क्षेत्रलाई नयाँ ऊर्जा र दिशानिर्देश दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत गुरागाईंले तत्कालको लागि नाफा केन्द्रित भन्दा पनि सदस्य सहकारी संस्थाहरूलाई तालिम, शिक्षा, र बहसका माध्यमबाट सशक्त बनाउने योजनामा बैंक केन्द्रित रहेको जनाए । सहकारी संघका व्यवस्थापक तथा अध्यक्षहरूको क्षमता अभिवृद्धिका लागि निःशुल्क तालिम कार्यक्रम सञ्चालन गरिरहेको समेत उनले जानकारी दिए ।
सदस्य संस्थाहरूलाई प्रविधिमैत्री बनाउन र वित्तीय जोखिम न्यूनीकरण गर्न बैंकले निस्शुल्क सफ्टवेयर उपलब्ध गराउने र सबै कारोबारलाई पारदर्शी बनाउने व्यवस्था गरिने गुरागाईंले बताए । कार्यक्रममा बैंकले देशभरका सहकारी संस्थाहरूलाई सशक्त बनाउन यस्तै गोष्ठीहरू आगामी दिनमा अन्य सबै प्रदेशमा पनि सञ्चालन गर्नेछ ।
प्रमुख कार्यकारी अधिकृत गुरागाईंका अनुसार मंसीर २० भित्र सात वटै प्रदेशमा यस्ता प्रदेशस्तरीय गोष्ठी सम्पन्न गर्ने योजना रहेको छ । कार्यक्रममार्फत सहकारी अभियानलाई थप प्रभावकारी बनाउन र सहकारी क्षेत्रका समस्या समाधानमा नयाँ दृष्टिकोण ल्याउने बैंकको लक्ष्य रहेको छ ।
कार्यक्रममा सहभागी सहकारी अभियन्ता तथा व्यवस्थापन प्रमुखहरूले बैंकको यो कदमले सहकारीप्रतिको विश्वास पुनः स्थापना गर्न योगदान पु¥याउने विश्वास व्यक्त गरे । विज्ञ प्रस्तुतीकरण र गोष्ठीका अन्य सत्रहरूले सहकारीको वर्तमान समस्यालाई गहिराइसम्म बुझ्न र समाधानको खाका कोर्न सहयोग गरेको धारणा व्यक्त गरेका छन् ।
राष्ट्रिय सहकारी बैंकले सहकारी क्षेत्रका समस्याको समाधान गर्दै यसलाई आर्थिक समृद्धिको मुख्य माध्यम बनाउने उद्देश्यले अघि सारेका कार्यक्रम र योजनाहरूले सहकारी अभियानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
धनगढीबाट सुरु भएको यो प्रयासले सहकारी क्षेत्रमा नवजीवन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । बैंकका सञ्चालक एवम् सुदूरपश्चिम प्रदेशका संयोजक शिवा थापाको अध्यक्षता भएको कार्यक्रममा कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका सञ्चालक माधव प्रसाद जोशी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) की सञ्चालक दीप्ति शाही, सुदूरपश्चिम प्रदेश थोक उपभोक्ता विकास संघका अध्यक्ष गणेश बहादुर चन्द लगायतको आतिथ्यता रहेको थियो ।
बैंकको सुदूरपश्चिम प्रदेशका प्रमुख दिनेश गेलालले सञ्चालन गर्नु भएको कार्यक्रममा योग गुरु लवदेव मिश्रले तनाव व्यवस्थापन र उत्प्रेरणाको विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा बैंक सुदूरपश्चिम क्षेत्रका सदस्य संघ सहकारी अध्यक्ष, सञ्चालक तथा व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो ।
नेपालपत्र संवाददाता