आइतबार, आश्विन १८ गते २०८३

दिगो विकासका लागि आन्तरिक श्रोत परिचालन नै मुख्य  शर्त


मंसिर ६, २०८१ बिहीबार
दिगो विकासका लागि आन्तरिक श्रोत परिचालन नै मुख्य  शर्त


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि मुलुकको दिगो विकासको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय कर दिवस २०८१ को अवसरमा   महांसघको सचिवालयमा आयोजित ‘लगानीमैत्री वातावरण प्रवद्र्धनको लागि अन्तरनिकाय समन्वय’ विषयको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले उक्त कुरा बताएका हुन् । उनले  मुलुक सञ्चालन र विकासको मेरुदण्ड नै त्यो देशले परिचालन गर्ने राजस्वको आयतनमा निर्भर हुने भएकोले कुनै पनि मुलुकको सबल अर्थव्यवस्था र उन्नत समाज निर्माणको लागि आन्तरिक श्रोतको  प्रभावकारी परिचालन अपरिहार्य रहेको  जनाए । 

  विगत केही बर्षदेखि निजी क्षेत्र र सरकारको समेत अत्यन्त चासोको रुपमा रहेको लगानी प्रवर्द्धन सम्वन्धि विषयले समग्र कर प्रशासनलाई झकझकाई यस पटकको कर दिवसमा दिशा निर्देश गरेको हुँदा, यो मुद्दाले गति लिन थालेको आभास  भएको उनको भनाई छ। कर प्रशासनले राजस्व लक्ष्य निर्धारण र संकलन मात्र हैन करदाताको मनोबल बढाई व्यावसायिक गतिविधि बढाउने क्रियाकलाप र वातावरण सृजना गर्ने तर्फ ध्यान दिएमा राजस्व संकलन स्वभाविक रुपमा वृद्धि भई आर्थिक गतिविधि बढ्ने उनको भनाइ थियो । 

अध्यक्ष ढकालले आन्तरिक श्रोतको परिचालन भन्ने वित्तिकै त्यसको प्रतक्ष्य सम्वन्ध त्यो मुलुकको कर प्रणाली र राजस्व प्रशासनसंग जोडिएको हुनाले  लक्षित राजस्व संकलनको लागि उद्योगधन्दा, व्यवसायजन्य कृयाकलाप  सुव्यवस्थित ढंगले सञ्चालन भएको हुनु पर्नेमा जोड दिँदै यसको लागि व्यवशायमैत्री वातावरण निर्मााणको साथै विदेशी लगानीको हकमा लगानी र प्रतिफलको फिर्ताको सुनिश्चितता सहित सम्वद्ध सबै सरकारी निकायहरूको एकीकृत र समन्वयकारी प्रयासको आवश्यकता रहेको जानकारी दिए । 

आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, उद्योग विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशकहरु उपस्थित हुनु भएको उक्त कार्यक्रममा  कार्य समितिका पदाधिकारी र विभिन्न वस्तुगत संघ र उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुको जिज्ञासालाई सम्बोधन  गर्दै आन्तरिक राजस्व विभागका महानिर्देशक राम प्रसाद आचार्यले औद्योगिक र लगानीमैत्री वातावरण तयार गर्न सामूहिक प्रयासको आवश्यकता रहेको बताए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालले अपेक्षित लगानीको वातावरण बन्न नसकेको अवस्थाको विश्लेषण गर्दै आफ्ना काम कार्वाहीलाई पारदर्र्शी बनाई समीक्षा हुनुपर्ने बताए । 

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले अन्तरनिकाय समन्वयको सारनै औद्योगिक वातावरण प्रवर्द्धनका लागि हो भन्नु हुँदै विभागबाट प्रदान गरिने सेवा प्रवाहलाई अझ उन्नत र परिष्कृत बनाउने प्रतिवद्धता व्यक्त गर्नु भरे ।