शनिबार, आश्विन १७ गते २०८३

जनसचेतन राष्ट्रिय सहकारी अभियन्ता पुरस्कारबाट बाँस्कोटा सम्मानित

आश्विन २२, २०७८ शुक्रबार
जनसचेतन राष्ट्रिय सहकारी अभियन्ता पुरस्कारबाट बाँस्कोटा सम्मानित

 

जसचेतन बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दीपकप्रकाश बाँस्कोटालाई सम्मान गरेको छ । संस्थाले घोषणा गरेको रजत जयन्ती जनसचेतन राष्ट्रिय सहकारी अभियन्ता पुरस्कारबाट सहकारी क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै यसपटक बास्कोटालाई सम्मान गरेको हो । 

सहकारी अभियानमा राष्ट्रियरुपमा योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरिने उक्त पुरस्कारको राशी २५ हजार १ रुपैयाँ रहेको छ । संस्थाको २९औं स्थापना दिवसको दिन नेकपा एमालेका पुर्व मन्त्री तथा सांसद पार्वत गुरुङले उक्त पुरस्कार प्रदान गरेका हुन् । 

संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईंको अध्यक्षतामा भएको स्थापना दिवस तथा शुभकामना आदनप्रदान कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सम्मानित बाँस्कोटाले सहकारीले अब आफ्ना सदस्यहरुलाई उत्पादनमा लगाउनु पर्ने बताए । कृषिप्रधान मुलुकमा उत्पादनमूलक जमिन बाँझो हुँदै गएको भन्दै बाँझो रहेको जमिनमा माटो सुहाउँदो उत्पादनमा लाग्न आग्रह गरे । 

कार्यक्रममा सांसद पार्वत गुरुङले पछिल्लो समय समाजमा विभिन्न सामाजिक विकृतीहरु देखा परेकोले यसको नियन्त्रणमा लाग्न सहकारीका सदस्यलाई आग्रह गरे । 

दोलखा जिल्ला भर कार्यक्षेत्र रही सेवा पुर्याउँदै आएको सहकारीले यस वर्ष मात्र दोलखा बाहेक काभ्रेपलान्चोक, भक्तपुर, काठमाडौं जिल्ला भर र ललितपुर महानगरपालिका थप गरी ५ जिल्ला कायम गरी सेवा क्षेत्र विस्तार गरेको छ ।

संस्थामा हाल ३५ हजार सदस्य रहेका छन् भने गत असार मसान्तसम्म ३१ हजार २६३ सदस्यमार्फत १४ करोड ३३ लाख ८३ हजार शेयरपुँजी, संस्थागत पुँजी १६ करोड ३७ लाख ७९ हजार, बचत संकलन १ अर्ब ३५ करोड ९७ लाख, ऋण लगानी १ अर्ब ३८ करोड ६३ लाख, सञ्चालन बचत ३ करोड ३९ लाख ६८ हजार गरी कुल सम्पत्ति १ अर्ब ९३ करोड ६४ लाख पुगेको छ । 

संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै ७५ वर्ष पुगेका शेयर सदस्यहरुलाई आजिवन मासिक ५०० भत्ता जनसचेतन आजिवन सहारा उपलब्ध गराउँदै आएको छ भने गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, सदस्यहरुलाई उपचार सेवा मा छुट, उत्कृष्ट बचत कर्ता, ऋणी, शेयर खरिद कर्ता सम्मान गर्ने गरेको छ । साथै सस्थाले सदस्य सुरक्षा कोष कार्यक्रममार्फत सदस्य को मृत्यु पश्चात् परिवारको आर्थिक सुरक्षा गर्ने अभिप्रायले मृत्यु हुँदा आश्रित परिवारलाई १० हजारदेखि ४० हजारसम्म प्रदान गर्दै आइरहेको छ । 

संस्थाले २९औं स्थापना दिवसको अवसरमा विभिन्न विधामा उत्कृष्ट हुने सदस्यहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्ने गरेको छ ।