सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, राम्चेमा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले असोज ८ गतेबाट साधारणसभा शुभारम्भ गरी असोज २१ गते समापन गरेको हो ।
सभामा बोल्दै संस्थाका अध्यक्ष विकासकाजी श्रेष्ठले २०६५ सालमा दर्ता भएको संस्था हालसम्म आइपुग्दा सिन्धुपाल्चोक जिल्लामा भएका बचतऋण सहकारीमध्ये अग्रणी संस्था बनेको बताए ।
विगत दुई वर्षदेखि मुलुक कोभिडको प्रभावबाट गुज्रिरहेको र यसले सदस्यहरुको व्यापार व्यवसाय तथा आर्थिक क्रियाकलापमा असर पारेकाले त्यसलाई न्यूनिकरण गर्न संस्थाले १२.५ प्रतिशतमा सदस्य पुनरोत्थान कर्जा र ९.९९ प्रतिशतमा कृषि तथा पशुपालन कर्जा उपलब्ध गराउँदै आएको जानकारी उनले दिए ।
संस्थाले ४ वर्षे रणनीति बनाएको र प्रविधिमैत्री गुणस्तरीय सेवाहरुमार्फत सदस्यहरुको जीवनस्तर सुधार गर्ने अभियानमा संस्था लागिपरेको उनको भनाई छ ।
सभामा सचिव दीपकविक्रम थापाले आव २०७७।७८ को वार्षिक प्रतिवेदन तथा आव २०७८।७९ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थाले सदस्यहरुबीच गरेको अन्तक्रिया, सदस्य बीमा सुविधा, विद्यालयहरुसँगै अन्तक्र्रिया, छात्रवृत्ति प्रदान, सामाजिक सहयोग एवं विभिन्न विधामा सम्मान तथा पुरस्कारका बारेमा उनले सभालाई जानकारी गराएका थिए ।
संस्थाका कोषाध्यक्ष विकास पौडेलले गत आवको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक भीमसेन भण्डारीले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
१३औं साधारणसभासम्म आइपुग्दा संस्थाले आफ्नै भवन निर्माण गरी सदस्यहरुलाई वित्तीय सेवा दिँदै आएको छ भने संस्था ५ हजार ५सय सदस्य आवद्ध रहेका छन् । संस्थाले सदस्यहरुको जीवनस्तरमा आर्थिक सामाजिक र साँस्कृतिक रुपमा परिवर्तन ल्याउन, ‘सन्तुष्ट सदस्य उत्कृष्त संस्था’को परिकल्पना गरी ४ वर्षे रणनीतिक योजना तयार गरेको जनाएको छ । त्यसैगरी संस्थाको कार्यक्षेत्र विस्तार गरी आवश्यकताका आधारमा नयाँ सेवा केन्द्र खोल्ने भको छ ।
संस्थाले गत असार मसान्तसम्म ३ करोड ६० लाख शेयरपुँजी, २ करोड ५० जगेडा कोष, ४७ करोड ५ लाख बचत संकलन गरी ३४ करोड ३ लाख ऋण लगानी गरेको छ । संस्थाको कुल कारोबारमा २८ ।८२ प्रतिशतले वृद्धि भई ५६ करोड ६३ लाख पुगेको छ ।
सभामा संरक्षित पुँजी फिर्ता कोषतर्फ उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, बाल बचतकर्ता, नियमित बचतकर्ता ज्येष्ठ सदस्य, उत्कृष्ट कर्मचारी र पूर्व संचालकहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
