सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी महासंघ निवर्तमान अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यतामा सभा समापन भएको हो ।
सभामा बोल्दै बडालले आर्थिक, सामाजिक, साँस्कृतिक एवं वातावरणीय समृद्धिकालागि सहकारीहरुले काम गर्नुपर्ने बताए । सामाजिक न्याय र आर्थिक उत्पादनलाई सहकारीले सँगै लैजानुपर्ने भन्दै उनले सहकारीले आफ्नो समुदायभित्रको आवश्यकतालाई परिपूर्ति गर्नका निम्ति लाग्नुपर्नेमा जोडदिए । समुदायको हरेक आवश्यकतामा सहकारीले भूमिका निर्वाह गर्नुपर्छ उनले भने ‘यो मेरो काम होइन भनेर सहकारी पन्छिन मिल्दैन, बाटाघाट, ढल, पानी, सरसफाई जस्ता समुदायका हरेक पक्षमा सहकारी जोडिनु पर्छ ।’
कार्यक्रमका अर्का अतिथि एवं महासंघका पूर्व महाप्रबन्धक रामभजन शाहले सहकारीहरु पर्यावरण जोगाउन पनि उत्तिकै लाग्नुपर्ने आवश्यकता रहेको बताए । बढ्दो प्रदुषण र मानवीय गतिविधिले पर्यावरणमा असन्तुलन बढ्दै त्यसलाई न्यूनिकरण गर्न सहकारीले आफ्नो क्षेत्रबाट भूमिका नखेले मानव जीवनमा दीर्घकालिन प्रभाव पर्ने उल्लेख गरे । दिगो विकास लक्ष्यका १७ बुँदा मध्ये धेरैजसो बुँदा सहकारीसँग सम्बन्धित भएकोले त्यसलाई पूरा गर्न पनि अहम् भूमिका सहकारीले खेल्नुपर्ने उनले उल्लेख गरे ।
सभाकी सभापति एवं संस्थाकी अध्यक्ष चित्राकुमारी थाम्सुहाङ सुब्बाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्य र समुदायबीच छुट्टै पहिचान बनाउन संस्था सफल भएको र अझ व्यवस्थित, सुशासित, पारदर्शी र उपलब्धीपूर्ण बनाउने उद्देश्यले ४ वर्षे रणनीतिक व्यवसायिक योजना निर्माण गरिएको बताइन् । कोभिड १९ महामारीका बीचमा सदस्यहरुलाई राहत पुगोस् भन्ने उद्देश्यले ब्याज र हर्जाना गरी असार मसान्तसम्म ११ लाख ८१ हजार छुट दिएको उनले बताइन् । संस्थाले लाभांश कोषबाट सदस्यहरुलाई १३.८ प्रतिशत लाभांश दिने भएको छ ।
संस्थाको चालु आ.व.को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सदस्यहरुलाई विभिन्न सेवा तथा सुविधा थप गर्ने, स्थानीय क्लबहरुसँगको सहकार्य सामाजिक क्रियाकलाप गर्ने, जेहेन्दार छात्रछात्रालाई कक्षा ११ र १२ मा छात्रवृत्ति प्रदान गर्ने जस्ता योजना रहेको उनले सभालाई जानकारी दिइन् ।
संस्थाका लेखा समिति संयोजक प्रकाश रेग्मीले आर्थिक वर्ष २०७७/७८ ले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले गत असार मसान्तसम्म १२९९ जना शेयरसदस्यबाट २ करोड १७ लाख ७० हजार शेयरपुँजी संकलन गरेको छ । त्यसैगरी संस्थाको जगेडा कोष १ करोड ६२ लाख १५ हजार, बचत संकलन २० करोड ४७ लाख ८३ हजार र ऋण लगानी १८ करोड २८ लाख १९ हजार गरी खुद नाफा ९३ लाख १४ हजार गर्न सफल भएको छ ।
सभामा विभिन्न विधामा उत्कृष्ट हुने सदस्यहरुलाई पुरस्कृत गरिएको थियो । संस्थाले कोभिड १९को जोखिमलाई मध्ययनजर गरी अशोज १६ देखि २० गतेसम्म प्रतिवेदन वितरण तथा सदस्य उपस्थिति पुस्तिका खुल्ला गरी २१ गते सभा सम्पन्न गरेको हो ।
अध्यक्षमा पम्फा न्यौपाने

सभाले नयाँ संचालक समिति र लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन गरेको छ । संस्थाको अध्यक्षमा पम्फा न्यौपाने रहेकी छन् भने उपाध्यक्षमा टेक बहादुर लिम्बु र संचालकहरुमा काजिमान सुब्बा, तेजप्रसाद गौतम्, श्रीचन्द्र तन्दुकार, खुसमाया श्रेष्ठ र भगिमाया थाम्सुहाङ रहेका छन् ।
त्यसैगरी लेखा समिति संयोजकमा प्रकाश रेग्मी र सदस्यहरुमा टामलाल भुसाल र सुरजा लिम्बु निर्विरोध चयन भएको संस्थाले जनाएको छ ।