सुवर्ण शम्शेर (बि.सं. १९६७–२०३४) बारे नजान्नेले नेपाली काँग्रेस जान्दछ भन्ने कुरा हुन सक्दैन । सुवर्ण शम्शेरलाई छोडेर अन्य नेताहरू, बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई तथा अन्य मूर्धण्य नेताहरू पनि अधुरोजस्तो लाग्छ । मैले सुवर्ण शम्शेरलाई जीवनमा कहिल्यै भेटिन, तर उहाँका बारेमा पढ्दै जाँदा मेरो मानसपटमा सुवर्णजीप्रतिको छाप उत्तरोत्तर गाढा हुँदै गयो।
२०४६ सालमा आफूमा सहजै आएको प्रधानमन्त्रीको सर्वशक्तिमान पद सर्बोच्च नेता गणेशमान सिंहले सविनय र सहजताका साथ अस्वीकार गर्दै कृष्णप्रसाद भट्टराई (किसुनजी) लाई सुम्पिनुभएको थाहा छ । त्यस्तो महानता सुवर्णजीले २०१५ सालको पहिलो आमनिर्वाचनपछि आफूमा आएको त्यस्तै प्रधानमन्त्री पद दूरगामी विवेक प्रयोग गर्दै राजिखुशीका साथ बीपीलाई सुम्पिनु भएको वास्तविकता आजको धेरै काँग्रेसजनले या बिर्सिसके वा थाहै पाएका छैनन् । तर आजको बिल्कुल विपरीत परिवेश र गतिविधि देख्नुपर्दा अनि यी कुरा सम्झिँदा पनि अलिकति लाज र निकै क्षोभ उत्पन्न हुन्छ । वर्तमान नेपाली काँग्रेसको लथालिङ्ग, भताभुङ्ग र अराजक अवस्था हेर्दा पार्टीका संस्थापक नेताहरूको जिम्मेवारी र परिपक्वताका गाथा दन्त्यकथा जस्तै लाग्छ । इतिहास सम्झिँदा गौरवले छाती ढक्क फुल्छ, वर्तमान हेर्दा नैराश्यले दुःखी बनाउँछ ।
सुवर्ण शम्शेरको उदारमना आर्थिक शक्तिले २००७ सालको जनक्रान्ति सम्पन्न भयो । कुल दुई करोड रुपैयाँ क्रान्तिका लागि खर्च भयो । २०१५ सालको आमनिर्वाचनमा पनि सुवर्णजीले आफ्नो अथाह निजी सम्पत्ती लगाउनु भएको छ । अर्थ अभाव परेको बेला काँग्रेसका हरेक नेता र कार्यकर्तालाई सहयोग गर्नुभएको थियो ।
२००७ सालको संयुक्त मन्त्रिमण्डलमा नेपालको पहिलो अर्थमन्त्री भएर सुवर्णजीले देशको वार्षिक आय–व्यय बजेट सार्वजनिक गर्ने पद्धतिको स्थापना गर्दै पहिलोपल्ट रेडियोद्वारा बजेट वक्तब्य जारी गर्नुभएको थियो। १०४ वर्षसम्म राणाहरूको विलासितामा चुसिएर दबिएर जर्जर भएको त्यस बखत नेपालको वार्षिक आम्दानी ३ करोड ५ लाख १६ हजार रुपियाँमात्र थियो।
सुवर्णजी त्रिभुवन विश्वविद्यालयको पहिलो उपकुलपति हुनुभएको थियो । यस्ता धेरै ‘पहिलो’ उहाँसँग जोडिएका छन् । तर त्यसपछि त्रिविले उहाँलाई निधन हुँदासमेत वास्तै गरेन, विदा दिने र शोक मनाउने परैको कुरा ।
सुवर्णजीले चाहेको भए पार्टी भित्र उत्पन्न विमतिका बीच पार्टी फुटाउन सक्नुहुन्थ्यो । तर उहाँले त्यसो गर्ने सोचाई कदापि लिनुभएन । २०५९ सालमा निहित स्वार्थ र जुँगाको लडाईँको परिणामस्वरुप काँग्रेसलाई दुई चिरा बनाइयो। त्यसको असर आजसम्म पार्टीले ब्यहोरिरहेको छ । पार्टी फुटाउनेहरूकै आज पार्टीमा हालीमुहाली छ ।
२०३४ साल कार्तिक २४ गते बुधबार भारतको कोलकातामा उहाँको निधन भएकोले कार्तिक २४ गते उहाँको पूण्यस्मृति दिवस हो । ती इतिहास पुरुषलाई हार्दिक श्रद्धाञ्जली।
सुवर्णजीको माथिको भनाई ‘पुनर्जागरण’ मासिकको सुवर्ण शम्शेर विशेषाङ्क २०४१ (पुनःमुद्रण २०६७) मा गणेशमान सिंहजीले ‘यथार्थमा महान साथी सुवर्णजी’ शीर्षक आफ्नो लेखमा बताउनु भएको हो ।
चन्द्रमणि गाैतम