सहकारी विभागका रजिष्टार पिताम्बर घिमिरेले सहकारी समुदायमुखी र सदस्य केन्द्रीत व्यवसाय भएकोले सहकारी अरुले बनाउँछ भन्नेर आशमा नबसि सदस्य आफैले बनाउने हो, सोको उदाहरण भक्तपुर बचत संघले उदाहरण प्रस्तुत गर्न सकेकोमा खुशी व्यक्त गरे ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको २० औं बार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे घिमिरेले सहकारीमा बदमासी गर्न नदिन सदस्य आफै होशियार भई बदमासी गर्ने सदस्यलाई पाखा लगाउनुपर्ने उनले जनाए ।
उनले सहकारीको मुल्य मान्यता, नीति विधिमा संचालन गराउन र सदस्यको बचत फिर्ता गराउन विभागले काम गरिरहेको उल्लेख गरे । सहकारीको ऐन नियामावलीको व्यवस्था कार्यान्वयनमा नआउँदा मात्र सहकारीमा समस्या नआएको उनको भनाई थियो ।
अतिथि नेपाल बचत तथा ऋण केन्दिय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विषयगत संघहरुले ऐन नियम अनुसार सदस्य संस्थाको बचत स्विकार्ने र सदस्य संस्थालाई ऋण लगानी गर्ने कार्य गर्दै आएको बताउँदै सहकारीको सुरक्षा कवच स्थिरीकरण कोष रहेकाले त्यसमा आवद्ध हुन आह्वान गरे ।
अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य सुमन नेपालले केही सिमित व्यक्तिले सहकारीमा समस्या आएपनि नेपालको सहकारी क्षेत्रमा सुशासन, नीति, विधि हरेक हिसाबले भक्तपुर जिल्ला बचत संघ उत्कृष्ट संघ रहेको बताए ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक कृष्ण प्रसाद सुवेदीले नेपालको उत्कृष्ट भक्तपुर जिल्ला बचत संघ रहेकामा अझ उत्कृष्ट रहन सकोस् भनी शुभकामना व्यक्त गरे ।
सभाको सभापतित्व गर्दै संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीमा जति विद्धान भएपनि इमान्दारीता र पारदर्शिता हुनुपर्नुे जोड दिए । संघले सहकारीका सिद्धान्त, ऐन नियम र आफ्नै विनियम पालनाको अवस्था अनुगमन गरेर मात्र सदस्यता प्रदान गरेमा सहकारी अभियान शुद्धिकरण हुने बताए ।
संघका उपाध्यक्ष हरी बल्लले स्वागत मन्तव्य दिदैं सहकारी क्षेत्र बाँसको खम्बा र नक्कली महामारीमाको रोगबाट ग्रष्ट रहेको कटाक्ष गरेको सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानविन समितिको प्रतिवेदन उपर अभियान गम्भिर हुनुपर्ने बताए ।
अतिथि संघका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले हालको परिस्थितिमा पनि आर्थिक प्रगति गर्न सकेकोमा खुशी व्यक्त गर्दै संघले प्रारम्भिक संस्थाहरुको वित्तीय विश्लेषण गरेर ऋण लगानीमा विविधीकरण गरी ऋण लगानी गर्नुपर्ने विचार व्यक्त गरे ।
सभाको मुख्य सत्रमा संघका सचिव जगनाथ प्रजापतिले संघको आ.व. २०८०।८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १५ प्रतिशत लाभांश प्रस्ताव र संरक्षित पुँजी फिर्ता दिने प्रस्ताव पेश गरे ।
संघका कोषाध्यक्ष कान्छा भक्त घजुले आ.व. २०८०।८१ को वित्तीय प्रगति प्रतिवेदन पेश गरे । सभाबाट आ.व.२०८०।८१ मा ३ अर्व ५१ करोड ४३ लाख ३ हजारको वासलात र ५ करोड ३७ लाख नाफा सहितको लेखापरिक्षण प्रतिवेदन पारित गरियो । साथै आगामी आ.व.२०८१।८२ मा संघको वासलात ३ अर्व ८० करोड ७१ लाखको बजेट पारित गरेको छ । संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले आ.व.२०८०।८१ को लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
उक्त सभामा संरक्षित पुँजी फिर्ता कोष बचत र ऋणको आधारमा अधिकतम योगदान गर्ने बचतमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., उपकार बचत तथा ऋण सहकारी संस्था लि. र संगम बचत तथा ऋण सहकारी संस्था लि. र ऋणमा बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लि., संचित बचत तथा ऋण सहकारी संस्था लि. र तौडोलछाप बचत तथा ऋण सहकारी संस्था लि. गरी तीन तीन वटा संस्थालाई संरक्षित पुँजी फिर्ता रकम सहित प्रशंसा पत्र वितरण समेत गरियो ।
नेपालपत्र संवाददाता