बुधबार, भाद्र ३ गते २०८३

लोकहितबाट अलग्याइएको अधाेगामी लोकतन्त्रकाे सट्टा उन्नत लाेकतन्त्र 

आश्विन २२, २०७८ शुक्रबार
लोकहितबाट अलग्याइएको अधाेगामी लोकतन्त्रकाे सट्टा उन्नत लाेकतन्त्र 

loktantra.jpg

-लोकनारायण सुवेदी

पुरानो परिभाषा जे भए पनि लोकतन्त्र आज ब्यवहारमा बेग्लैरुपमा परिभाषित भइरहेको छ । हिजो जनताले, जनताका लागि जनताद्वारा शासन गरिने पद्धतिलाई लोकतन्त्र भनिन्थ्यो । यसै स्थापनालाई र्मूत रुप दिनका निमित्त बिश्वमा ठूल्ठूला युगान्तकारी आन्दोलनहरु भए । त्यसमा उल्लेखनीय फ्रान्सेली क्रान्ति, औद्योगिक क्रान्ति, अमेरिकी स्वतन्त्रता संंंग्राम, अक्टोबर समाजवादी क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम अनि चिनीयाँ जनवादी क्रान्ति जस्ता बिभिन्न देशमा भएका क्रान्ति र तिनले ल्याएका परिवर्तनहरु यही परिभाषालाई मूर्त रुप दिने क्रममा बिकसित भएको यथार्थ हामी तिनको अन्तर्यहरुलाई केलाउदा भेटाउँदछौ । वास्तवमा ती सबै परिवर्तनका आन्दोलनहरु नागरिक स्वतन्त्रता, समानता र न्यायपूर्ण प्रगतिका निमित्त भएका थिए । जसको मर्म भनेकै राजनीतिक, आर्थिक,सामाजिक तथा सास्कृतिक प्रगतिका बिघ्न बाधाहरुलाई पञ्छाएर सर्बतोमुखी समुन्नतिको दिशामा समाज, राष्ट्र र बिश्वलाई अग्रगति प्रदान गर्नु थियो र हो । वास्तवमा माथि उल्लिखित क्रान्तिहरुकै देन र योगदानले गर्दा आज बिश्व बिकासको माथिल्लो चरणमा पुगेको छ र पुगेको हो । बिज्ञान र प्रबिधिको बिकासले आकाश–पाताल ढाकेको छ । जसले गर्दा आज सारा संसार साघुरिए र खुम्चिएर सानो भएको छ । हत्केला भरको एउटा सानो मोबाइलमा आज सारा संसार अटाएको छ ।

तर आज लोकतन्त्र हिजोको परिभाषा अनुसार चल्न छाडेको छ । यो जनताका नाममा केही टाठाबाठाहरुले सञ्चालन गर्ने शासन पद्धतिमा बद्लिएको छ । निर्वाचनहरु त्यस्तै टाठा बाठाहरुको सत्ता नबिकरण गर्ने माध्यम मात्र बन्ने गरेका छन् । लोकतन्त्र जनताका समस्या समाधान गर्ने माध्यम बन्न पाएको या बन्न सकेको छैन या बन्न दिइएको छैन । यो सत्ता संर्घषको एउटा निरन्तर चल्ने क्रमकोरुपमा पथभ्रष्ट र बिकृत भएको छ । त्यसैले गर्दा लोकतन्त्रले लोककल्याणको कुरा या त बिल्कुलै छाडेको छ या यसलाई बिक्रितिकरण गरेर थला पारेको छ । फलतः लोकतन्त्रमा पनि लोक अर्थात जनताको भलाई हुन छाडेको छ । परिवर्तन पछि पनि जनताले दैनिक जीनवमा भावनात्मक र मनोबैज्ञानिक रुपमासम्म पनि राहत महसुश गर्न नपाउनुले यही यथार्थको पुष्टी गर्दछ । लोकतन्त्रलाई जीवन पद्धति बनाउने कुरा यसरी धेरै टाढाको कुरा भइसकेको या भइरहेको छ । लोकको हित बिनाको लोकतन्त्र वास्तवमा नराम्रोसँग संकटमा परेको एउटा रोगग्रस्त लोकतन्त्र हो भनेमा कुनै अत्युक्ति हुदैन ।

त्यसैले आजकल परिवर्तनको आन्दोलन र लोकतन्त्रका बीचमा कुनै तालमेल र तादाम्यता पनि रहन र हुन छाडेको छ । ती दुइ परस्पर साइनो र सम्बन्ध नभएका बेग्ला बेग्लै कुरा हुन् भन्ने जस्तो किसिमले अर्थ्याउन थालिएको छ । परिवर्तनले लोकतान्त्रिक सँस्कृति र सँस्कारको जुन नयाँ मूल्य मान्यताहरु बिकसित र स्थापित गर्दछ र गर्नु पर्दछ भन्ने पुरानो मान्यता हो, थियो, त्यो आज गुम भएको र लोकतन्त्रका बाहक सम्बाहक मानिएका दलहरुको ब्यवहारले उनीहरुको अक्कल गुम भएको प्रतीत भइरहेको छ । फलस्वरुप एउटा जीवन्त प्रणाली बनेर राजनीति, अर्थतन्त्र, सामाजिक संरचना र साँस्कृतिक गतिबिधिहरु लोकतन्त्रले ल्याउने नयाँ उन्नत संस्कारको बिकास र त्यसलाई पोषण तथा मलजल गर्ने सार्थक परिवेश पटक्कै बन्न सकेको छैन । यसै आधारमा राजनीतिक दलहरु परिवर्तन ल्याउन त सक्छन् तर त्यसलाई ब्यबहारमा अनुबाद गरेर अघि बढाउन या सञ्चालन गर्न सक्तैनन् भन्ने निष्कर्श आजको बिश्लेषकहरुले निकाल्न थालेका छन् । तर परिवर्तनकामी शक्तिहरुमा यस्तो स्थिति के कसरी सिर्जना भयो भन्ने कुरा ठम्याउनुपर्ने आवश्यकता भने तिनले महसुश गरेको या त्यतातिर ध्यान दिएको बिल्कुलै  पाइदैन । बरु त्यसको बिपरीत हाम्रा आजका बिश्लेषकहरु पनि एक वा अर्को किसिमले यथास्थितिकै पक्षपोषक भएर देखापर्ने गरेका छन् । नयाँ सम्भावनालाई पनि यथास्थितिमै अँचेटर उनीहरुले पनि अर्थ्याउने गरेका छन् । लोक हित जुनसुकै स्तरमा र जहिले पनि लोकतन्त्रको न्यूनतम रुपमा अपरिहार्य तत्व हो भन्ने कुरामा उनीहरु पनि चुकिरहेको देखिन्छ । वास्तवमा यो कुरा पनि लोकतन्त्र संकटमा परेकै संकेत हो ।

oktantra.jpg

वास्तवमा लोकतन्त्रको हाम्रो देशको अनुभव के हुदै आएको छ भने यसले जनतालाई राष्ट्रिय भावधारामा जसरी समाहित गर्न र राष्ट्रिय क्षमता तथा आत्मबिश्वास बढाउने बाटो लिन सक्नु पर्ने थियो त्यसो गर्न पटक्कै सकेको छैन । बरु जनतालाई उनीहरुका केही ज्वलन्त समस्या उठाइदिए पछि या तिनको समाधानको ‘मृग मरीचिका’ देखाइदिए पछि आफ्नो शासन सत्ताको स्वार्थ फत्ते हुने मिथ्या जगमा लोकतन्त्रकालीन शासक बर्ग पनि निरन्तर खडा हुदै आएको छ । त्यसले गर्दा सर्बसाधारण जनताले हिजोका साशक बर्ग र परिवर्तित राजनीतिक चरणका शासक बर्गमा कुनै फरक देख्न, सुन्न र भोग्न पटक्कै पाएका छैनन् । बरु प्रत्यक्ष र आश्चर्यजनकरुपमा उनीहरुले पाएको कटु यथार्थ अनुभव के हो भने नयाँ शासक बर्ग पनि रातारात पुरानै शासक बर्गको चरित्र ग्रहण गर्न सफल भयो र बिलाश र बैभबको बाटोमा छलाङ्ग मारेर अघि बढ्यो । राजनीतिक भाषामा भन्ने हो भने जनताले सामन्तबाद पछि नब सामन्तबाद खोजेको अर्थ लाग्ने किसिमले हाम्रो राजनीतिक नेतृत्व हिड्यो । यसबाट मुक्त भएर लोकतान्त्रिक मूल्य पद्धति र आचरणका आधारमा चल्ने कुनै चिन्ता र चासो उनीहरुमा पटक्कै देखा परेन । निर्वाचनलाई पनि एउटा यान्त्रिक र कर्मकाण्डीय साधनकोरुपमा मात्र प्रयुक्त गरेको घटनाक्रमले प्रष्ट र पुष्टी गरिसकेको र गरिरहेको छ ।

बस्तुतः यी सबै गतिबिधि र बिकृत सँस्कार र सँस्कृतिका पछाडि पिछडिएको सामाजिक परिवेशलाई बदल्ने प्रष्ट, गहिरो र दूरदृष्टिकोण नहुनु मूख्य कुरा हो भने त्यसमाथि बाहिरबाट भूमण्डलीकरणका कारणले लादिएको तीब्र उपभोक्ताबादी सस्कृति समेतले यो नब सामन्ती सँस्कृतिलाई ठूलो बल प्रदान गर्ने काम गरेको छ । तीब्र सत्ता लोलुपता, कुर्सीको छिनझपटी, देशको अर्थ–राजनीतिले कतै समर्थन र आधार प्रदान नगर्ने आशचर्यजनक जीवन शैली, जनतालाई नगन्ने ठालु चिन्तन यी सबै कुराले प्रष्ट संकेत गरेको छ कि हाम्रो राजनीतिक नेतृत्व देश र जनताप्रति समर्पित, त्याग,निष्ठा र नैतिकताको आचरणबाट बिल्कुलै बिमुख भएको छ । यो लोकतान्त्रिक सँस्कृति र संस्कार बिरुद्ध छ । यस गलत परिपाटीको समन नगरिएसम्म परिवर्तनको प्रवाहले सही बाटो समात्न र अघि बढ्न फेरि पनि सक्तैन । यो पटक पटक अनुभवसिद्ध भएको ध्रुब सत्य कुरा हो ।

bikritloktantra.jfif

यसरी बिभिन्न राष्ट्रिय अन्तर्रा्ष्ट्रिय कारणले गर्दा लोकतन्त्र आज  सर्बत्र संकटमा छ र नेपाल लगायत बिश्वका नब लोकतन्त्र स्थापित देशहरु पनि यस्तै प्रकृतिका गम्भीर समस्याका बीचबाट गुज्रिरहेका छन् । खाशगरी पछिल्ला मध्यर्पूव एशिया र कतिपय अफ्रिकी देशका राजनीतिक परिवर्तन पछिका अबस्थालाई हामीले हे¥यौं र केलायौ भने यो कुरा एकदमै छर्लंग हुन्छ । हाम्रो देशको भू–धरातलीय रणनैतिक अबस्थिति, यहाँको जैबिक बिबिधता,उत्तरतर्फका उत्तंग हिमालका कारणले अजश्र जलश्रोत, दुर्लभ जडीबुटी, उर्बर जमिन, रमणीय र दर्शनीय पर्यटकीय स्थलहरु सबैले जुन बिकासको अत्यत्तै ठूलो सम्भावना दर्शाउदछन् यो कुरा बिश्वका बिकसित देशहरुलाई धेरै राम्रोसँग अवगत छ । त्यसै कारणले गर्दा नै उनीहरुले नेपालको राजनीतिमा गिद्दे आँखा लगाउने र अबाञ्छित हस्तक्षेप गर्ने गर्दै आएका छन् । यसलाई चिर्ने र नेपाली राजनीतिलाई आफ्नै धरातलमा खडा गर्ने दृढ राजनीतिक इच्छा शक्ति, संकल्प र राष्ट्रिय साहसको पुनर्निर्माण नगरिएसम्म नेपलाको लोकतन्त्र जुन जनताको कल्याण गर्ने बाटोबाट अलग्याइएको छ र त्यसले गर्दा यो जुन संकट कालमा परेको छ त्यसबाट यसलाई मुक्त गर्न सकिनै छैन र लोक कल्याण पनि पटक्कै हुने छैन । हामीले २०४६ सालको परिवर्तनयता र खाशगरी २०६३ सालको परिवर्तन पछिको स्थितिलाई बस्तुबादी भएर बिश्लेषण ग¥यौं भने यो कुरा एकदमै प्रष्ट हुन्छ । यो यथार्थलाई आत्मसात गरेर जनताको अर्थ–सामाजिक परिवर्तनको आकांक्षा र अपेक्षालाई मूर्तरुप दिने राजनीतिक सँस्कृति, शैली, आचारण र ब्यवहारले मात्र त्यस्तो राष्ट्रिय र अग्रगामी बिकासको जग बस्छ र लोकतन्त्रको जग पनि सबल बन्दछ । अन्यथा यसको बिपरीत स्थितिलाई नै सधैं देश र जनताले बेहोर्न बाध्य हुनु पर्ने छ । त्यसको तार्किक परिणति फेरि पनि द्वन्द्व र संघर्ष नै हो भन्ने बुझ्न कुनै कठिन छैन । कुनबाटो जाने हो ? अधाेगामी कि उन्नत लाेकतन्त्र भबिष्य त्यसैले निर्धारण गर्दछ । यी सबै कटु अनुभवकाे अाधारमा जनताकाे हक हित र उनीहरूकाे संप्रभूता सम्पन्न उन्नत र अग्रगामी परिबर्तनकाे मूलबाटाे पक्रिनुकाे कुनै बिकल्प छैन ।