खप्तडबाबा सच्चिदानन्द सरस्वतीको जन्म फेब्रुवरी १०, १८८० (बि.स.१९३७ माघको अन्त्यतिर; निधन २०५३) का दिन काश्मिरमा भएको थियो । बेलायतमा चिकित्सा विज्ञान पढेका बाबालाई उपचारको क्रममा एउटा बालकलाई जति कोशिश गर्दा पनि बचाउन नसकेको कारणले मानसिक बेचैन बढेर वैराग्य जीवन बरण गरी सिद्ध पुरुष बन्नु भयो । अन्तिम सत्यको खोजमा उहाँले सन्यास धारण गरी भारतको भागिरथी नदीको किनारमा रहनुभएका गुरुदेव श्री १००८ स्वामी ज्ञानाश्रमजीको अनुयायीका रुपमा आफ्नो जीवन यात्रा शुरू गर्नुभयो ।
केही वर्ष सन्यासीका रुपमा भारतका विभिन्न ठाउँमा बिताएपछि श्यामचेतन बाबा, इभान वेन्ट्ज लगायतका ६ जनाको समुहको नेपाल आगमन भयो । ती मध्ये श्यामचेतन बाबाले पशुपतिनाथ परिसरमै एउटा कोठामा आफ्नो आश्रम स्थापना गर्नुभयो । इभान वेन्ट्ज तिब्बत र सिक्किमको यात्रातिर लाग्नुभयो ।

बाबाले पनि नेपालका विभिन्न स्थलहरू इलाम, कालिन्चोक (दोलखा), स्वर्गद्वारी, मुशिकोट, जुम्ला आदिको यात्रा गर्नुभयो र अन्ततः खप्तडको लेकस्थित विशाल निर्जन तर चरन फाँटमा आश्रम लगाउनु भयो । उहाँले १५ हजार फिट उचाईमा डोटी, बझाङ्, अछाम र बाजुराको सीमावर्ति खप्तडमा करिब ५० वर्ष बिताउनु भयो । बाबाको सन्यासी नामकरण सच्चिदानन्द सरस्वती गुरू ज्ञानाश्रमजी महाराजबाट भएको हो ।
खप्तडबाबा उद्भट विद्वान हुनुहुन्थ्यो । उहाँको विद्वतामा दैवी सामर्थ्य देखिन्थ्यो, जो चामत्कारिक लाग्दथ्यो । उपरोक्त वाणी उहाँको चर्चित पुस्तक ‘विचार विज्ञान’ को पृ. ६४ बाट झिकिएको हो :
"न तीर्थानि न दानानि न व्रतानि न चाश्रमः दुष्टाशयो दुष्टरतिः । प्रनष्टो व्याधितो यथा ।।"
चन्द्रमणि गाैतम