बुधबार, भाद्र ३ गते २०८३

सुध्रेला त अब सही किमिले चीन–भारत पारस्परिक सम्बन्ध ?


कार्तिक ११, २०८१ आइतबार
सुध्रेला त अब सही किमिले चीन–भारत पारस्परिक सम्बन्ध ?

लोकनारायण सुबेदी
रुसको कजानमा हालै सम्पन्न भएको ब्रिक्सको १६औं महत्वपूर्ण शिखर सम्मेलको बेला चीनका राष्ट्रपति शी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच दुइ देशको सम्वन्ध सुधारको जुन बार्ता भएको छ बर्तमान बिश्व परिप्रेक्षमा त्यो निकै महत्वपूर्ण र सकारात्मक मानिदै छ । यो बार्तामा मूख्यतः दुइ देश बीच सीमा बिवादलाई लिएर जुन सहमति बनेको छ त्यसलाई दुबैले उच्च प्राथमिकतासाथ कार्यान्वयन गर्ने समान स्तरको पहललाई अघि बढाए भने त्यसले एउटा महत्वपूर्ण र तात्विक निष्कर्शमा पु¥याउने अपेक्षा गर्न सकिन्छ । बितेको १० बर्ष यता मात्र यी दुइ ठूला छिमेकी देशका सर्बोच्च नेतृत्वका बीच २० पटक जति यस्ता भेटघाट र बार्ताहरु पनि भइसकेका हुन् ।तर तिनबाट दुइ देशका बीच स्थायी शान्तिको माहोल बन्ने स्थिति बन्न सकेको थिएन । खाशगरी लद्दाखलाई लिएर जुन सीमा बिबाद र गलवान झडपको स्थिति सिर्जना भएको थियो त्यसको कुनै समाधान निस्किएको थिएन । तर अब त्यो बिषयलाई नै केन्द्रित गरेर सम्वन्ध सुधारको जुन पहल र सहमति कजानमा भएको छ त्यसले बढी आशा पलाएको बिश्लेषण चीन–भारत सम्वन्धका ज्ञाताहरुले गर्न थालेका छन् ।
यद्यपि दुइ देशका बीचको ब्यापारको बिषयलाई लिएर कुरा गर्ने हो भने परस्परमा त्यो अगाडि बढिरहेकै देखिन्छ । यद्यपि परस्पर आयात निर्यातमा भने दुइ देशका बीच ठूलो अन्तर छ । निश्चय नै चीनले भारतलाई जे जति बस्तुहरु निर्यात गर्ने गरेको छ त्यसको तुलनामा भारतले चीनलाई गर्ने निर्यात अत्यन्तै कम रहेको छ । यसमा चीनको कुनै बाधा अड्काउ रहेको छैन । त्यो भारतके निर्माण र उत्पादको क्षमता त्यस प्रकारको हुन नसकेर हो जसले चीनको सामना गर्न सकोस् । त्यसो हुँदा हुँदै पनि रणनीतिकरुपमा  ‘लाल ड्रयागन’ भनेर चिनिने देश चीनसँग भारतको सौहाद्र्रपूर्ण सम्वन्ध आज समयको अत्यन्तै महत्वपूर्ण आवश्यकता बन्न गएको स्वयं भारतीय बिश्लेषक र अध्येताहरुले निचोड निकालिरहेका छन् र भनिरहेका छन् कि बाँकी नमिलेका कुरामा पनि छलफल चलाएर अघि बढ्न सकिने स्थिति छ ।

China-indai brics+.jpg
 प्रष्ट छ, त्यसैले कजानमा हालै भएको शी जिनपिङ्ग–मोदी बार्तालाई अहिले दुबै देशले ठूलो महत्वकासाथ हेरिरहेका छन् र यसलाई कम आँकिनु हुन्न भनिरहेका छन् । जनसंख्याको हिसावले पनि बिश्वका सबैभन्दा ठूला दुइ देशका बीच सुमधुर र सहयोगात्मक सम्वन्ध बिश्वका लागि नै अर्थपूर्ण हुनसक्छ । अहिले सम्पन्न बार्तामा बिकासको साझा लक्ष निर्धारित गरिएको पनि देखिन्छ  । भारतीय जानकारहरु भनिरहेका छन् कि भारतको चीनसँगको ब्यबसायिक सम्वन्ध पनि राम्रो हुनु पर्दछ जसले गर्दा मिलेर साझा बिकासलाई अघि बढाउन मद्दत पुगोस् । यस प्रकारको बातावरण बनाउनका लागि दुइ देशका बीच वास्तबिकरुपमा शान्तिपूर्ण र बिबादरहित स्थिति बन्नु अत्यावश्यक हुन्छ ।
 हुन त लामो समयदेखि रहेको दुइ देश बीचको सीमा बिबाद गएको झण्डै ६ बर्षयता निकै चर्केको र परस्पर तानातानीको स्थिति रहेको पनि हो । भारतले कयौं क्षेत्रमा चीनको घुसपेठ भएको आरोप पनि लगाउँदै आएको हो । चीनले पनि आफ्नो भू–अखण्डतालाई एक इञ्च यताउति हुन नदिने कुरा बारम्बार गर्दै आएको हो । भारतको त के पनि आरोप रहेको हो भने गलबान क्षेत्रमा त कयौं किलोमिट भित्र चीन भारतमा घुसेको र बिभिन्न क्षेत्रमा भारतीय सीमा सुरक्षा  बललाई गस्ती लगाउन पनि मनाही गरेको पनि हो । भारतमा चीन भारतीय सीमा नाघेर भारत भित्र घुसेको नघुसेको बिवाद पनि चलेको हो । आफु प्रधानमन्त्री बन्नु पहिला र आफुलाई बिश्व गुरुको छबि बनाउने दम्भपूर्ण कुरा गर्दै गर्दा मोदीले चीनतिर राता आँखा पनि लगाएका थिए । तर अहिले दुबैले परस्परका समस्या सल्टाउने र असल छिमेकी बनेर साझा भबिष्य निर्माण गर्न अग्रसर हुने कुरा महत्वपूर्ण छ । यसैले सीमा क्षेत्रबाट दुबैले आ–आफ्ना सेनालाई पछि हटाउने कुरा निकै सकारात्मक छ । सीमा बिबादलाई साच्चै अन्तिम निष्कर्शमा पु¥याउने हो भने साझा सीमारेखा छुट्याउने आधारहरु खोजेर सहमति गर्नु जरुरी छ । शायद आगामी कदम यसै दिशातर्फ अग्रसर हुनेछन् ।

xi-modi.jpg
 अहिले निकै राम्रो कुरा के भएको छ भने चिनीयाँ राष्ट्रपति स्वयंले यस कुरामा बढी जोड दिएका छन् कि सम्बन्ध सुधारको सन्दर्भमा  ‘दुबै देशको संयुक्त राजनीतिक धारणा बन्नु पर्दछ’ । उनले ‘सद्भावपूर्ण बिकासका लागि सकारात्मक मार्ग खोज्नु पर्ने’ कुरा पनि गरेका छन् । अनि भारतीय प्रधानमन्त्रीले पनि ‘क्षेत्रीय तथा बिश्व शान्ति र स्थिरताका लागि भारत–चीन सम्बन्ध सुधार निकै अहं महत्वको हुने’ बताएका छन् । उनले यो भन्नु कि ‘दुइ देशका बीच परस्पर बिश्वास, एक–अर्काप्रति सम्मान तथा संबेदनशीलता सौहाद्र्रपूर्ण सम्बन्धको आधार हुने’ कुरा वास्तवमा अहं महत्वको कुरा छ ।
 दुइ देशका बीच यतिबेला उल्लेखनीय कुरा के पनि छ भने बितेको एक दशकमा कहिले कडा कहिले नरम सम्बन्धको स्थिति हुँदाहुँदै पनि दुइ देशका बीच ब्यबसायिक हितको सम्वन्ध भने कायम रहेर आएको हो । यस सम्वन्धमा स्वयं भारतीय प्रधानमन्त्री मोदीको गल्ती के भने उनले असंलग्नताको बाटो छोडेर पश्चिमा शक्तिशाली देश खाशगरी अमेरिका तथा यूरोपेली देशहरुकासाथ सम्बन्ध गाँस्नमा बढी रुची लिन थाले । अनि अर्कोतिर मोदीको भारतीय जनता पार्टीका नेताहरु  र तिनको ‘आईटी सेल’ सहित असंख्य कार्यकर्ताले चीनकाप्रति भारतमा नकारात्मक बातावरण बनाउन कुनै कसर बाँकी राखेनन् । 
 यस क्रममा दीपावलीमा ल्याउने गरिएका चिनीया झल्लरी बत्ती र बल्बहरु, होलीमा चलाइने पिच्कारीहरुको समेत बहिष्कार तथा कतिपय एप्सहरु समेतमाथि प्रतिबन्ध लगाउने जस्ता केटाकेटी अभियान र बहिष्कार जस्ता कृयाकलाप पनि मोदी सरकारले भारतमा चलायो । त्यस्ता गतिबिधिहरुबाट चीनको त केही बिग्रेन बरु उल्टै भारतबाट चीनमा हुने गरेको धेरथोर निर्यात तथा भारतबाट चीनमा गएर काम गर्ने भारतीय ब्यवसायीहरुको कामकाज र कारोबार ठप्प भएर रोकियो । तर चीनको भने भारतमा ठूला निर्माण ठेक्कापट्टा मजासित चल्दै रहे । अब यो पछिल्लो बार्तापछि के अपेक्षा भारतमा गरिदैछ भने अब ती रोकिएका भारतका ब्यबसायहरु पुनः सही लयमा फर्किनेछन् । चिनका राष्ट्रपति शीले यो कुरा प्रष्ट पारिदिएका छन् कि दुबै देश भारत र चीन ‘प्रतिस्पद्र्धी होइन कि सहयोगी हुन्’ ।
 यी यस्ता महत्वपूर्ण सकारात्मक बिन्दूहरु हुन् जसमा दुबै देशले यदि सँग–सँगै इमानदारीपूर्बक  हिड्ने पहल गरे भने दुबै देशलाई फाइदा हुने निश्चित छ । चीन भारतभन्दा निकै अगाडि पुगिसकेको अबश्य हो । तथापि दुबै देशले सीमानामा शान्ति तथा सौहाद्र्रताको माध्यमबाट बिकासको नयाँ इतिहास लेख्न सकिने छ । त्यति मात्र होइन वरिपरीका छिमेकीहरुसँगका सम्वन्धमा रहेका समस्याहरु पनि सही किसिमले समाधान गरेर जाने स्वच्छ बातावरण बन्ने आशा गर्न सकिन्छ । नेपालका लागि दुइ देशको सम्वन्ध सुधारबाट यही अपेक्षा गर्नु बढी सही र स्वाभाबिक पनि हुनेछ । यस समग्र सम्बन्धमा भारतले कत्तिको परिपक्क कूटनीतिको परिचय दिन्छ  अनि सबै छिमेकीहरुसँग मिलेर जान सावधानीपूर्बक तर सही कदम चाल्छ त्यसले नै चीन–भारत र तिनका वरिपरीका देशहरुको सम्वन्धमा पनि सुधार, सहजता र समस्या समाधान हुने आधारको निर्माण हुने सामयिक अपेक्षा गर्न सकिन्छ ।