आइतबार, आश्विन १८ गते २०८३

आगामी बिहीवारबाट १७ औँ गोदावरी फूल प्रदर्शनी हुने

कार्तिक ५, २०८१ सोमबार
आगामी बिहीवारबाट १७ औँ गोदावरी फूल प्रदर्शनी  हुने

फ्लोरिकल्चर एसोसिएसन नेपालले १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ को आयोजना गर्ने भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि” भन्ने नाराको साथ यो वर्षको प्रदर्शनी आयोजना गर्न लागिएको छ । प्रदर्शनीमा व्यवसायीक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीहरूका लागि सेल्फी स्टल १ गरि जम्मा ७५ वटा प्रदर्शनी कक्षहरु रहने छन् ।

यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध बिधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइने छ । यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराईने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरुमा १० मिनियचर, २० स्पाईडर, ३० रिफ्लेक्स, ४० ईन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजाति रहने छ । मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराइनेछ । समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा बिधागत उत्कृष्ट हुने नर्सरी र फर्मलाई सिल्ड, नग तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ । 

प्रदर्शनी २०८१ कार्तिक ८ देखि ११ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा संचालन हुनेछ । ४ दिने यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायीक कारोबार हुने अपेक्षा गरिएको छ । फ्यानले पुष्प व्यवसायको व्यवसायीक बिकास बिस्तार तथा प्रबर्द्धन गर्ने उद्देश्यले २०५१ साल देखि लगातार रुपमा पुष्प मेला र प्रदर्शनीको आयोजना गर्दै आएको छ । आगामी बिहीबार बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी बिकास मन्त्री प्रकाश श्रेष्ठले प्रदर्शनीको समुद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ । 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता