महालक्ष्मी नगरपालिकाको सिद्धिपुरमा स्थापना भएको अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाले छोटो समयमा वित्तीय रुपमा ठुलो छलाङ मारेको छ । संस्थाको सक्रिय सञ्चालक समिति, मेहनती र लगनशील कर्मचारी एवं समुदाय र सदस्य केन्दीत वित्तीय कारोबार गरेका कारण संस्थाले छोटो समयमा उल्लेख प्रगति गर्न सफल भएको हो ।
२०७२ साल चैत्र १७ गते साविक डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता गरी संस्थाले आफ्नो कारोबार सुरु गरेको हो । सुरुमा ७७ जना सदस्य र १९ लाख २५ हजार पुँजीबाट संस्था अगाडि बढाएको अध्यक्ष किशोर महर्जनले बताए । सुरुका दिनमा सानो पुँजी र केही सदस्यबाट सुरु भएको संस्था गत आर्थिक बर्ष २०८०/८१ को असार मसान्तसम्म आइपुग्दा २ हजार माथि शेयर सदस्य र २८ करोडको कुल सम्पत्ति पु¥याउन सफल भएको उनको भनाई छ ।
संस्थाले सदस्यहरुसँग रहेको ससानो पुँजीलाई सहकारी ऐन नियम र संस्थाको स्वीकृत विनियम बमोजिम संकलन गरी सदस्यहरुमाझ परिचालन गरी उनीहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा सघाउँदै आएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको संस्थाले सदस्यहरुको सम्पूर्ण वित्तीय समाधानको पहिलो छनोटको रुपमा अभिवादनलाई स्थापित गर्ने मुख्य उदेश्य बनाएर अगाडि बढेको उनले जनाए । संस्थाले सदस्यहरुमा नियमित बचत गर्ने बानीको विकास गर्नुका साथै संकलित बचतलाई आयमूलक र उत्पादनशील क्षेत्रमा लगानी गरी सदस्यहरुको आयस्तरमा वृद्धि गर्ने लक्ष्य लिएको छ ।
संस्थाले सहकारी ऐनले व्यवस्था गरे अनुसार शेयर लाभांशका साथै संरक्षित पुँजी फिर्ता कोषबाट समेत सदस्यहरुले बचत र ऋणमा गरेको योगदानको आधारमा फिर्ता दिने गरेको छ । सहकारीमार्फत् समाजमा रहेका कमजोर वर्ग, पिछडिएका, जनजाति, गरिब र एकल महलिाहरुलाई आवद्ध गराएर आवश्यक तालिम तथा शिक्षाको माध्यमबाट आर्य आर्जन गर्न सक्ने बनाउनु नै संस्थाको ध्येय रहेको अध्यक्ष महर्जनले जानकारी दिए । त्यसका साथै संस्था बहुउद्देश्यीय रहेकाले जडिवुटी, आयुर्वेदसँग सम्बन्धि खोज अनुसन्धान तथा उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि गर्ने योजना रहेको उनले जनाए ।

सामाजिक कार्यलाई निरन्तरता
संस्थाले स्थापनाकालदेखि नै सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको छ । स्थानीय मठ मन्दिरदेखि बाजाखलःको सम्बर्धन र प्रवर्धनको काममा अभिवादन नमुना बनेको छ । सहकारीको ७औं सिद्धान्त अनुसार संस्थाले समुदायप्रति चासो दिएर विभिन्न सामाजिक क्रियाकलाप सञ्चालन गर्नुका साथै रक्तदान, सरसफाई, जेष्ठ सदस्यलाई तिर्थटान र भजन खलःलाई बाद्यवादन उपलब्ध गराउँदै आएको छ । संस्थाले समाजमा उल्लेख्य योगदान पु¥याउने सामाजिक व्यक्तित्वहरुलाई साधारण सभाको अवसरमा नगद सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गर्ने गरेको छ । त्यसैगरी सदस्यहरुलाई लक्षित गरेर दुर्घटना तथा औषधी उपचार, कर्जा बीमा, सदस्य बिरामी भई अस्पताल भर्ना भएमा उपचार खर्च, सुत्केरी खर्च र सदस्यको मृत्यु भएमा काजक्रिया खर्च उपलब्ध गराउँदै आएको छ ।
यस्ता छन् यस बर्षका कार्यक्रम
संस्थाको ८औ बार्षिक साधारण सभा गत असोज १९ गते सम्पन्न भएको छ । सभाले यस आर्थिक बर्षको लागि विभिन्न नीति तथा कार्यक्रम तय गरेको छ । संस्थाले यो आ.ब.मा मोबाईल बैकिगमा सदस्यहरुको पहुँच अभिवृद्धि गर्ने, रासयनिक मल खरिद विक्रीलाई प्रभावकारी बनाउन कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङसँग सम्झौता गर्ने, सदस्यहरुलाई उद्यमी, व्यवसायी र आत्मनिर्भर बनाउन वित्तीय साक्षरता, सहकारी शिक्षा शिविर र विषयगत तालिमहरु सञ्चालन गर्ने, उदेश्य मिल्ने संस्थासँग एकीकरण गर्ने र स्थानीय सरकारसँग मिलेर शिक्षा, स्वास्थ्य, खेलकुद र विभिन्न रचनात्मक कार्यहरु अगाडि बढाउने नीति लिने भएको छ ।
यस्तो छ वित्तीय अवस्था
मुलुकमा आएको आर्थिक मन्दी र शहरीमा क्षेत्रमा रहेका केही ठुला सहकारी संस्थाको व्यवस्थापकीय कमजोरीको प्रभाव समग्र सहकारी अभियानमा परेको भएपनि संस्थाले तरलता लगायतको वित्तीय व्यवस्थापन गर्न सफल भएको छ । संस्थाले वित्तीय कारोबारलाई पारदर्शी र प्रविधिमैत्री बनाउँदै लगेकाले सदस्यहरुको संस्थाप्रति विश्वास बढेर गएको जनाएको छ । जसका कारण संस्थाको समग्र वित्तीय सुचकांकहरुमा हरेक बर्ष वृद्धि हुँदै गएको छ ।
गत आर्थिक बर्षको असार मसान्तसम्म संस्थाको शेयर पुँजी ३ करोड १७ लाख १० हजार, जगेडा तथा अन्य कोषमा १ करोड २८ लाख ३१ हजार, बचत संकलन २८ करोड ६३ लाख ६४ हजार र ऋण लगानी २८ करोड ५४ लाख २७ हजार गरेको छ । संस्थाले सहकारी बैंकबाट ६ करोड २९ लाख वाह्य ऋण लिएको छ । संस्थाको त्यस अवधिमा कुल सम्पत्ति ४१ करोड ५६ लाख १९ हजार पुगेको छ ।
संस्थाले आवधिक, साधारण, क्रमिक, मासिक, गृहणी, एकल महिला, बाल, जेष्ठ नागरिक र उच्च शिक्षा बचत योजना सञ्चालनमा ल्याएको छ ।
नेपालपत्र संवाददाता