सामाजिक सन्देशमूलक लोकलयमा धार्मिक सहिष्णुता, राष्ट्रियता मिलाएर आजीवन रचना र गायनमा समर्पित भएका पोखरानिवासी लोककवि अलिमिया (वि.सं.१९७५–२०६३) पोखराका लागिमात्र होइन देशकै लागि मौलिक विशेषतायुक्त सम्मानित स्रष्टा तथा गायक थिए । नेपाली समाजमा हिन्दु र ३८ जिल्लामा बसोबास गर्ने मुसल्मानका बीच राष्ट्रिय एकतातिर लक्षित सुमधुर सम्बन्ध बनाउनमा उनी आजीवन दृढप्रतिज्ञ र अभियन्ता बनेर लागे ।
२००७ सालको जनक्रान्तिका क्रममा उनी पोखरा र आसपासका इलाकामा पुगेर आफ्ना रचनाहरूलाई गीतको रुपमा सुनाएर स्रोताहरूलाई मन्त्रमुग्ध बनाउँथे। प्रस्तुत रचना उनले जनचेतना जगाउने क्रममा त्यसैताका गाएको गीतको एक टुक्रा हो ।
सामान्य साक्षर भएपनि आफ्नै चिन्तन र प्रतिभासँग आत्मविश्वास मिलाई निरन्तर अघि बढ्दैगएर राजा–महाराजादेखि सामान्य जनतासम्मको श्रद्धा र सम्मान आर्जन गरे । इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार (२०४८), शिरोमणि पुरस्कार (२०५२), कुमुदिनी कला तथा साहित्य पुरस्कार (२०५२) नारायणगोपाल संगीत पुरस्कार (२०५८), जगदम्बा श्री पुरस्कार (२०६०) जस्ता प्रतिष्ठित पुरस्कार र पदकहरूबाट सुशोभित भए। पोखराका लागि त उनी आकर्षण, गौरब र गहना नै थिए ।
विरक्त लहरी, नेपाली झ्याउरे गीत संग्रह, न्याउलीको पुकारा, पहाडको सुस्केरा, सेतीको सुस्केरा, उज्यालो भईसक्यो, सम्झनाको दीयो, अलिमियाको आवाजजस्ता अनेकौं रचनाकृति उनले दिएर गए । पोखराकै प्राध्यापक बाबुराम भट्टराईले अलिमियाका कृतिहरूमा पी.एचडी.गरे । उनको नाममा ‘अलिमिया लोक वाङ्मय प्रतिष्ठान’ स्थापित छ । पत्रकार अमृत भादगाउँलेले उनको व्यक्तित्व र योगदानलाई समेटेर जीवनी (लोककवि अलिमिया) प्रकाशित गरे । यहाँ प्रस्तुत रंगीन फोटो, उनकै हस्ताक्षरद्वारा रचना र कतिपय जानकारी अमृत भादगाउँलेको सोही पुस्तकबाट झिकिएको हो ।
लोककवि अलिमियाको व्यक्तिगत जीवन संघर्षमय आर्थिक अभावकै बीच बित्यो । उनले ५ पटक बिहे गरे, सौतामाथि होइन पालैपालो पत्नी बितेपछि । तर २०३८ पछिचाहिं उनी पत्नीविहिन जीवन बिताउँदै आएका थिए। २०२० देखि २०४० सालसम्म स्थानीय ब्यापारिक व्यवसायमा लागे । दोस्रो विश्वयुद्धका बेला ब्रिटिश भर्तीमा लागेर ३ वर्ष (वि.सं.१९९९–२००२) सैनिक जीवन पनि बिताए । बीपी कोईराला, गणेशमान सिंह, पुष्पलाल, मनमोहन अधिकारी, राजा महेन्द्र तथा बीरेन्द्रसँग निकै हिमचिम राख्न सफल रहेका अलिमियालाई राजा वीरेन्द्र र महेन्द्र अत्यन्त माया गर्थे, देखिजान्नेहरू बताउँछन् ।
पोखराको प्रसिद्ध विन्ध्यबासिनी मन्दिरबाट ७ कि.मि.पूर्वस्थित एउटा गाउँ छ ‘मियापाटन’। किंवदन्तीअनुसार, चौबिसे राजाको पालामा पूर्वतर्फको आर्बाको छिमेकी गाउँ ठूलाकोट र दक्षिणपश्चिमको कास्कीकोटका राजाहरूले यी मुसलमानलाई हतियार बनाउन, मर्मत गर्न तथा दरबारका स्त्रीहरूको लागि श्रृङ्गार–पटारका सामग्री पुर्याउन भारतबाट ल्याएर मियाँपाटनमा राखेका हुन् ।
हाट–बजारमा चुरा–धागोको व्यापार गर्ने, अघिपछि खेतीपाती गर्ने पिता दिनमोहम्मद मियाँ र माता जहुरा मियाँका १३ छोराछोरीमध्ये ९० सालको महाभूकम्पपछि आएको हैजाको महामारीबाट अलिमिया र उनका दाजु मेहरवानमात्र बाँच्न सफल भए।
जीवनका अन्तिम १/२ वर्ष उनी पक्षाघात, मिर्गौला रोग, दम, मोतीविन्दु जस्ता समस्याका कारण ओछ्यान परे । २०६३ साउन १८ गते निधन भएर इस्लामिक संस्कारअनुरुप अन्त्येष्ठी हुँदा पोखराका सम्पूर्ण प्राज्ञ, राजनीतिज्ञ, गन्यमान्यदेखि सर्वसाधारणसम्म उनलाई श्रद्धाञ्जली चढाउन भेला भएका थिए।
जेठा छोरा हनिफ मियाले हालसम्म बाबुको नाम र योगदानलाई निरन्तरता दिईरहेका छन्।
चन्द्रमणि गाैतम