शुक्रबार, कार्तिक ७ गते २०८३

पञ्चकन्या साकोसको बचत संकलनमा ८१ प्रतिशतले वृद्धि

आश्विन २०, २०७८ बुधबार
पञ्चकन्या साकोसको बचत संकलनमा ८१ प्रतिशतले वृद्धि

 

काठमाण्डौको खिचापोखरीमा मुख्य कार्यालय रहेको पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाले २३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

संस्थाले कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै एक साता सदस्य उपस्थिति पुस्तिका खुला तथा प्रतिवेदन वितरण गरी साधारणसभा सम्पन्न गरेको हो । त्यस अवधिमा सदस्यहरुबाट प्राप्त सल्लाहसुझावालाई समेटेर संस्थाले गत शनिवार विद्युतीय माध्यमबाट साधारणसभा सम्पन्न गरहेको जनाएको छ । 

सभामा संस्थाका अध्यक्ष अनुपकुमार अग्रवालले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०५५ सालमा जुझारु युवाहरुले स्थापना गरेको पञ्चकन्यामा नयाँ व्यवस्थापन आएर काम शुरु गरेको बताउँदै छोटो अवधिमा संस्थालाई समुदायमा आधारित दिगो र प्रविधिमैत्री एक उत्कृष्ठ वित्तीय सहकारी संस्थाकोरुपमा स्थापित गराइसकेको बताए । 

संस्थाले सहकारी सिद्धान्त र मर्ममा आधारित भएर सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरणको लागि काम गर्दै आएको छ भने सदस्यहरुको सहजताका लागि  मोबाइल बैंकिङ प्रयोगमा ल्याएको छ । 

सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर, ज्येष्ठ सदस्य सम्मान, राहत तथा रक्तदान जस्ता गतिविधि सञ्चालन गर्दै आएको उनले बताए । 

भौतिक, जुम प्रविधि र फेसबुक लाइभबाट भएको साधारणसभाको सञ्चालक समिति सदस्य एवम् संस्थाका ज्येष्ठ सदस्य काजी लामाले पानसमा दीप प्रज्ज्वलन गरेर उद्घाटन गरेका थिए । 

त्यसैगरी लेखा समितिकोतर्फबाट सदस्य राघव कार्कीले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । 

त्यसैगरी संस्थाको प्रगति विवरण तथा आगामी वर्षकालागि प्रस्तावित वार्षिक योजना, नीति, कार्यक्रम तथा बजेट संस्थाका सचिव एवम् कार्यकारी सञ्चालक दिनेशकुमार पोखरेलले प्रस्तुत गरेका थिए । 

आर्थिक बर्ष २०७७।०७८ को अन्त्यसम्ममा संस्थाको शेयर चुक्ता पुंजी रु १ करोड ७८ लाख ३७ हजार रहेको छ । त्यसैगरी बचत संकलन २१ करोड २५ लाख र ऋण लगानी २१ करोड २२ लाख गरेको छ । संस्थाले बचत तर्फ ८१.६ प्रतिशत र ऋण लगानीतर्फ ७२.४९ प्रतिशत बृद्धि गर्न सफल भएको छ । 

संस्थाले आगामी नीति तथा कार्यक्रमहरुमा संस्थाको साख तथा ब्राण्डलाई विस्तार गरी सदस्य माझ उत्कृष्ट संस्था को पहिचान बनाउने, संस्थागत सुशासनलाई चुस्त, दुरुस्त बनाउँदै लैजाने, संस्थाबाट सदस्यहरुलाई दिने सेवा सुविधालाई थप व्यवस्थित बनाउँदै प्रविधिमा विशेष जोड दिने, सेवा केन्द्र विस्तार गर्ने रहेका छन् । 

त्यसैगरी संस्थाको शेयर वृद्धि गर्नका लागि सदस्यहरुलाई शेयरमा लगानी बढाउन थप प्रोत्साहन गर्ने, सदस्यहरुको जन्मदेखि मृत्यु संस्कारका कार्यक्रम ल्याउने भएको छ ।

panchakanya 1.jpgpanchakanya 2.jpg