शुक्रबार, कार्तिक ७ गते २०८३

जुन प्रमाण–साधनको सहायताले कुनै सिद्धान्तमा पुग्न सकिन्छ त्यसलाई न्याय भनिन्छ: महर्षि गौतम


आश्विन २५, २०८१ शुक्रबार
जुन प्रमाण–साधनको सहायताले कुनै सिद्धान्तमा पुग्न सकिन्छ त्यसलाई न्याय भनिन्छ: महर्षि गौतम

“नीयते विवक्षितार्थः अनेन इति न्यायः....”

(वैदिक न्यायशास्त्र)

वैदिक दर्शनका ६ मध्ये एक, न्यायदर्शन (न्यायशास्त्र) का प्रथम रचनाकार महर्षि गौतमलाई पृथ्वीमा कानुन र न्यायका जनक (संस्थापक) मानिन्छ, जो ई.पू. दुईसय वर्ष पहिले रचना गरिएको विश्वास छ । वैदिककालमा, हिन्दू धर्मका यी प्रसिद्ध मन्त्र प्रतिपादक (मन्त्रद्रष्टा) बारे ऋगवेदका सम्पूर्ण सूक्तिहरूमा उनको महानता र जीवनीको व्याख्या गरिएको छ । यिनले सबैजसो हिन्दू ग्रन्थहरूको रचना गरे । सनातन हिन्दू धर्म मान्नेहरूले यी ग्रन्थहरूमा अपनत्व राख्दैआएका छन् । जर्मन मानवशास्त्री तथा संस्कृत भाषा तथा हिन्दू दर्शनका विद्वान म्याक्स् मुलर (१८२३-१९००) ले गौतम ऋषिको बारेमा गहिरो अनुसन्धान गरेका रहेछन् ।
‘गौतम धर्म–सूत्र’मा २८ पाठ, एक हजार मानव जीवनका वास्तविकतासँग सम्बन्धित विषय उल्लेख छन् । मानव जीवनका ४ आश्रम— ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास एवं तिनका नियमहरू, हिन्दुविधि र प्रबन्धका कुरा पनि सामेल गरिएको छ । उनको न्यायसूत्रका पाँच अध्याय पाइयो— प्रत्यक्ष प्रमाण, अनुमान प्रमाण, उपमान प्रमाण, शब्द प्रमाण र यथार्थ ज्ञान ।
४० संस्कार, चार वर्ण, राजाका राजकिय जिम्मेवारी, विभिन्न अपराधिक गतिविधि वापत सजाय, मृतकको अन्त्येष्टिका लागि पालना गर्ने नियमहरू, खाद्य उपभोगमा गर्नहुने र गर्न नहुने नियम, पापको प्रायश्चित गर्दा पालना गर्नुपर्ने विधि वा नियम, र वैयक्तिक सम्पत्तिको प्राप्ति र उपभोगको नियमहरू गौतम धर्मसूत्रमा समावेश छन् । हिन्दु विधिशास्त्रमा काम गरेका प्राचीन विद्वानहरू, चाणक्य, कौटिल्य, मनु, प्रेमचन्द, बाल्मिकी आदिले महर्षि गौतमकै धर्मसूत्रमा आधारित रहेर आफ्ना शास्त्रहरूको रचना गरे ।
पनौती आएका कतिपय भारतीय पर्यटक गौतम-पत्नी (ब्रम्हापुत्री) ‘अहल्या’ को सोधीखोजी गर्छन्, नेपालीलाई अत्तोपत्तो छैन । पौराणिक कथाअनुसार गौतम ऋषि र उनकी श्रीमती अहिल्या पनौतीको त्रिवेणीघाट नजीकै बस्नेगरेको अहिल्याको रूप, सौन्दर्य र यौवनबाट मोहित भएका स्वर्गका राजा इन्द्रले मन थाम्न नसकी गौतम ऋषिलाई झुक्याएर अहल्यासँग शारीरिक सम्बन्ध बनाएको, गौतम ऋषिले थाहा पाएपछि इन्द्रलाई श्राप दिएको र पाप मोचन गर्न पनौतीमा बसेको, हिन्दू धर्मावलम्बीहरूका निम्ति तेस्रो आँखा भएका इन्द्रको महत्व रहँदै आएको र त्यसको ऐतिहासिकता पनौतीसँग जोडिएको पुराण वर्णित रोचक कथा छ ।
यसैबीच धर्मशास्त्रमा आईरहने ‘ब्रम्हर्षि’, ‘महर्षि’, ‘ऋषि’, ‘मुनि’, ‘साधु’, ‘सन्त’ जस्ता समानार्थी लाग्ने शब्दावलीको परिभाषा जरुरी छ । ऋषि–मुनिमा चामत्कारिक प्रतिभा, ज्ञान र चेतनाबोधक ज्ञानचक्षु, दिव्यचक्षु र परमचक्षु हुनुपर्दछ । ज्ञानचक्षु जागृत भएकोलाइ ऋषि, दिव्यचक्षु जागृत भएकोलाई महर्षि र परमचक्षु जागृत भएकोलाई ब्रम्हर्षि भनिन्छ ।
वैदिक ऋचा (सूत्र) का आत्मज्ञानी स्रष्टालाई ऋषि भनिन्छ । ऋषि हुनलाई सयौं वर्षको कठिन साधना, तपस्या, चिन्तन र अनुसन्धान गरेको हुनुपर्छ । ऋषिमा क्रोध, लोभ, मोह, अहंकार जस्ता चारित्रिक तथा स्वभावगत विकृति हुनुहुँदैन । मौनधारणको सपथ लिएका वा शान्त रहेर ध्यान, तप, शास्त्र रचनाजस्ता कर्म गर्ने, दिनमा एकपटक भोजन गर्ने २८ गुणयुक्त व्यक्तिलाई मुनि भनिन्छ, जस्तो नारद मुनि थिए ।
ज्ञान र तप को उच्चतम सीमामा पुगेको व्यक्तिलाई महर्षि भनिन्छ । उनीभन्दा पनि माथि त ब्रम्हर्षि हुन्छन् । पछिल्ला महर्षि ‘मूल शंकर तिवारी’ को नाममा जन्मेका, ‘वैदिक धर्म’ भनिने आर्यसमाजका संस्थापक दयानन्द सरस्वती (सन् १८२४–८३) लाई भनिन्छ ।

dayananda saraswati.jpg
साधना गर्ने (साधक) लाई ‘साधु’ भनिन्छ । संस्कृतमा साधु भनेको सादगी भएको सज्जन हो । साधुमा ६ वटा मानवीय बिकार– काम, क्रोध, लोभ, मोह, अहंकार र मद हुन हुँदैन । सत्यको आचरण गर्ने, संसार र अध्यात्मका बीच सन्तुलन बनाएको, शान्त स्वभावको मानव नै सन्त हो ।
ब्रम्हाले फुर्सद लिएर कल्पना गरेबमोजिम जन्माएकी पुत्री (पौराणिक सुन्दरी) ‘अहल्या’ सँग विहे गरेका गौतम ऋषिकै नामबाट भारतका गोमती र गोताबरीबाट गोदाबरी भएको (पौराणिक नाम ‘गौतमसम्भवा’ वा ‘गौतमी’ ) दुईटा नदी छन् ।
गौतम ऋषिका सन्तानको रुपमा लिईने गौतम गोत्रमा परेका नेपाली थर– धरेल, त्रिपाठी, तिवारी/तेवारी, दङ्गाल, नेगी, बम, वन, इन्दौरिया (गौड) आदि छन् ।