राष्ट्रिय उपभोक्ता मन्चले विपतको समयमा विभिन्न वहाना बनाएर मूल्यवृद्धि नगर्न आग्रह गरेको छ । मन्चले विज्ञप्ति जारी गर्दै नेपालीहरुको ठूला चाडबाडको बेलामा भएको यो प्राकृतिक बिपतिको बेलामा पनि उपभोक्ता ठगेर खान पल्केका केही व्यवसायीहरुले प्राकृतिक प्रकोपलाई नै बहाना बनाई हवाइ भाडामा चर्को मूल्यबृध्दि गर्ने, सवारी यातायातमा दादागिरी गर्ने, खाद्यान्नमा मूल्यबृद्धि गर्ने जस्तो अनुचित व्यापारिक काम गरी ब्रम्हलूट मचाएका छन र बजारलाई अराजकता तर्फ ढकेलिएको प्रति ध्यानकर्षण भएको जनाएको छ ।
आम नेपाली जनताको अभिभावकत्व ग्रहण गरेको सरकार यस्तो स्थितिमा पनि बजारमा आफनो उपस्थिति दरो रुपमा देखाउन नसकेकोमा आमनागरिकको तर्फबाट उपभोक्ता मन्चले खेद व्यक्त गरेको छ । नेपाल सरकारका सम्बद्ध निकायहरु, प्रदेश सरकार तथा स्थानीय सरकारको रुपमा रहेका पालिकाहरुले तत्काल उपभोक्ता हितको लागी आपूर्ति व्यवस्था सहज गर्न, मूल्य नियन्त्रण गर्न र अनुचित व्यापारिक कृयाकलाप गरी उपभोक्ता ठग्ने र लूटने व्यवसायीहरुलाई कडा कारवाही गर्न मञ्चले सरकारसंग जोडदार मांग गरेको छ ।
देशको बिभिन्न भागमा आएको अत्याधिक बर्षा र बाढीले गर्दा प्राकृतिक चपेटामा परेर २ सय भन्दा बढी नागरिकको ज्यान गई सकेको छ भने सयौं नागरिक बेपत्ता भएका छन् । अर्बौको पुल पुलेसा, सडक तथा भौतिक पूर्वाधारहरु नष्ट तथा क्षति भएको छ । पीडित नागरिकहरुको जीवन अत्यन्त कष्टकर तथा अष्टव्यस्त भएको छ ।