नीम अर्थात् ‘एजाडिरेक्टा इण्डिका’ एउटा सदाबहार बृक्ष मानिन्छ । यो बृक्ष नेपाल, भारत, पाकिस्तान, बंगलादेश, बर्मा(म्यानमार) थाइल्याण्ड, इण्डोनेशिया, श्रीलंका लगायत आदि देशहरुमा पाइन्छ ।नीमको फूल सुगन्धित तथा सेता हुन्छन् । यसको फल चिल्लो अण्डाकारको हुन्छ । फलको बोक्रो पातलो गुदी रेशादार, सेतो र पहेलो रंगको हुने गर्दछ । पात अत्यन्तै तीतो भए पनि स्वाद भने कडा–खालको गुलियो हुन्छ ।
ब्यबसायिक दृष्टिले नीमको रुख अत्यन्तै महत्वपूर्ण छ । यो एउटा असाधारण औषधी, कीटनाशक, उर्बरक तथा पर्यावरणीय गुणका कारणले यसमा संसारकै आँखा लागेको छ । तथापि उद्योग ब्यवसाय जगतमा यसलाई एउटा महत्वपूर्ण नगदे बृक्षकोरुपमा अझै मान्यता मिलेको भने पाइदैन । हाम्रा पूर्खाहरु नीम र त्यसका गुणकारी अबयवहरुका बारेमा राम्रोसँग परिचित थिए । यद्यपि यसको बैज्ञानिक अनुसन्धान भने धेरै पछि मात्रै हुन थालेको पाइन्छ ।
बर्ष १९५९ मा सूडानमा एउटा घटना घट्यो । त्यस घट्नाले नीमको अनुसन्धानमा एउटा नयाँ दिशा प्रदान ग¥यो ।त्यो देशको एउटा क्षेत्रमा एउटा बहुतै ठूलो किरा सलहले त्यहाँको बालीनाली र बोट बिरुवमा भयंकर आक्रमण ग¥यो । त्यसले गर्दा त्यहाको सबै बालीनाली र बोट बिरुद्ध नष्ट हुन पुगे । यो अत्यन्तै ठूलो घटना थियो । त्यसको छानबिनका लागि सूडान सरकारले जर्मनीका एजन यूवा कीट नाशक बैज्ञानिक डा. हेनरिख श्म्यूटरको नेतृत्वमा बैज्ञानिकहरुको एउटा टोली बनायो । डा. हेनरिखले अनुसन्धान र सर्बेक्षणबाट के पाए भने सबै बालीनाली र बोट बिरुवा त नष्ट भएका थिए । तर कुनामा खडा रहेको एउटा बृक्ष भने त्यसबेला पनि लहलह थियो । सलहको झुण्ड त्यसैमा बसेको थियो । तर त्यसलाई कुनै नोक्सानी गरेको थिएन । डा. हेनरिख श्म्यूटर त्यसबाट के निष्कर्शमा पुगे भने त्यस निम बृक्षमा कीराहरुलाई बिकर्षित गर्ने गुण छ । यस घटनाले जर्मनीको गाइनेश बिश्वबिद्यालयमा निमका बारेमा ब्यापक अनुसन्धान आरम्भ गर्ने प्रेरणा दियो । त्यस अनुसन्धानसँग सम्वन्धि कतिपय देशका बैज्ञानिकहरुको २०–२५ बर्षमा बिभिन्न यौगिक प्राप्त गरे जसमा डा. श्म्यूटरद्वारा ती मध्ये डा.श्म्यूटररद्वारा निकालेको ‘एजाइडिरेक्टिन’ नामको कीटनाशक निकै चर्चित रह्यो । त्यसको थोरै मात्राले पनि धेरै कीटहरुलाई मार्न सक्षम रहेको मानियो । यो यौगिकको खोज पछि बिश्वभरी नै निमको अनुसन्धानमा तीब्रता आयो र अन्तर्राष्ट्रिय बजारमा निमको बिऊको मूल्यमा पनि ठूलो बृद्धि हुनपुग्यो । अनि धेरै देशहरुमा निम बृक्ष लगाउने प्रयास पनि निकै बढ्यो ।
आज बिश्वमा खाद्यान्नको माग पूरा गर्नका लागि कीटनाशक रसायनहरु र रासायनिक मलहरुको अत्याधिक प्रयोग गरिदै आएको छ ।परिणामतः भूमि, जल, वायु, खाद्यान्न, पेय आदि सबै कुरा प्रदुषित भएका छन् र तिनले ठूलो मात्रामा मानब तथा मानब इतर जीवनमाथि खतरा उत्पन्न गरिरहेका छन् । त्यस्ता कृत्रिम मलखाद तथा कीटनाशहरुको अनियन्त्रित प्रयोगले गर्दा आज लाखौलाख हेक्टर बालीनाली लगाउन सकिने, जमिन काम नलाग्ने बञ्जर भूमिमा परिणत हुन पुगेको छन् । अझ थप गम्भीर कुरा त के छ भने उत्पादन भएको बालीनाली पनि भण्डारण गर्दा नै कीटपतंगहरुले ठूलो मात्रामा नष्ट गरिदिने गरेका छन् ।
निम बीजको उत्पादन एकातिर प्रभावी कीटनाशककोरुपमा उपयोग गर्न सकिन्छ भने अर्कोतिर निमको खलीलाई मलखादको रुपमा पनि उपयोग गर्न सकिन्छ र उत्पादन बढाउन सकिन्छ ।खेतबारीमा यसको प्रयोगले नाइट्रोजनको अभावको पनि पूर्ति गरिदिन्छ र बालीनालीको पोषणका लागि पनि यसको उपयोग गर्न सकिन्छ । माटोको उर्बर शक्ति बढाउनका साथसाथै यसले सिल्पट जमिनलाई पनि मलिलो तुल्याउन मद्दत गर्दछ । यसले माटोको क्षरीयपनालाई बदलेर जमिनलाई उर्बर बनाउदछ । निमको छोक्रामा अन्य खलीमा भन्दा अपेक्षाकृत सल्फर या गन्धकको मात्रा १.०७ देखि १.३० प्रतिशतसम्म बढी हुन्छ, जसले गर्दा यसले प्रभावकारी उर्बरकको रुपमा काम गर्न सक्तछ । केवल कार्बनिक नाइट्रोजनकारुपमा मात्र होइन, नाइट्रीकरण निरोधककोरुपमा पनि यसले राम्रो काम गर्दछ । निम खलीले जमिनमा आद्र्रता कायम गरिराख्नका अतिरिक्त कीट तथा अन्य संक्रामक जीवाणुहरुको प्रकोपलाई पनि रोक्दछ । निमको खलीलाई गोबरसँग मिसाएर उपयोग गर्दा खेतबारीको जमिनमा सबै आवश्यक तत्वको पूर्ति गर्न नि मद्दत पुग्न सक्दछ ।
खोजकर्ताहरुल निमनको गुच्छादर फूलमा ग्लुकोसाइड, निम्बोस्ट्रीन तथा तीक्ष्ण गन्धयुक्त तेल तथा र बोसो अम्ल पनि पाइने पत्ता लगाएका छन् । पातमा पर्याप्त मात्रामा क्रूड प्रोटिन, फाइवर, कार्बोहाड्रेड, नाइट्रोजन मुक्र अर्क, क्याल्सियम, फस्फोसर आदि तत्वहरु पाइन्छन् । यसमा फलाम तथा भिटामिन ए को मात्रा पनि पर्याप्त पाइन्छ ।निमको बोक्रामा फस्फोस, र गन्धक पनि निकै पाइनछ । यसको बिउको तेलमा स्टीअरिक एसिड, ओलिक एसिड तथा लोरिक एसिड पनि पाइन्छ । निमको खलीलाई जैबिक मलकोरुपमा पनि प्रयोग गरिन्छ । बहु उपयोगी निम बृक्षका बारेमा जानकारी लिने मात्र होइन यसलाई लगाएर फाइदा लिने काइदा सिके मानब स्वास्थ्य र बालीनालीको स्वास्थ्यमा रोग प्रतिरोधात्मक क्षमता बढ्न कुरा प्रष्टै छ ।