अन्नपूर्ण बहुमुखी सहकारी संस्थाले सदस्यहरुलाई कृषि पेशामा जोड्नको लागि आवश्यक मलबीउको व्यवस्था गरिदिने भएको छ । संस्थाले ग्रामीण क्षेत्रका सदस्यहरुका लागि कृषि उत्पादनमा वृद्धि गर्न सघाउने उदेश्यका साथ आवश्यक पर्ने रासयनिक मल, बीउ तथा कृषि तालिम उपलब्ध गराउने भएको हो । समयमा रासायनिक मलबीउ र बजारको अभावले गर्दा कृषकहरुमा कृषिप्रतिको आकर्षण घटिरहेका बेला संस्थाले भने उदाहरणीय कार्य गर्ने भएको हो ।
संस्था बहुमुखी भएकाले २०७५ सालदेखि भक्तपुरको चारदोबाटोमा अन्नपूर्ण तरकारी तथा फलफुल बजार सञ्चालन गर्दै आएको छ । संस्थाले सदस्यहरुले उत्पादन गरेका कृषि उपजहरुलाई उक्त बजारबाट विक्रीको व्यवस्था मिलाएको संस्थाका अध्यक्ष श्याम सुन्दर बस्नेलले जानकारी दिए । उक्त बजारबाट ५ सयले प्रत्यक्ष रोजजगारी पाइरहेका छन् भने १५ सय जनालाई अप्रत्यक्ष रोजगारी मिलेको उनको भनाई छ । आगामी बर्षहरुमा बजारमार्फत अझ धेरैलाई रोजगारी सृजना गर्ने संस्थाको लक्ष्य रहेको उनले जनाए ।
संस्थाको सम्पन्न २७ औं साधारण सभाले यस आर्थिक बर्षको लागि पारित गरेको कार्यक्रम अनुसार सदस्यहरुको माग आवश्यकता अनुसार व्यवसायिक बन्न सीपमुलक तालिम समेत प्रदान गर्ने जनाएको छ । त्यसैगरी सदस्यहरुलाई लक्षित गरेर कानुनी साक्षरता कार्यक्रम, सहकारी शिक्षा शिविर, कानुनी साक्षरता जस्ता विविध सदस्य केन्द्रित कार्यक्रम गर्ने लक्ष्य संस्थाको छ ।
२७औं साधारण सभा सम्पन्न
संस्थाले आर्थिक बर्षको सुरुमा नै २७औं साधारण सभामा सम्पन्न गरेको छ । सहकारी ऐन २०७४ ले आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र लेखा परीक्षण सम्पन्न गरी साधारण सभा गर्नुपर्ने व्यवस्था गरेको छ । सोही अनुरुप संस्थाले समयमा लेखापरीक्षेण गरी साधारण सभा समापन गरेको जनाएको छ। संस्थाका अध्यक्ष बस्नेतले सभामा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै सहकारी क्षेत्रका लागि वितेका केही वर्ष इतिहासकै कठिन वर्ष भएको बताए। असहज परिस्थितिमा समेत सञ्चालक समिति, लेखा समिति र कर्मचारीको सामुहिक प्रयासले कठिन अवस्थालाई पार गर्न सकेको उनले जनाए ।
त्यसैगरी सदस्यहरुले संस्थाप्रति गरेको विश्वास र निरन्तर कारोबार गरका कारण पनि संस्थाले वित्तीय संकटलाई पार गर्न सफल भएको उनको भनाई छ । संस्था समुदायमा आधरित भएर सदस्य केन्द्रीत वित्तीय कारोबार गर्दै आएको र आन्तरिक नीति विधिका साथै सहकारी ऐन नियमको पूर्ण पालना गरेर अगाडि बढेको उनले जनाए । संस्थाको वित्तीय सुचाङ्कहरु अन्तराष्ट्रिय वित्तीय प्रणाली मापन पर्ल्स अनुसार रहेको र संस्थाको अवस्था राम्रो रहेको अध्यक्ष बस्नेतको भनाई छ ।
संस्थाका सचिव राजन प्रसाद पराजुलीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत आर्थिक वर्षमा गरेका कार्यक्रमको बारेमा सभामा जानकारी दिए । संस्थाले गत आवमा तनाव व्यवस्थापन तालिम, सौन्दर्य तालिम, जेष्ठ सदस्य तिर्थाटन, कृषि बीउविजन विरतण जस्ता कार्यक्रम सञ्चालन गरेको उनले बताए । आर्थिक मन्दीका कारण सदस्यहरुको व्यापार व्यवसायमा आएको मन्दीलाई मध्यनजर गरेर संस्थाले ब्याजमा छुट दिएको उनले जनाए ।
आर्थिक वर्ष २०८०/८१को आर्थिक प्रतिवेदन कोषाध्यक्ष मिरा कुमारी भट्टराईले प्रस्तुत गरेकी थिइन् । संस्थामा गत असार मसान्तसम्म ४ हजार १५४ जना सदस्यबाट ९ करोड ११ लाख ९५ लाख शेयर पुँजी संकलन गरेको उनले बताइन् । संस्थाको जगेडा कोषमा ३ करोड, बचत संकलन ४४ करोड ९९ हजार र ऋण लगानी ५४ करोड ९१ लाख रहेको छ। संस्थाको कुल सम्पति ७१ करोड ८६ लाख पुगेको छ भने संस्थामा १९ प्रतिशत माथि तरलता रकम रहेको छ । संस्थाले गत आ.व.मा १ करोड ३१ लाख खुृद बचत गर्न सफल भएको छ ।
नेपालपत्र संवाददाता