शुक्रबार, कार्तिक ७ गते २०८३

कुटुम्ब सहकारीको साधारणसभा सम्पन्न, सहकारीको गुणलाई विर्सेर हल्लाका पछि नलाग्न अध्यक्ष पनेरूको आग्रह


आश्विन १३, २०८१ आइतबार
कुटुम्ब सहकारीको साधारणसभा सम्पन्न, सहकारीको गुणलाई विर्सेर हल्लाका पछि नलाग्न अध्यक्ष पनेरूको आग्रह

 

कुटुम्ब बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुदिप कुुमार खनालको अध्यक्षता एवं काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) का अध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । 

सभामा बोल्दै अध्यक्ष पनेरुले सहकारी र बैंकको बीचमा धेरै फरक भएको भन्दै बैंक नाफामुखी भएको र सहकारीले सदस्यको हरेक क्षेत्रमा जोडिएर सेवा दिने गरेको बताए । सहकारी अभियानले वृहत उदेश्य बोकेको भए पनि त्यसको महत्वलाई आम सदस्य माझ बुझाउन नसक्दा सहकारीप्रति गलत धारणा विकास भएको उनको भनाई छ । देशभर करिब ६ सय  सहकारी संस्था मात्रै समस्यामा परेको भन्दै उनले बाँकी सहकारीले उदेश्य अनुसार काम गर्दै अगाडि बढेकोे दावी गरे । 

सहकारीले समाजमा धेरै योगदान गरेको भए पनि त्यसको प्रचारप्रसारमा कमी भएको उनले बताए । घर परिवार र आफन्तले विश्वास नगरेको अवस्थामा पनि सहकारीले विश्वास गरेर ऋण सुविधा दिएको गुणलाई बिर्सेर हल्लाको पछि मात्र नलाग्न उनले सदस्यहरुलाई आग्रह गरे । सहकारीमा सबैले बचत झिकेर बैंक र फाइनान्समा लगेपछि सञ्चालक र व्यवस्थापकले चाहेर मात्र संस्था नटिक्ने उनले प्रष्ट पारे । संस्थामा गलत हुन आँटेको छ भने खबरदारी गर्नुपर्छ तर खबरदारीसँगसँगै जिम्मेवारी पुरा गर्न सदस्यहरु पनि लाग्नुपर्ने उनले बताए । 

सदस्यहरुले मासिक बचत नगर्ने र लगेको ऋणको साँवा ब्याज समय नतिर्दा समस्या आउने भएकाले सदस्यहरुलाई आफ्नो जिम्मेवारी पुरा गर्न उनले सुझाए । सहकारीमा ७० लाख मानिस आवद्ध भएको भन्दै पनेरुले राजनीतिक र धार्मिक संघ संस्थामा  पनि यति ठुलो जनसंख्या नजोडिएकाले यो क्षेत्रलाई बलियो बनाउनुको विकल्प नरहेको बताए ।  एउटा सहकारीमा समस्या आउँदा त्यसको प्रभाव सिंगो अभियानमा पर्ने भएकाले सहकारी संस्थालाई सुरक्षित र बलियो बनाएर लैजानुपर्ने अध्यक्ष पनेरुको भनाई छ ।

सभामा अध्यक्ष खनालले प्रतिवेदन प्रस्तुत गर्दै सहकारी सिद्धान्त अनुसार संस्था सञ्चालन भइ वित्तीय पहुँचबाट टाढा रहेका सदस्यहरुलाई एकिकृत गरी सेवा प्रदान गर्दै आएको बताए । समाजमा छरिएर रहेको ससानो पुँजीलाई बचतको माध्यमबाट एकीकृत गरी सदस्यहरुको वित्तीय आवश्यकता परिपूर्तिको साथै आर्थिक सामाजिक तथा साँस्कृतिक रुपान्तरणका लागि समुदायको भरपर्दो माध्यमका रुपमा संस्थाले काम गर्दै आएको उनले जनाए । 

संस्थाले सदस्यहरुलाई सहकारी शिक्षा तथा तालिम प्रदान गरी सहकारीका बारेमा सचेतना जगाउनुकासाथै सामाजिक उत्तरदायित्व बहन समेत गर्दै आएको खनालको भनाई छ । सदस्यहरुको माग र आवश्यकता अनुसार संस्थाले विभिन्न क्षेत्रमा ऋण प्रवाह गर्दै आएको उनले जानकारी दिए । 

सभामा कोषाध्यक्ष कृष्णप्रसाद गौतमले आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक मन्दीका बीचमा पनि संस्थाको समग्र सूचांकहरुमा सुधार भएको उल्लेख गरे । संस्थाले गत असार मसान्तसम्म शेयर पुँजी ६.२५ प्रतिशतले वृद्धि गरी १ करोड ६१ लाख ८३ हजार, बचत संकलन २७.६५ प्रतिशतले वृद्धि गरी ५ करोड ७० लाख ८७ हजार र ऋण लगानीमा ५ प्रतिशतले वृद्धि गरी ५ करोड ४६ लाख २४ हजार पु¥याएको सभामा उनले जानकारी दिए । संस्थाको जगेडा कोषमा ५४ लाख ४० हजार र अन्य कोषहरुमा १२ लाख १७ हजार रहेको छ । संस्थाले त्यस अवधिमा १० लाख ९१ हजार खुद बचत गर्न सफल भएको छ । संस्थाको कुल वासलात ८ करोड ४१ लाख ९१ हजार पुगेको छ ।