काठमाडौं । श्रीलंकामा हिजो सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायके प्रष्ट बहुमतकासाथ निर्वाचित भएका छन् । उनले ५३ प्रतिशत मतसहित अन्य सबै उम्मेदवार भन्दा अगाडि छन् । यद्यपि श्रीलंकाको निर्वाचन आयोगले विजयको औपचारिक घोषणा गर्न भने बाँकी नै छ । अनुरालाई आजै राष्ट्रपतिको शपथ ग्रहण गराइँदैछ । श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतगणना जारीरहेकाे छ ।
श्रीलंकाको निर्वाचन आयोगको तथ्यांक अनुसार १० लाख भोट गणना भइसक्दा दिसानायकेले ५० प्रतिशत मत पाएका छन् । राष्ट्रपति निर्वाचित हुन ५१ प्रतिशत मत ल्याए पुग्छ । दिसानायके नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनको उम्मेदवार हुन् । यो गठबन्धनमा उनको पिपुल्स लिवरेसन फ्रन्ट पार्टी (जेभीपी) पनि सामेल छ । दिसानायकेपछि साजिथ प्रेमदासाको पार्टी २० प्रतिशत मतसहित दोस्रो स्थानमा र वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे १८ प्रतिशत भोटसहित तेस्रो स्थानमा छन् । पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षेका छोरा नमल राजपाक्षेले केबल एक प्रतिशत मत पाएका छन् ।
यो श्रीलंकाको राष्ट्रपति पदका लागि सम्पन्न चुनावमा ३८ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । नयाँ राष्ट्रपति चयनका लागि हिजो शनिबार मतदान भएको थियो । बीबीसीका अनुसार यस निर्वाचनमा ७० प्रतिशत मतदान भएको छ । मतदान सकिएलगत्तै देशभर कर्फ्यु लगाइएको छ। मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भए पनि मतगणनाको क्रममा हुन सक्ने सम्भावित तनावलाई मध्यनजर गरी कर्फ्यु लगाइएको सरकारी अधिकारीहरुले बताएका छन्। आर्थिक अवस्था बिग्रिएपछि श्रीलंकामा दुई वर्ष अगाडि ठुलो विरोध प्रदर्शन भएको थियो । त्यसपछि पहिलो पटक नयाँ राष्ट्रपति चयनका लागि हिजो मतदान भएका हो।