शनिबार, कार्तिक ८ गते २०८३

ललितपुर बचत संघद्वारा सरोकारवालाबीच सहकारी बहस आयोजना


आश्विन ४, २०८१ शुक्रबार
ललितपुर बचत संघद्वारा सरोकारवालाबीच सहकारी बहस आयोजना

 

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ‘सहकारी बहस’ कार्यक्रमको सम्पन्न भएको छ । संघले ३१ औं स्थापना दिवसको अवसरका सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपाय खोज्ने उदेश्यका साथ सहकारी बहस कार्यक्रम आयोजना गरेको हो ।

जिल्लाको सहकारी अभियानलाई सबल  र सक्षम बनाउन समय समयमा विविध रचनात्मक कार्यक्रम गर्दै आएको संघले पछिल्लो समय सहकारी क्षेत्रमा समस्या बढेर गएपछि समस्या समाधानमा कसको भूमिका के हुने भनेर पहिल्याउन यो कार्यक्रम आयोजना गरेको जनाएको छ ।

संघका अध्यक्ष रामहरी बजगाई अध्यक्षतामा भएको बहस कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे उप–रजिष्ट्रार टोलराज उपाध्याय, बागमती प्रदेश सहकारी रजिष्ट्रार राजन पोखरेल, राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) का अध्यक्ष चन्द्र ढकालले सहभागीहरुका प्रश्नको जवाफ दिएका थिए । 

बहस कार्यक्रममा रजिष्ट्रार घिमिरेले सहकारीको मूल्यमान्यता र सिद्धान्तलाई आत्मसात गर्दै समुदाय र सदस्य केन्द्रीत भएर संस्था सञ्चालन गरे समस्या नआउने बताए । सहकारी स्वःनियमन र स्वःअनुशासनमा सञ्चालन हुने संस्था भएकाले सरकारले अन्य क्षेत्रमा जस्तो हस्तक्षेपकारी नियमन नगरेको उनको भनाई छ ।

नियम कानुन र सिद्धान्तविपरित संस्था सञ्चालन गरी सदस्यको बचत दुरुपयोग गर भनेर सरकारले संस्था दर्ता नगरेको उनले प्रष्ट पारे । सहकारी ऐन नियममा भएको व्यवस्था अनुसार नै संस्थाहरुको कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृत दिएको भन्दै घिमिरेले त्यसको आवश्यकता र औचित्यका विषयमा अध्ययन नहुनु भने कमजोरी भएको स्वीकार गरे । 

सहकारी ऐननियम र विधिमा चलेका सहकारी संस्था राम्रो रहेको भन्दै उनले सदस्यको बचत दुरुपयोग गर्ने छुट कसैलाई पनि नभएको बताए । गलत गर्ने संस्थालाई कानुन अनुसार कारवाही गरी जनताको बचत फिर्ता गराउन सरकार लागिराखेको सो अवसरमा उनले जनाए । सहकारी ऐनमा भएका कतिपय व्यवस्था तत्काल लागू गर्न सरकार लागि परेको जानकारी दिँदै घिमिरेले त्यसका लागि आवश्यक ऐन कानुनको मस्यौदा तयार भइसकेको बताए । 

बागमती प्रदेश सहकारी  रजिष्ट्रार राजन पोखरेलले बागमती प्रदेशमा रहेको सहकारी संस्थाको नियमन तथा प्रवद्र्धनमा आफुहरु लागिरहेको बताए । सहकारी संस्थाले दिएको प्रतिवेदन र अन्य कागजातलाई अभिलेख राख्नेका साथै सदस्यको बचत फिर्ता गर्न नसकेका सहकारी संस्थाका सञ्चालक र सदस्यहरुबीच छलफल गरेर समस्या समाधानको लागि निरन्तर कार्य गर्दै आएको उनले जानकारी दिए । 

460735479_8019871041468936_5470220580638963197_n.jpg

राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले अन्य ४६ वटा कानुनले सहकारी संस्थाहरुलाई उत्पादन र बजारीकरणमा जान रोक लगाएर बचत तथा कारोबारमा सीमित हुन परेको बताइन् । छिटोछिटो सरकार र कर्मचारी परिर्वतन भई रहँदा सहकारीको  समस्या समाधान गर्न र ऐन कार्यान्वयन गर्न समस्या भएको उनको भनाई छ । सहकारी ऐनमा व्यवस्था भएको कर्जा सुचना केन्द्र, ऋण असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष समयमा ल्याउन सकेको भए सहकारी क्षेत्रमा यति ठुलो समस्या नआउने उनको जिकिर थियो । सहकारीका समस्या समाधान गर्न महासंघले सरकारसँग निरन्तर लविइङ गर्दै आएको जानकारी दिँदै उनले छिटै नीतिगत बहस चलाउने जनाइन् । 

नेफ्स्कूनका अध्यक्ष चन्द्र ढकालले पोलिसी बनाउने र लागू गर्ने काम सरकारको भएको बताए । सहकारी ऐनमा व्यवस्था भएका कतिपय कुरा कार्यान्वयनमा आउन ढिलाई हुँदा पनि सहकारीम समस्या बढेको उनको भनाई छ । ऐनका व्यवस्थाहरु तत्काल लागू हुनेका आफु आशावादी रहेको भन्दै ढकालले सहकारी अभियानको समस्या समाधान हुने जनाए । 

ललितपुर जिल्ला बचत संघका अध्यक्ष बजगाईले संघको समग्र वित्तीय विवरणको जानकारी दिँदै संघले जिल्लाको सहकारी अभियानलाई सबल र गतिशील बनाउन विभिन्न तालिम तथा गोष्ठी गर्दै आएको बताए । संघको आफ्नै  भवन निर्माणका लागि जग्गा खरिद गरी प्रक्रिया अगाडि बढाएको र सदस्य संस्थालाई शुल्क र निःशुल्क तालिम समेत प्रदान गर्दै आएको अध्यक्ष बजगाईले बताए । संघले २४ वटा कार्यविधि निर्माण गरेको र कार्यविधिका आधारमा संघ सञ्चालन गर्दै आएको उनले  जनाए । 

संघमा आवद्ध संस्था मधये ४२ संस्था समस्याउन्मूख रहेको र समस्या समाधान गर्न संघले सहजीकरण गर्दै आएको छ । संघमा आवद्ध रहेका ५२१ संस्था मध्ये निस्कृय संस्थाको संख्या ४० रहेका र ती संस्थाको सदस्यता खारेज गरिएको जानकारी दिइयो । ५ बर्षे रणनीति योजना तयार गरेको र ९८ प्रतिशत योजना पुरा गर्न सफल भएको उनको भनाई छ । संघले जिल्लामा रहेका स्थानीय तहसँग सहकार्य गरेर सहकारी अभियानलाई सबल बनाउन लागिरहेको उनको भनाई छ । 

कार्यक्रममा जिल्लामा रहेका सहकारी संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।