बिश्वमा सैन्य रणनीति एउटा यस्तो योजना हो जसलाई युद्ध या संघर्षमा लक्ष प्राप्त गर्नका लागि तयार गर्ने गरिन्छ । यसमा बिभिन्न तत्वहरु सामेल हुन्छन् । जस्तो कि स्पष्ट र सटीक लक्ष निर्धारण,मानब संसाधान, प्राबिधिक र बित्तीय साधनको सही उपयोग, सम्बन्धित क्षेत्रको भौगोलिक स्थिति तथा आवश्यक संसाधनहरुको अध्ययन अनि दुश्मनको क्षमता र रणनीतिको सही आकलन आदि महत्वपूर्ण कुराहरु पर्दछन् भन्ने सैन्य रणनीतिका ज्ञाताहरु बताउँदछन् ।
यस प्रकारका महत्वपूर्ण लक्षका कुरामा इजरायलको गुप्तचार संस्था मोसाद अत्यन्तै स्पष्ट रहेको देखिन्छ भन्ने बिज्ञहरुको निष्कर्श छ । अनि त्यसले आफ्नो सैन्य लक्ष प्राप्त गर्नका लागि नयाँ नयाँ तरीकाहरुको बिकास र बिस्तार गर्दै आएको पनि देखिदै आएको उनीहरुको आकलन छ । हिज्बुल्लाको प्रभाव लेबनानमा धेरै नै सबल रहेको र त्यो इजरायलका लागि एउटा स्थाई सुरक्षा चिन्ताको बिषय मानिदै आएको हो । इजरायली गुप्तचर संस्था मोसादले यस समूहलाई कमजोर तुल्याउनका लागि अनेक प्रयासहरु पनि गर्दै आएको छ । अहिले पछिल्लो पटक इजरायलले हिज्बुल्लालाई समाप्त पार्नका लागि रेडियो, वाकीटकी, पेजर आदि जस्ता इलेक्ट्रोनिक डिभाइसेस(उपकरण)हरुलाई हतियारकोरुपमा उपयोग जस्तो प्रकारले गरेको छ र एकपछि अर्को बिस्फोट गराएर एउटा ब्यापक रणनीतिलाई सफल प्रयोग गरेको छ त्यो अत्यन्तै अकल्पनीय र अभूतपूर्ब रणनीति मानिदैछ । त्यसले मध्यपूर्बमा युद्ध र बर्बादीको तीब्रतालाई एउटा उच्चतम बिन्दूमा पुर्याइदिएको बिज्ञहरु उल्लेख गरिरहेका छन् ।वास्तबमा दक्षिणी लेबनान हिज्बुल्लाहरुको एउटा निकै महत्वपूर्ण ठेगाना हो । हिज्बुल्लाले त्यस क्षेत्रमा आफ्ना सैनिक तथा राजनीतिक प्रभावको बिस्तार गर्ने गर्दछ । त्यो रणनीतिक र भौगोलिकरुपमा पनि निकै नै महत्वपूर्ण क्षेत्र मानिन्छ ।
त्यो क्षेत्र इजरायलको सीमाना नजिक रहेको र कयौं प्रकारका ऐतिहासिक तथा राजनीतिक घटनाहरुको साक्षी पनि रहेको क्षेत्र हो ।
इजरायल र लेवनानका बीच सीमानाको नजिक रहेको त्यो क्षेत्र सुरक्षा र सैन्य गतिबिधिका लागि संबेदनशील क्षेत्र पनि मानिन्छ । इजरायलको उत्तरी सीमानासँग जोडिएको त्यो क्षेत्रले इरानका लागि रक्षा कबचकै जस्तो काम गर्दछ । इरानले हिज्बुल्लालाई एउटा महत्वपूर्ण मित्र मान्दछ जसबाट उसले आफ्नो राजनीतिक लक्ष प्राप्त गर्न सकिने ठान्दछ । इजरायल र पश्चिमा देशहरुका बिरुद्ध इरानले हिज्बुल्लालाई एउटा निकै महत्वपूर्ण भू–राजनीतिक अंगकोरुपमा उपयोग गर्दै आएको छ । त्यसबाट उसले क्षेत्रीय हितहरुलाई सुरक्षित राख्न सक्तछ । हिज्बुल्लालाबाट हुने हमलाको सामना गर्नका लागि इजरायल सधैं तयार रहने गर्दछ । तर अहिले गाजा संघर्षमा इजरायली सेना उल्झिएकाले गर्दा इजरायल हिज्बुल्लाको हमललाई लिएर निकै सशंकित देखिदै आएको थियो भन्ने सैन्य रणनीतिका ज्ञाताहरु उल्लेख गर्दछन् । बिशेषगरी तेहरानमा हमास नेता इस्माइल हानीयाको हत्या पछि इरानद्वारा बदला लिने धम्कीले इजरायलका चूनौतिहरु बढिरहेको बताइन्थ्यो । हिज्बुल्लामाथि बिभिन्न देश र संगठनहरुद्वारा प्रतिबन्ध लगाइएको छ, जसको मूख्य कारण त्यसका आतंकबादी गतिबिधि र इजरायलका बिरुद्ध हुने हमला बताइने गरेको छ । हिज्बुल्लासँग बिभिन्न श्रेणीका रकेट र प्रक्षेपास्त्रहरु छन् । त्यसमा कम तथा बढी दूरीसम्म मार हान्न सक्ने प्रक्षेपास्त्रहरु सामेल रहेको औंल्याइन्छ । ती इजरायलका बिभिन्न क्षेत्रलाई लक्षित गरेर उपयोग गरिने गरिन्छन् । हिज्बुल्लाले एण्टी–ट्यांक प्रक्षेपास्त्रको उपयोग गर्ने गर्दछ । उदाहरणका लागि ती कार्नेट तथा टार प्रक्षेपास्त्रहरु जो इजरायलका ट्यांक र बख्तबन्द बाहनहरुलाई नोक्सान पुर्याउन सक्षम रहेका छन् भनिन्छ ।

हिज्बुल्लासँग आधुनिक हतियार प्रणालीहरु छन् जसमा बख्तबन्द बाहन र तोपखाना सामेल छन् । यसका अतिरिक्त उससँग इन्फ्रारेड तथा इलेक्ट्रोनिक उपकरणहरु पनि छन् जसले तिनलाई निगरानी र गुप्तचरीमा सहयोग गर्दछन् । हिज्बुल्लाले पनि ड्रोन प्रबिधिको उपयोग गरेको छ । त्यसले उसलाई गोप्य जानकारी एकत्र गर्न र लक्षमा हमला गर्न अनुमति दिन्छ । ती हतियारका माध्यमले हिज्बुल्लाले इजरायल र अन्य बिरोधीहरुका बिरुद्ध आफ्नो सैन्य क्षमतालाई कायम राख्दछ । अहिले पछिल्लो पटक इजरायलले हिज्बुल्लाको सामना गर्न साइबर स्पेशको यस्तो तरीका अपनाएको छ जसका बारेमा संसरकै सबैभन्दा खतरनाक र आधुनिक हतियारले सुसज्जित यो आतंककारी मानिएको संगठनले कल्पना पनि गरेको थिएन होला । यो साइबर स्पेश यस्तो भर्चुृअल वाताबरण हो जहाँ इण्टरनेट, नेटवर्क र डिजिटल सञ्चार माध्यम हुनेगर्दछन् । त्यसमा डेटा, सूचना र सेवाहरु सामेल हुन्छन् । अनि जसले उपयोगकर्तालाई परस्परमा जोड्दछन् । डिजिटल सञ्चारको माध्यमले बिश्वको कुनै पनि कुनाका मानिसहरुसँग जोडिन सकिने हुन्छ । सञ्चार माध्यहरुमा ईमेल, सामाजिक सञ्चारमाध्यम(सोशल मिडिया) , सेजिङ्ग एप्स र भिडियो कलिङ्ग प्लेटफर्म सामेल रहेका हुन्छन् ।साइबर स्पेशमा डीडांन्स हमला या डिट्रिब्युटेड डेनियल अफ सर्भिसका हमलाप्रति सुरक्षा एजेन्सीहरु सतर्क रहने गर्दछन् । किनभने यसबाट नेटवर्कलाई ओभरलोड गरेर सेवा प्रबाहलाई ठप्प पार्ने खतरा रहेको हुन्छ । के मानिदैछ भने अहिले मोसादले ओभरलोडलाई बिस्फोटको उच्च स्तरसम्म पुर्याएर हिज्बुल्लालाई चोटिलो प्रहार गर्न सफल भयो ।
त्यो हिज्बुल्ला जस्तै इरानको प्रोक्सी सेनाहरु पनि मूख्यरुपले मध्यपूर्बमा बिभिन्न समूह र संगठनहरुको माध्यमबाट आफ्नो प्रभावकारिता बढाउदछन् । फतह–अल–शाम सीरियामा इरान बिरोधी सुन्नी बिद्रोहीहरुका बिरुद्ध लडाईमा सक्रिय रहेको छ । अर्को अग्लीबिस्स इराकमा शिया मिलिशिया समूह रहेको छ जो इरानबाट समर्थित छ र आईएस बिरुद्धको लडाईमा भाग लिन्छ । हूती यमनमा सक्रिय छ, त्यसले शिया बिद्रोही इरानबाट समर्थन प्राप्त गर्दछ अनि साऊदी अरबका बिरुद्ध लडाई गर्दछ । हिज्बुल्लाको मूख्य ठेगाना लेबनानमा छ, जहाँबाट यसले इजरायलको उत्तरी क्षेत्रमा रकेट र प्रक्षेपास्त्रले हमला गर्ने गर्दछ । हिज्बुल्लाले सटीक निर्देशित प्रक्षेपास्त्रको बिकास गरेको छ जसले इजरायलका महत्वपूर्ण संरचनाहरु जस्तो कि हवाई अड्डा, सैनिक ठेगानाहरु र नागरिक लक्षहरुलाई तारो बनाउन सक्छ ।
अर्कातिर मोसादले यस्ता प्रबिधि सम्बन्धि साधनहरु र जासुसी सूचनाहरको उपयोग गरेर दुश्मनका गतिबिधिहरुको निगरानी गर्ने गर्दछ ।त्यस्ता गतिबिधिहरुको लक्ष इजरायलको सुरक्षा सुनिश्चित गर्नु र दुश्मनको प्रभावलाई कम गर्नु हो भनिन्छ ।
बिद्युतीय उपकरण(इलेक्ट्रोनिक डिभाइसेस)हरुको उपयोग बिभिन्न तरीकाले गर्न सकिन्छ । अहिलेसम्म के मानिन्थ्यो भने साइबर हमला डिजिटल प्रणाली या नेटवर्कमाथि लक्षित हुने गर्दछन् तथा सुरक्षित सञ्चारका लागि एन्क्रिप्टेड एप्स र अन्य बिधिहरुको उपयोग गर्न सक्छन् । कतिपय बिद्युतीय उपकरणहरुको उपयोग बिस्फोटक उपकरणहरु बनाउने र नियन्त्रित गर्नका लागि पनि गर्न सकिन्छ भन्ने बिज्ञहरु बताउँदछन् । इजरायली जासुसी संस्था मोसादलाई यसरी नै नयाँ प्रबिधिको उपयोग गरेर गुप्तचरी संग्रह तथा बिश्लेषणमा अग्रणी मानिन्छ । जसमा ड्रोन, स्याटलाईट इमेजिङ्ग र साईबर जासुसी सामेल छन् ।यसरी साइबर युद्ध ध्वंसकारी र खतरनाक हुन सक्ने स्थिति ब्याप्त छ ।