आइतबार, आश्विन १८ गते २०८३

नेकपा स्थापना दिबस बिशेष कार्यक्रमकासाथ सम्पन्न


आश्विन १, २०८१ मंगलबार
नेकपा स्थापना दिबस बिशेष कार्यक्रमकासाथ सम्पन्न
 लहान । नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापना दिवस १५ सेप्टेम्बरलाई बिशेष कार्यक्रमकासाथ सिरहाको लहानमा  मनाएको छ । पार्टी स्थापना भएको ७५ बर्ष पुगेको अबसरमा हीरोकोत्सवको रुपमा मनाइएको यो पार्टी दिवसका बेला कमरेड पुष्पलालको जन्म शत बार्षिकी र महान लेनिनको स्मृति शत बार्षिकी समेत परेको बिशेष ऐतिहासिक घडीमा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस यहाँ सम्पन्न भएको हो । यस क्रममा आयोजित बिशेष समारोहमा बक्ताहरुले नेपालमा यस दिनले नेपाली जनता र देशमाथि युगौंदेखि भइरहेको बर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्त पारेर  एउटा नयाँ, समानतामा आधारित सुन्दर भबिष्यको यात्रातर्फ नेपालको इतिहासलाई   मोडेको र त्यसको निम्ति नेपाली शोषित पीडित जनताको संघर्ष जारी रहेको यथार्थ औंल्याउदे यसलाई कामरेड पुष्पलालले मार्गदर्शन गरेको नयाँ जनबादी क्रान्ति सम्पन्न गर्दै बैज्ञानिक समाजबादको चरणमा प्रबेश गर्नु पर्ने आजको राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यभार रहेको यथार्थमा बिशेष जोड दिनु भएको थियो ।
Bhasanlahan.jpg
देशको कम्युनिष्ट आन्दोलनले हिजोदेखिनै बिभिन्न आवारणमा देखापरेका संशोधनबादी, नबसंशोधनबादी र पलायनबादीहरुको  प्रहार झेल्नु परेको र तिनलाई चिर्दै र यो आन्दोलनको रक्षा र बिकास गर्दै कमरेड पुष्पलालले सही दृष्टिकोण बिचार, सिद्धान्त र नीतिका आधारमा यस आन्दोलनलाई नेपाली शोषित पीडित जनता र राष्ट्रको हितमा अचूकरुपमा अघि बढाउन आजीवन अथक प्रयत्न गर्नुभएको औंल्याइएको थियो । उहाँले मार्गदर्शन गरेको त्यो बाटो छोड्दा देशको कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भएको र कहिले दक्षिणपन्थी त कहिले उग्रबामपन्थी बाटोमा भड्किएर क्षति पुगेको सार खिच्दै क.पुष्षलालले दिशाबाेध गराएकाे त्यही मूलबाटोबाट बर्तमान सन्दर्भमा पनि अघि बढे मात्र आज पनि देश र जनताले सही निकास पाउने महत्वपूर्ण निचोड बक्ताहरुले निकाल्नु भएको थियो ।
Adiunce.jpg
  ‘पार्टी स्थापनाको हीरकोत्सव  १५ सेप्टेम्बरलाई अभिबादन, देशलाई परनिर्भरताबाट मुक्त गर्न यूवा शक्ति परिचालन’ भन्ने मूलनाराकास साथ कमरेड पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिको तत्वाबधानमा आयोजित यस ऐतिहासिक समारोहमा अध्यक्षको आसनबाट बोल्नुहुँदै क.पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य सचिव तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष क. लोकनारायण सुबेदीले भन्नु भयो — यस महत्वपूर्ण घडीमा सर्बप्रथमतः बीर शहीदहरुलाई लाल सलाम, कमरेड पुष्पलाललाई उच्च सम्मानका साथ अभिबादन तथा कार्यक्रमका उपस्थित सम्पूर्ण क्रान्तिकारी कमरेडहरुलाई अभिनन्दन गर्दै नेपाली जनता र राष्ट्रका जुन मूख्य तीन वटा समस्या – सामन्तबाद, भारतीय एकाधिकार पूँजीवाद र साम्राज्यबादबाट नेपाललाई मुक्त गर्ने र नयाँ जनबादी क्रान्तिको मूलबाटो हुँदै बैज्ञानिक समाजबाद पदार्पण गर्ने प्रष्ट उदेश्यकासाथ माक्र्सबाद, लेनिनबाद र माओ बिचारधारका आधारमा यो कम्युनिष्ट पार्टी क.पुष्पलालले स्थापना भएको र अघि बढाउनु भएको  हो । ती समस्या आज पनि हल भएका छैनन् बरु भिन्नरुपमा अझ बढी जटील र पेचिलो बनेर खडा भएका छन् । तिनको समाधान बिना देश बर्गीय शोषण र सामाजिक उत्पीडन तथा बाह्य हस्तक्षेपबाट मुक्त हुन सक्तैन । त्यसैले सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट शक्तिहरु क.पुष्पलालको बिचार र नीतिको वरिपरी गोलबन्द हुनुको अहिले पनि कुनै बिकल्प छैन । 
Abhibadan15 sept.jpg
पार्टी दिवस बारे ३ दशक पछि फैलाइएको  भ्रम योजनाबद्ध किसिमले कमरेड पुष्पलाल र सिंगो कम्युनिष्ट  पार्टीका आधिकारिक र संस्थागत दस्ताबेजहरुका बिरुद्धको भ्रम हो भन्नु हुदै उहाले त्यो अहिलेसम्म पनि जारी छ । यो कसैले आयोग गठन गरेर या बहुमतको आधारमा तय गरिने कुरा पनि थिएन र होइन भन्ने कुरा प्रष्ट पार्नु भयो । 
कार्यक्रममा बोल्नु हुँदै क. पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष क. भिमप्रसाद सेढाईले भन्नु भयो – पार्टी पहिलो सम्मेलनदेखि नै पुष्पलाललाई पार्टी भित्र पार्टी बाहिर चौतर्फी घेराबन्दी र आधारहीन प्रायोजित आरोप लगाएर समाप्त पार्न खोजे पनि सही सिद्धान्तमा आजीवन अडिग सत्यनिष्ठ पुष्पलालको नीति नै सही ठहरियो । देहाबसान भएका पुष्पलालकै बिचारले निर्बिकल्प भनिएको सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्था २०३६ सालमा संयुक्त बिद्यार्थी आन्दोलनले जनमत संग्रहको कठघरामा उभ्भियो भने २०४६ सालको संयुक्त राजनीतिक आन्दोलनले राजको नेतृत्वको त्यो निर्बिकल्प भनिएको निर्दलीय पञ्चायत  ढल्यो र बहुदल आयो अनि २०६२/६३ को बृहत संयुक्त आन्दोलनले राजतन्त्रकै अन्त्य ग¥यो । यसरी यसरी ‘मरेका पुष्पलालको बिचारले जिउदो राजतन्त्रलाई ढाल्यो’ । नेपालको जन आन्दोलन र बिशेष गरी कम्युनिष्ट आन्दोलनको बस्तुगत आधारमा बिश्लेषण गर्न चाहने जो कोही पनि यही निष्कर्शमा पुग्दछ । कसैले हो हल्ला गरेको भिड थुपारेकाे  भरमा यो इतिहास सिद्ध तथ्य सधैं भ्रममा रहिरहँदैन । त्यसैले यो सत्यलाई पक्रौं र सही बाटोमा अघि बढौ भन्ने उहाले बिशेष आग्रह गर्नु भयो ।
padyatra.jpeg
यस ऐतिहासिक कार्यक्रमा उपस्थित सबै कमरेडहरुलाई हार्दिक स्वागत अभिबादन गर्दै २०३६ सालको संयुक्त बिद्यार्थी आन्दोलनका अग्रज नेता, क. पुष्पलाल जन्म शत बर्षिकी राष्ट्रिय समारोह समितिका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव क. शरणबिक्रम मल्लले भन्नु भयो – आफ्नो युवा अबस्थादेखि नै मृत्यु पर्यन्त अडिगरुपमा देश र शोषित पीडित नेपाली जनताको मुक्ति र प्रगतिका निम्ति अबिछिन्नरुपमा समर्पित महान नेता कमरेड पुष्पलालका हामी अनुयायीहरुले आज सहीबाटोमा नलाग्ने हो भने देश र जनताको अस्तित्व नै खतरामा पर्ने स्थिति बिकसित भएको छ । नेपाली जनताले संयुक्तरुपमा लडेर ल्याएको आंशिक परिबर्तनलाई पनि आज सत्तामा पुगेका एक पछि अर्को दलले भष्टाचार लगायत चौतर्फी  बिकृति र बिसंगतिको डंगुर थुपारेर ती जनताका आन्दोलनहरुकै बेइजजति गरे ।शहीदहरुको बलिदानको अपमान गरे र प्रतिकृयाबादी शक्तिहरुकै गलत  बाटोमा लाग्ने होडबाजी चलाउदै नयाँ नयाँ किसिमले शोषण र उत्पीडन गर्न लागे । जसले आज चारैतिर ठूलाे असन्तुष्टी ब्याप्त भएको छ । यस गम्भीर स्थितिमा देशका यूवाहरुलाई श्रमसंग जोड्दै उत्पादन संघर्ष र बर्ग संघर्षको मूलबाटोमा यूबा शक्तिलाई परिचालन गर्न अनिबार्य र अपरिहार्य बन्न गएको छ । यस दिशातर्फ लाग्न सबै सच्चा क्रान्तिकारी, जनबादी र राष्ट्रप्रेमी शक्तिहरु एक जुट हुुनुको कुनै बिकल्प छैन । इतिहासले पटक पटक सिद्ध गरेको संयुक्त आन्दोलनको सही बाटोमा अग्रसर होऔं र यो देशको काया पलट गर्ने सिद्धान्तनिष्ठ क्रान्तिकारी यूवा शक्तिको निर्माण गरौ र सही बाटोमा दृढताकासाथ अघि बढौं  भन्नु भयो ।
 
 कार्यक्रममा क. पुष्पलाल जन्म शत बर्षिकी राष्ट्रिय समारोह समितिका सदस्य तथा सचिवद्वय क.महेन्द्र जोशी र क. रामदुलार महतोले पनि देशको कम्युनिष्ट आन्दोलनलाई सही धारमा अघि बढाउन क. पुष्पलालको मूल बाटो नपक्री सुख छैन । बिदेशी हस्तक्षेप निम्त्याउने एमसीसी एसपीपी जस्ता राष्टघाी सम्झौता गर्ने, बिदेशीको गुलामी गर्ने कोही पनि कहिल्यै क्रान्तिकारी कम्युनिष्ट हुुन सक्तैन । यी कुरा बुझेर  यसै दिशामा हामीले आफुलाई निरन्तर क्रियाशील गराएर मात्र जनतालाई अझ बढी सचेत, संगठित र संघर्षशील तुल्याउदै अघि बढ्न सकिने धारणा राख्नु भयो । 
Corner meeting.jpeg
अतिथि बक्ताको आसनबाट बोल्नु हुँदै राष्ट्रिय क्रान्तिकारी मोर्चाका मधेश प्रदेशका संयोजक इश्वरराज ढुंगेलले सच्चा क्रान्तिकारी शक्तिहरु एकजुट नभै देश र जनतका समस्या समाधान हुन सक्तैनन् भनेर नै नेपाल कम्युनिष्ट पार्टी समेत बिभिन्न कम्युनिष्ट घटकहरु मिलेर हामी यति बेला एउटै मोर्चाबाट क्रियाशील हुन खोजिरहेका छौं । यसरी नै सबै क्रान्तिकारी शक्तिहरू एकजुट भएर अघि बढ्न सकेमा कमरेड पुष्पलालले देखेको आमूल परिबर्तनको सपना पूरा हुने बिश्वास ब्यक्त गर्दै पार्टी दिवसलाई शुभकामना दिनुभयो ।
 
कार्यक्रममा क. पुष्पलाल शत बार्षिकी राष्ट्रिय समारोह समतिका सदस्य तथा केन्द्रिय सचिवालय सदस्य क. नरेन्द्र बहादुर तण्डुकार तथा समारोह समितिका सदस्य एबं नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय समितिका यूवा कमरेडहरु रोहित कोइराला, सन्देश भटराई, सुशिल ढुगाना र सप्तरी जिल्ला सचिव, राष्ट्रिय क्रान्तिकारी मोर्चाका मधेश प्रदेशका सदस्य एबं अखिल नेपाल किसान यूनियनका केन्द्रिय सदस्य क. ठाकुर खपाङ्गीले समेत संक्षिप्तरुपमा बोल्नु हुँदै कम्युनिष्ट आन्दोलनलाई सही ढंगले अघि बढाउन प्रष्ट कार्यनीति र ठोस योजनासाथ क्रियाशील हुनुपर्ने र पार्टीलाई अनुशासित ढंगले अघि बढाउन पर्ने  कुरामा जोड दिनु भएको थियो । 
 
कमरेड पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य क. भीमकुमार बान्तबाले प्रभावकारीरुपमा सञ्चालन गर्नु भएको कार्यक्रममा उहाँले अब देशको कम्युनिष्ट आन्दोलनलाई सही दिशामा पुनः अघि बढाउन क. पुष्पलालको बाटो पक्रिन, यूवाहरुलाई जगाउन र अघि बढाउन बिशेष आर्थिक तथा राजनीतिक कार्यक्रमकासाथ अग्रसर गराउन आवश्यक छ भन्ने कुरा राख्नु भएको र त्यसका लागि संकल्पबद्ध हुन आजको दिनले प्रेरण देओस् भन्नु भएको थियो ।
Manch15sept.jpeg
 कार्यक्रमको शुरुमा तीन मिनेटसम्म् कम्युनिष्ट अन्तर्राष्ट्रिय गीत बजाउँदै र  पार्टीका झण्डाहरु पहराउँदै सामन्तबाद तथा साम्राज्यबाद बिरुद्ध लड्दा शहादत प्राप्त गर्नु भएका सम्पूर्ण   ज्ञात अज्ञात महान शहीदहरु तथा नेपाली शोषित पीडित जनताको मुक्तिका लागि अबिश्रान्त लड्न बाटो देखाउने र मृत्यु पर्यन्त लड्ने महान मार्क्सबादी नेता कमरेड पुष्पलालप्रति उच्च  सम्मान प्रकट गरिएको थियो ।
यस कार्यक्रमकै बीचमा नारा जुलुशका साथ कमरेड पुष्पलालको सम्मानमा पद यात्रा तथा पर्चा बितरण कार्यक्रम गर्दै लहान नगरपालिका परिक्रमा गर्नुका साथै मूल चोकमा संक्षिप्त कोण सभा पनि गरिएको थियो ।
padyatra3.jpg
पद यात्रा तथा पर्चा बिचतरण कार्यक्रमपछि  पार्टीका केन्द्रिय सदस्य तथा क. पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य क. शुकदेब चौधरीले जनतलाई सचेत पर्ने  प्रगतिशील गीत सुनाउनु भएको थियो ।
jhanda pharaudai.jpg
कार्यक्रममा कमरेड पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका सदस्यका साथै नेपाल कम्युनिष्ट पार्टीका  केन्द्रिय सचिवालय सदस्यहरु, केन्द्रिय समितिका सदस्यहरु तथा राष्ट्रिय परिषदका सदस्य एबं जिल्ला कमिटिका सदस्यहरुको उपस्थिति रहेको थियो ।