शुभप्रवा सेभिङ एण्ड क्रेडिट अपरेटिभ लि.को १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विदुर बस्नेतको सभापतित्व एवं पूर्व अर्थमन्त्री रामशरण महतको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा मन्तब्य राख्दै अध्यक्ष बस्नेतले कोभिड १९ महामारीको बीचमा पनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरी आफ्ना सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराएको र यसबाट सदस्यहरुको आर्थिक खरखाँचो टार्न केहि सहज भएको बताए ।
संस्थाले सेवालाई आधुनिक एवं प्रविधिमैत्री बनाउँदै लगेको, मोबाइल बैंकिङ, एटिएम, क्यूआर कोड, रकम ट्रान्सफर जस्ता सुविधा सदस्यहरुमाझ ल्याएको उनले जानकारी दिए । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत गौतम बुद्ध रंगशाला निर्माण, राष्ट्रिय आविष्कार केन्द्र, हर्ट फाउण्डेशन र का. म.न.पा. वडा नं ७ लाई कोभिड नियन्त्रण रोकथामका लागि आर्थिक सहयोग गरेको उनले उल्लेख गरे ।

संस्थाका प्रमुख कार्यकारी निर्देशक फणिन्द्र कुमार खड्काले आ. व. २०७७/७८ को आर्थिक प्रतिवेदन पेश गर्दै असार मसान्तसम्म शेयरपुँजी ७ करोड ४३ लाख ८३ हजार, बचत ५९ करोड ७६ लाख ९६ हजार, ऋण लगानी ५५ करोड गरी सञ्चालन मुनाफा १ करोड २९ लाख ५८ हजार गरेको जानकारी दिए । संस्थाको कुल कारोबार ७५ करोड ७९ लाख २९ लाख पुगेको छ । संस्थाले कोभिड १९ महामारकिा समग्र वित्तीय सूचकांकहरुमा उल्लेख्य प्रगति गर्न सकेको जनाएको छ ।
संस्थाले चुच्चेपाटीमा संस्थाको प्रधान कार्यालय बनाउन जग्गा खरिद गरेको छ । संस्थाले यस आ.व.मा शेयरपुँजी ८ करोड बचत ८५ करोड र ऋण लगानी ८० करोड पु¥याउने लक्ष्य राखेको छ । संस्थाले विभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सम्झौता गरी सदस्यहरुलाई आन्तरिक र बाह्य विप्रेषण सेवा प्रदान गरिरहेको छ ।