आश्रय बहुउद्देश्यीय सहकारी संस्थाको १३औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । संस्थाको आफ्नै भवनमा शनिवार समापन भएको सभाले प्रेमकृष्ण मानन्धरको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति तथा विमल श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्ष बिश्व कल्याण बड्गामी र सदस्यहरुमा रमेश ध्वज बस्नेत, शान्त श्री रत्न बज्राचार्य, बिजयलाल श्रेष्ठ, किरण रत्न शाक्य र सोनी बज्राचार्य रहेका छन् । त्यसैगरी लेखा समिति सदस्यहरुमा शुर्बण लाल प्रधान र प्रबिण बहादुर सिंह रहेका छन् ।
यस अघि सभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष मानन्धरले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको कारण नै जनस्वास्थ्य, आर्थिक, सामाजिक,रुपमा नकारात्मक असर पारेको, कोरोना माहामारीको कारण सरकारले जनस्वास्थ्यलाई मध्यनजर गरेर लकडाउन गरेको कारण व्यापार व्यवसाय ठप्प भई समग्र वित्तिय प्रणालीमा असर देखिएको उल्लेख गरे । वित्तीय संघसंस्थाहरुमा त्यसको प्रत्यक्ष असर ऋण लगानी तथा असुली एवं ऋणको ब्याज असुलीमा परेकोले वित्तीय सूचकांक उपलब्धी हासिल गर्न नसकिने अवस्थामा भएपनि कुल सम्पत्तिको वृद्धि लक्ष्य हासिल भएकोले शेयर लाभांश ५ प्रतिशतका दरले प्रदान गर्न सकेको उनले जनाए । यसै आर्थिक वर्षमा संस्थाले आफ्नै नाममा आफनै श्रोतमा भवन खरिद गरेको उनले उल्लेख गरे ।
गत आवकाे असार मसान्तसम्ममा संस्थाको शेयर पूँजी रु २ करोड ६५ लाख ३३ हजार, जगेडा तथा अन्य कोष १ करोड ३८ हजार, बचत संकलन २४ करोड ३२ लाख ७२ हजार, वित्तीय लगानी २ करोड ९ लाख २० २० हजार, त्यसैगरी ऋण लगानी १५ करोड ३० लाख ८७ हजार रहेको छ । संस्थाको स्थिर सम्पति रु. ६ करोड ५३ लाख ७४ हजार समेत कुल सम्पति २९ करोड ८९ लाख १७ हजार रहेको छ ।
