शुक्रबार, कार्तिक ७ गते २०८३

अध्ययनमा सघाउन बृहत् छात्रवृत्ति प्रदान गर्दै सहकारी संस्था, एसईई सम्मान धेरैको प्राथमिकता


भाद्र १७, २०८१ सोमबार
अध्ययनमा सघाउन बृहत् छात्रवृत्ति प्रदान गर्दै सहकारी संस्था, एसईई सम्मान धेरैको प्राथमिकता

सदस्यका छोराछोरीको पढाईमा सघाउ पु¥याउने उदेश्यले कतिपय सहकारी संस्थाले छात्रवृत्ति प्रदान गर्दै आएका छन् । आर्थिक अवस्था कम्जोर भएका र जेहेन्दार छात्रछात्राको पढाईलाई केहि मात्रामा भए पनि टेवा पुगोस् भन्ने उदेश्यले सहकारी संस्थाहरुलेले छात्रवृत्ति प्रदान गर्ने गरेका छन् । संस्थाहरुले स्थापना दिवस तथा वार्षिक साधारण सभाको अवसर पारेर विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् । 

सहकारीले सदस्यको बचत अपचलन गरेको खबर बजारमा चलिरहँदा समुदायमा आधारित संस्थाहरुले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यस्ता थुप्रै गतिविधि गर्ने गरेका छन् । शहरमा खुलेका केहि सहकारीका सञ्चालकले सदस्यहरुको बचत फिर्ता गर्न नसक्दा सहकारी नै गलत हो कि भन्ने अवस्था सिर्जना भएका बेला राम्रा संस्थाहरुले गरेको यस्ता गतिविधिले सहकारीको महत्वलाई थप उजागर गरेको छ । सहकारीले बचत तथा ऋणको कारोबारसँगै उमेर समुह अनुसार सदस्यहरुलाई सेवा प्रदान गर्दै आएका छन् । सदस्यको उमेर समुह र आवश्यकताको आधारमा समुदायमा आधारित सहकारी संस्थाले अनेकन् सेवा दिएर सदस्यहरुलाई सन्तुष्ट बनाउँदै आएका छन् । 

यसै क्रममा दोलखाका केही उत्कृष्ट सहकारी संस्थाले आफ्नो साधारण सभाको अवसरमा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने सूचना जारी गरेका छन् । दोलखाको मैनपोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन सहकारी र जनमुखी सहकारी संस्थाले सदस्यका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्र्ने भन्दै सूचना जारी गरेका छन् ।

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले विद्यायल तहदेखि क्याम्पससम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । संस्थाले आर्थिक आर्थिक  २०८१/८२ को वार्षिक कार्यक्रमअनुसार अघिल्लो आर्थिक बर्षको असार मसान्तसम्म संस्थामा आवद्ध भई नियमित बचत तथा ऋणको कारोबार गरेका शेयरसदस्य वा बाल बचतकर्ताहरु मध्येबाट सामुदायिक विद्यालयमा अध्ययन गरिरहेकाहरुलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।

संस्थाका अनुसार आधारभूत, माध्यमिक र क्याम्पस तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई विद्यालय तथा क्याम्पसको सिफारिसको आधारमा छात्रवृति प्रदान गरिने छ । त्यसका लागि विद्यालय तथा क्याम्पसहरुले पछिल्लो बर्षको लब्धाङ्क पत्रका साथै विद्यार्थीहरुलाई सिफारिस गरी पठाउनु पर्नेछ । संस्थाले आधारभूत तहका ५० जना, माध्यमिक तह कक्षा ९ र १० का ३० जना,  कक्षा ११ र १२ का २० जना र क्याम्पस तहका ५ जना गरी १ सय ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । संस्थाले हरेक बर्ष छात्रवृत्ति प्रदान गर्दै आएको छ । 

त्यसैगरी दोलखाको मैनापोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले पनि सदस्यका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । संस्थाको आर्थिक वर्ष २०८१/÷८२ को वार्षिक कार्यक्रम अनुसार गत असार मसान्तसम्म संस्थाको सदस्य बनेका र कार्यक्षेत्र भित्रका सामुदायिक विद्यालयमा अध्ययन गरी रहेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ। संस्थाले सामुदायिक विद्यालयका आधारभूत, मावि र क्याम्पस तहका एक एक जना जेहेन्दार विद्यार्थीलाई सिफारिस गर्न विद्यायलय तथा कलेजहरुलाई आव्हान गरेको छ। संस्थाले आधारभूत तहका ५० जनालाई जनही दुई हजार, माध्यमिक तहका कक्षा ९ र १० का ३० जनालाई जनही ३ हजार, कक्षा ११ र १२ का ३० जनालाई जनही ५ हजार तथा स्नातक तहमा  अध्ययनरत २० जनालाई जनही ६ हजारका दरले छात्रवृत्ति प्रदान गर्ने भएको छ । संस्थाले हरेक बर्ष नै छात्रवृति प्रदान गर्दै आएको जनाएको छ । दोलखाका दुई सहकारी संस्थाले मात्र होईन, अन्य विभिन्न जिल्लामा रहेको सहकारी संस्थाले सदस्यका छोराछोरीको अध्ययनलाई सहज बनाउन छात्रवृत्ति प्रदान गर्नुका साथै उच्च शिक्षाका लागि सस्तो ब्याजदरमा ऋण प्रवाह गर्दै आएका छन् ।

एसईई सम्मानमा अधिकांश संस्थाकाे प्राथमिकता

सहकारी संस्थाले हरेक बर्ष एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई समेत शैक्षिक सम्मान प्रदान गर्दै आएका छन् । प्रायजसो संस्थाहरुले सदस्यका छोराछोरी मध्ये एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउनेहरुलाई नगद सहित प्रमाणपत्रले सम्मान गर्ने गरेका छन् । संस्थाहरुले  साधारण सभाको अवसर पारेर उक्त सम्मान प्रदान गर्दै आएका छन् ।

दोलखाको जिरीमा रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले फ्रेण्डसिप शैक्षिक सम्मान कार्यक्रम गर्दै आएको छ । संस्थाले यस बर्ष पनि उक्त सम्मान कार्यक्रम गर्ने र त्यसका लागि २०८१ सालको एसईई  र  कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने बाल बचतकर्ता तथा शेयर सदस्य भाइबहिनीहरुलाई आवेदन माग गरेको छ। सम्मान कार्यक्रमा ३ दशमलव २ जिपीए वा सोभन्दा बढी अंक ल्याएका विद्यार्थीहरु सहभागि हुन पाउनेछन् । 

त्यसैगरी काभ्रेमा रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले पनि सदस्यका छोराछोरी मध्ये उत्कृष्ट अंक ल्याउनेलाई एसईई सम्मान गर्ने भएको छ । संस्थाले सूचना प्रकाशित गरेर २०८० सालको एसईईमा उतकृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरीलाई सम्मान गर्ने जनाएको छ । संस्थाले त्यसका लागि एसईई ग्रेडसिटको प्रतिलिपि, चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ताको प्रतिलिपी र अभिभावकको शेयर प्रमाणपत्रको प्रतिलिपि माग गरेको छ । 

काभ्रेकै बनेपामा मुख्य कार्यालय रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले पनि एसईई सम्मान तथा ज्योति सैजु स्मृति छात्रवृत्तिका लागि नाम दर्ता गर्न भनेको छ । संस्थाले २०८० को एसईई परिक्षामा सहभागि भई उत्कृष्ट अंक ल्याउन सफल बालबचतकर्ता मध्येबाट ३२औं साधारण सभामा सम्मान तथा ज्योति सैंजु स्मृति एसईई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । 

सहकारी संस्थाहरुले सदस्यका छोराछोरी र बालबचतकर्ताले प्राप्त गरेको शैक्षिक उपलब्धीको सम्मान गर्दै प्रदान गर्ने पुरस्कार र छात्रवृत्तिले उनीहरुमा हौसला प्रदान गर्नुका सार्थै भविष्यमा समेत असल कार्य गर्न प्रोत्साहन पुग्ने अपेक्षा संस्थाहरुको रहेको छ । साथै यसले बालबालिकाहरुलाई सहकारीमा आवद्ध भएर ससानो रकम बचत गर्न समेत अभिप्रेरित गर्नुका साथै सहकारीको महत्व बुझ्न समेत सघाउँछ ।