सहकारी संस्थाहरुमा तरलताको अवस्था सहज बन्दै गएपछि कतिपय संस्थाले एकल अंकको ब्याजदरमा सदस्यहरुलाई ऋण दिन थालेका छन् । वितेको केही बर्ष तरलता अभाव लगायतका अनेकन समस्या झेलेका सहकारी संस्थाहरुले अहिले सदस्यहरुलाई सस्तो ब्याजदरमा ऋण लगानी गर्ने स्किम ल्याएका छन् । सदस्यहरुको आय आर्जन वृद्धि गर्ने क्षेत्रमा संस्थाहरुले ऋण लगानी गर्ने बताएका छन् । लामो समय मुलुकमा आएको आर्थिक मन्दी र सदस्यहरुमा सहकारीप्रतिको अविश्वास बढेका कारण तरलता व्यवस्थापनमा केन्द्रीत रहेका सहकारीहरु अवस्था सहज बन्दै गएपछि एकल अंकमा ऋण प्रवाह गर्न सक्ने अवस्थाम पुगेका हुन् । अहिले बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेका कारण निक्षेपको ब्याजदर क्रमश घटाउँदै लगेका छन् भने लगानीको लागि उपयुुक्त वातावरण नभएको भन्दै उद्यमी व्यवसायीले ऋण माग समेत गरेका छैनन् । जसकारण वित्तीय प्रणालीमा अधिक तरलता रहेको छ ।
अर्कोतर्फ समुदाय र सदस्य केन्द्रीत भएर वित्तीय कारोबार गर्दै आएका सहकारी संस्थाहरुमा पनि तरलता बढेर गएको छ । वित्तीय संकटका बीचमा पनि सदस्यहरुलाई निरन्तर सेवा प्रदान गरेका संस्थाहरुमा तरलता रकम वृद्धि भएर गएको होे । बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा दिने ब्याज अत्यन्तै न्युन रहेको छ । संघसंस्थाहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा कम ब्याज दिन थालेपछि सहकारी संस्थाहरुले एकल अंकमा ऋण दिएर सदस्यहरुको आयआम्दानी वृद्धि गर्ने क्षेत्रमा लगानी प्रवाह गर्न थालेका हुन् ।
काभ्रेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाले ९.९९ प्रतिशत ब्याजदरमा नै सदस्यहरुलाई ऋण दिने भएको छ । संस्थाले विशेषगरी कृषि कर्जा अन्तर्गत मासिक किस्तामा साँवाब्याज भुक्तानी गर्ने सदस्यहरुलाई १० लाख सम्म ऋण लगानी गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले बताए । संस्थाले एकाघर परिवारका १ जना सदस्यलाई ५ वर्षको लागि ऋण दिने उनको भनाई छ । पशुपालन अन्तर्गत दूधजन्य तथा मासुजन्य पशुपंन्छी, बालीनालीसँग सम्बन्धित तरकारी बाली, नगदे वा नियमित बालीनालीलाई व्यवसायिक बनाउन इच्छुक सदस्यहरुलाई ऋण दिने उनले जनाए । सरकारी निकायमा फर्म दर्ता तथा वीमा गरिएको हुनुपर्ने र कागजात पेश भएको ३ दिन भित्र ऋण स्वीकृत गरिने संस्थाले जनाएको छ ।
त्यसैगरी भक्तपुरमा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले पनि सदस्यहरुलाई ९.५ प्रतिशत ब्याजदरमा नै ऋण लगानी गर्ने योजना ल्याएको छ । संस्थाले कृषि, पशुपालन, व्यापारिक,औद्योगिक,घर निमार्ण जस्ता क्षेत्रमा ऋण लानी गर्ने भएको हो । संस्थाका व्यवस्थापक सुजेन्द्र श्रेष्ठले संस्थामा अधिक तरलता रहेकाले सदस्यहरुलाई एकल अंकमा एक बर्षे ऋण लगानी गर्न लागेको जानकारी दिए । सदस्यहरुको आवश्यकता र परियोजनाका आधारमा १ करोड ८० लाख सम्म ऋण लगानी गर्ने उनको भनाई छ । बैंक तथा वित्तीय संस्थामा निक्षेपमा ०.५ देखि १.५ प्रतिशतसम्म ब्याज रहेकाले सदस्यहरुलाई सस्तो ब्याजदरमा ऋण लगानी गर्दा संस्था र सदस्य दुुबैलाई लाभ हुने उनले बताए । संस्थाले निश्चित प्रडक्टहरु बनाएको र ती सबै प्रडक्टहरुमा सोही ब्याजदरमा ऋण लगानी गर्नेछ । संस्थामा ६२ करोड ८० लाख तरलता रकम रहेको छ । पछिल्लो समय संस्थामा तरलता रकम समेत वृद्धि हुँदै गएको छ ।
त्यसैगरी पोखराको पुरन्चौरमा मुख्य कार्यालय रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सस्तो ब्याजदरमा ऋण लगानी गर्ने जनाएको छ । संस्थाले सदस्यहरुमा उद्यमशीलता विकास गर्ने उदेश्यले एकल अंकमा ऋण लगानी गर्ने भएको हो ।
संस्थाका व्यवस्थापक प्रेमसागर अधिकारीले सदस्यहरुलाई ९।८५ प्रतिशतमा ऋण लगानी गर्ने बताए । सदस्यहरुको कृषि, पशुपालन र व्यापार व्यववसायलाई विशेष प्राथमिकतामा राखेर ऋण लगानी गर्न लागेको उनले जानकारी दिए । सहकारी संस्थाहरुले पनि एकल अंकमा ऋण लगानी गर्न सक्ने र बैंक वित्तीय संस्थाकै सरह सस्तो ब्याजमा ऋण पाएपछि सदस्यहरुलाई व्यवसाय विस्तारमा टेवा पुग्ने उनको भनाई छ । संस्थाले सदस्यहरुलाई ५ बर्षको लागि परियोजनाको आधारमा यस्तो ऋण दिने उनले जनाए ।
पछिल्लो समय एकपछि अर्को सहकारी संस्थाले ऋणको ब्याज क्रमशः घटाउँदै लगेका छन् । कुनै समय सन्दर्भ ब्याजदर बढाउनका लागि सरकारसँग लविइङ गरेका सहकारीकर्मीहरु संस्थामा प्रयाप्त तरलता भएपछि स्वतः रुपमा अहिले सस्तो ब्याजदरमा सदस्यहरुलाई ऋण लगानी गर्न थालेका हुन् । यी संस्थाले मात्र नभई अन्य थुप्रै सहकारी संस्थाले ऋणको ब्याजदर क्रमशः घटाउँदै लगेका छन् भने सदस्यहरुलाई लामो समयको लागि इएमआई सिष्टममा समेत ऋण लगानी गर्न थालेका छन् ।
संस्थाहरुलाई ऋण लगानीकै चिन्ता
सहकारी संस्थाहरुमा अधिक तरलता भएपछि कहाँ र कसरी ऋण लगानी गर्ने भन्ने चिन्ता संस्थाहरुम थपिएको छ । एकातिर व्यवसायिक वातावरणको अभाव त अर्कोतर्फ प्रवाह गरेको ऋण समयमा असुली नहुँदा अब कसरी लगानी बढाउने भन्ने चिन्ताले सहकारी क्षेत्र पिरलिएको छ । विगतमा घरजग्गा र हायरपर्चेचमा ठुलो परिमाणमा ऋण लगानी गरेका संस्थाहरु अहिले ती क्षेत्रमा लगानी गर्ने मुडमा छैनन् । आर्थिक मन्दीका कारण विगतमा ती क्षेत्रमा गरेको लगानी समयमा असुली हुन नसकेपछि कतिपय संस्थाहरुलाई तरलता व्यवस्थापन गर्न हम्मे भएको थियो भने अहिले समस्यामा परेका अधिकाश सहकारी संस्थाको लगानी त्यस्तै क्षेत्रमा रहेको पाइएको छ । जसले गर्दा सहकारी संस्थाहरु ठुलो पुँजी त्यो क्षेत्रमा लगानी गर्न ईच्छुक छैनन् ।
अर्कोतर्फ मुलुकमा रोजगारको अवसर नभएपछि युवाहरु एक पछि अर्को गरी विदेश जाने क्रमले निक्कै तिव्रता पाएको छ । पछिल्लो ३ बर्षमा मात्रै २१ लाख युवा विदेश पलायन भएको तथ्याङ्कले देखाएको छ र त्यो क्रम अहिले पनि चलिराखेको छ । सरकारले लगानीको लागि उपयुक्त वातावरण नबनाउने र जोखिम लिएर लगानी गर्दा कुनै पनि समयमा व्यापार व्यवसायमा ह्रास आई आर्थिक संकटमा पर्ने डरले मानिसहरुले ऋण लिनै छाडेका छन् । एकातिर ऋणको मागमा आएको कमी र अर्कोतर्फ संस्थाहरुमा थुप्रिएको तरलता व्यवस्थापन सहकारी क्षेत्रको लागि नयाँ चुनौती बनेको छ । संस्थामा बचत वृद्धि हुँदै जाने तर ऋणको माग भने कम हुँदैजाँदा संस्थाहरुको सञ्चालन खर्चमा भार थुप्रिन गइ दीर्घकालसम्म असर पार्ने होकि भन्ने चिन्ता उनीहरुमा छ । वित्तीय संस्थाले दिने ब्याजमा गिरावट र लगानीको माग कम हुँदा यो आर्थिक बर्ष पनि निकै चुनौतीपूर्ण बन्ने सहकारीकर्मीहरु बताँछन् ।
संस्थाहरुमा तरलता वृद्धि भएर कतिपय संस्थामा त ५० प्रतिशत माथि पुगेको अवस्था छ भने अधिकाश सहकारी संस्थामा अहिले २० प्रतिशत भन्दा माथि तरलता रहेको छ । पल्र्सले १० देखि १५ प्रतिशत तरलता राख्न भनेपनि संस्थाहरुमा त्योभन्दा बढि तरलता देखिन्छ । कैलालीको लम्कीचुहामा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थामा ३१ प्रतिश माथि तरलता रहेको छ । संस्थाले प्रकाशित गरेको यस आर्थिक बर्षको साउन महिनाको वित्तीय विवरण अनुसार संस्थामा १ अर्ब २६ करोड ५९ लाख ४८ हजार तरलता रहेको छ । कूल सम्पत्ति ६ अर्ब ४१ करोड ६४ लाख रहेको संस्थामा तरलता क्रमशः वृद्धि हुँदै गएको छ ।
त्यस्तै, दोलखाको मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थामा पनि ३२.६२ प्रतिशत तरलता रहेको छ । संस्थाले प्रकाशित गरेको साउन महिनाको वित्तीय विवरण अनुसार कूल सम्पत्ति २ अर्ब ६५ करोड ४८ लाख रहेको संस्थामा ६३ करोड ९१ लाख ५८ हजार तरलता रकम छ । त्यसैगरी रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थामा पनि २५ प्रतिशत माथि तरलता पुगेको छ । संस्थाले प्रकाशित गरेको साउन महिनाको वित्तीय विवरण अनुसार ३ अर्ब ८६ करोड ७९ लाख कुल सम्पत्ति पुगेको संस्थामा ७७ करोड ३७ लाख ५३ हजार तरलता रकम छ । समुदायमा राम्रो प्रभाव पारेका र सदस्यहरुको मन जितेका सहकारी संस्थाहरुमा तरलता प्रतिशत बढ्दै गएको छ ।
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा इकोनोमिक साइकल ब्रेक भएपछि अहिलेको समस्या आएको बताउँछन् । उनले भने,‘लगानी गर्नेले पनि उत्पादनमूलक क्षेत्रमा लगानी गरेनन् । संस्थाहरुले धेरै जनालाई एकडेढ लाख बाँड्नु भन्दा एकै जनालाई एकडेढ करोड लगानी गर्नतर्फ लागे । यो बिचमा नाफा कमाउने क्षेत्र भनेको घरजग्गा मात्र हो भन्ने हिसाबले सोचियो र यसले गर्दा ठूलो पैसा त्यस क्षेत्रमा डम्प भयो । अब बिजनेश प्लान बनाएर जानुपर्छ ।’ यसका लागि हामीले युएसएड र जर्मनको केन्द्रिय संघलाई लिएका छौं । यी संस्थाले व्यवसाय विकासका लागि टुक्रे पैसा कसरी सदस्यमा लगानी गर्ने भनेर सिकाउने उनको भनाई छ। सानो सानो पैसा कसरी लगानी गर्ने र त्यो बढी सुरक्षित हुन्छ भन्ने सिकाउँने भन्दै उनले भने,‘ सदस्यले १ लाख ब्याज तिर्न नसक्ला तर १ हजार त तिर्न सक्छ नि । तर संस्थाहरुले झञ्झट नमानी लगानी गर्नुपर्छ । झञ्झट धेरै भएपनि त्यसबाट प्रतिफल भने पक्कै आउँछ । कतिवटा र कतिथरी व्यवसाय गर्ने, त्यो व्यवसाय गर्दा नाफा हुन्छ वा हुँदैन, प्लानिङ्ग र लोन इन्फर्मेशनका कुरा छन् । यी धेरै कुराले व्यवसाय विकासमा सघाउँछ । ६० वटा संस्थाबाट शुरु गरेर एक हजार संस्थामा यो कार्यक्रम पु¥याउँछौं ।’
नेपालपत्र संवाददाता