कामाण्डौ । कमरेड पुष्पलालको जन्म शतबार्षिकीको सन्दर्भमा ‘राष्ट्रिय आत्मनिर्भरता, राष्ट्रिय पुँजी प्रवर्धनका अवयव’ हरु बिषयमा आयोजित परिसम्बाद सम्पन्न भएकाे छ । मंगलबार बत्तिसपुतली स्थित डी मिडिया डिकुरा टिभी परिसरमा बोल्ने देशका बरिष्ठ अर्थबिदहरु डा.डिल्लीराज खनाल, डा.चन्द्रमणि अधिकारी र प्रा.पर्शुराम तामाङ्ग त्रयले देशको अर्थतन्त्र र जनताको स्थिति अत्यन्तै नाजुक र कमजोर भएर गएको बताए । प्रणालीगत, संरचनागत, नीतिग सबै क्षेत्रमा ब्यापक परिबर्तन गरेर जान तयार नहुने हो र अर्थतन्त्रलाई सही बाटोमा अग्रसर नगराई यथास्थितिमा रोक्न खोज्ने हो भने सर्वनाश निम्तिने बाहेक अरु केही हुँदैन उनीहरूकाे भनाइ थियाे । अहिलेकै गतिविधिले बाह्य हस्तक्षेपरहीत समानता, समुन्नति र सबल नेपाल बनाउने पुष्पलालकाे सपना साकार कदापि नहुने निष्कर्श वक्ताहरूकाे थियाे ।

पुष्पलाल जन्म शतवार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य सचिव लोकनारायण सुवेदीले कार्यक्रम सञ्चालन गर्दै कमरेड पुष्पलालल देशको आन्तरिक पुरातनपन्थी शोषण उत्पीडनमा आधारित शासन ब्यवस्था तथा एकाधिकार पूँजीवादी र साम्राज्यबादी हस्तक्षेपबाट मुलुकलाई समग्र रूपमा मुक्त नगरी यसलाई सही दिशामा कति पनि अघि बढाउन सकिँदैन भन्ने जुन महत्वपूर्ण प्रस्थापना नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्दादेखि नै अघि सार्नुृृ भएको थियो त्यसको कतै शुरुवातसम्म पनि हुन नसकेकाे उल्लेख गरे। त्यसैले पुष्पलालको यो जन्म शतवार्षिकीको अवसरमा ‘राष्ट्रिय आत्मनिर्भरता र राष्ट्रिय पूँजी प्रवर्धनका अवयवहरु’ विषयमा परिसम्वाद राखिएको प्रष्ट पारे ।

नयाँ सामाजिक सम्झौता बेगर अब देश चल्न सक्तैन, अर्थतन्त्रले धान्न सक्तैन – डा. डिल्लीराज खनाल
कार्यक्रममा बोल्दै अतिथि वक्ता वरिष्ठ अर्थविद् डा. डिल्लीराज खनालले राष्ट्रिय अन्तर्राष्ट्रिय बद्लिँदा परिस्थितिकाे सार खिच्दै देशको अर्थनीति, अर्थतन्त्र र आर्थिक ब्यवस्था अब कुनै हालतमा यथास्थितिमा रहन नसक्ने ठाेकुवा गरे । उनले भने ‘उपरी ढाँचा अर्थात अधिरचनामा आएको परिवर्तनले आधारलाई सही दिशामा नेतृत्व प्रदान गर्न नसकेकाले आज देशका जुनसुकै क्षत्रमा असन्तुष्टी, आक्रोश र अन्यौल छाएको छ । यसलाई चिर्नृृ र नयाँ सामाजिक सम्झौताको खोजी गनुृपर्ने आजको ज्वलन्त राष्ट्रिय आवश्यकता बन्न गएको छ’ । राष्ट्रिय अन्तर्राष्ट्रिय स्थितिले हामीलाई त्यही दिशामा जान बाध्य पारिरहेको औंल्याउँदै उनले बदलिदो राष्ट्रिय आवश्यकतालाई आत्मसात गरेर अघि बढ्न सके मात्र सय वर्षको अवसरमा कमरेड पुष्पलाललाई स्मरण गरेको सार्थक ठहर्छ अर्थविद् खनालले उल्लेख गरे ।

परिसूचकले अर्थतन्त्र नकारात्मक देखाउँछ, सरकार सकारात्मक दिशामा गइरहेको भन्छ, ठुलो बिरोधाभास छः डा चन्द्रमणि अधिकारी
कार्यक्रममा बोल्दै अर्का बरिष्ठ अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले अहिलेको अर्थतन्त्र ‘ब्रोइलर कुखुरा’ जस्तो भएकाे जनाए । उनले भने, ‘अर्थतन्त्रले टिकाउ, सबल र सही दिशा लिन सकेन। अहिलेसम्म सत्तामा गएका रहेका राजनीतिक दलहरुमा कुनै भिन्नता देखिएन । सबै उस्तै रहे । अनि परिवर्तनका बोध जनताले कहाँबाट गर्न पाउन् ।’
हाम्रो कृषि, जलश्राेत, पर्यटन र जैविक विविधिता जस्ता राष्ट्रिय अर्थतन्त्रका महत्वपूर्ण अवयवहरुलाई सही सदुपयोग गरेर तिनलाई सदुपयोग गरेर बिदेश पलायन घटाउन र साँघुरो पार्न सकिन्थ्याे भन्दै उनले भने, ‘तर अन्तरनिर्भरताको अवस्था तयार पार्न सकिन्थ्यो तर सरकार समाज र परिवारले समेतले ऊर्जाशील यूवा पिंढीलाई बाहिर घचेटने बातावरण बनाइयो । हाम्रा खेतबारी बाँझै रहे । त्यस्तो गलत नीतिले गर्दा देश सबै क्षेत्रमा आत्मनिर्भर हुनुको साटो झनझन बढी परनिर्भर हुँदै गयो, हाम्रो मौलिकता हराउँदै गयो । यसलाई सबल बनाउने आधारहर छन् तर हाम्रो अर्थतन्त्र सुन्निएर मोटाएको जसतो भयो । सरकार बास्तबिक रोगको पहिचान गरेर रोग निकोपार्ने भन्दा सिटोमोल दिएर एक छिन जिउ दुःखेको कम गर्ने टालटुले नीतिमा चलेको छ । पहिलाका कुरालाई छोडेर २०६३ पछिको स्थितिमा सकारात्मकता देखिएला कि भन्ने झिनो आसा पनि मरेर गयो ।’ सरकारमा पुगेका सबै दल र गठबन्धनको नाममा बाहेक अरु कनै भिन्नता देखिएन भन्ने आजको वस्तुगत यथार्थले दर्शाएको अधिकारीको निश्कर्ष थियो ।

देशको आजको अर्थतन्त्र सीमाहीन पूजीवाद अन्तरग बिचौलियाको हातमा गइसकेको छः पर्शुराम तामाङ्ग
प्राध्यापक पर्शुृराम तामाङ्गले राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय पुँजीलाई पुनर्परिभाषित गर्नुपर्ने बेलामा विश्व सँगसँगै नेपाल पनि पुगेको धारणा राख्दै नेपाल अर्ध सामन्ती र अर्थ उपनिबेश अवस्थाबाट गुज्रिदै नवउपनिवेश त्यसमा पनि सीमाहीन पुँजीवाद (बोर्डरलेस क्यापिटालिज्म) मा पुगेको जनाए । उनले भने ‘आज हामीलाई कर्पोरेट पुँजीवादले गाँजिसकेकाले गर्दा राष्ट्रिय पूँजीवाद हिजोको जसरी विकास नहुने भएकाले त्यसले भिन्नै बाटो लिनुपर्ने स्थिति खडा भएको छ।’
नेपालमा एकातिर सामन्ती उत्पादनबाट उत्पन्न शोषणउत्पीडनका अवशेषहरु बाँकी नै रहेकाे, ती समस्या पछौटे कृषि, जातीय उत्पीडन, लैंगिक उत्पीडनकोरुपमा रहेकाे उनले जनाए । उनले भने ‘अर्काेतिर बहुराष्ट्रिय निगम पूँजीवादले जकडेको अवस्थाबाट हामी प्रताडित र अझ परनिर्भर बन्दै गएका छौं । आज अर्थतन्त्रमाथि विचौलियाहरुको विगविगी छ ।’ यस्ताे गम्भीर स्थितिबाट कसरी उम्किने हो त्यस परिप्रेक्षमा कमरेड पुष्पलाललाई बुझ्न सकेमा मात्र यो जन्म शतबार्षिकी मनाएकाे सार्थकता हुने उनले बताए ।
परिसम्बाद कार्यक्रममा कमरेड पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य क. शरणबिक्रम मल्लले बक्ताहरुका धारणामाथि विभिन्न जिज्ञाषा राख्नु हुँदै भ्रष्टाचार र कमिशनबाट लुटेको कालोधनलाई बिदेश पठाउने र बिप्रेषणका नाममा हुण्डीमार्फत स्वदेश ल्याएर त्यसलाई सेतो बनाउने जुन उपक्रम चलाइएको छ त्यो नरोकिएसम्म न विदेश पलायन राेकिने बातावरण बन्छ न नेपाली अर्थतन्त्र स्वाधिन र आत्मनिर्भर बन्न सक्ने गम्भीर प्रश्न उठान गरे ।

बदलिएको विश्व परिस्थितिमा कसरी नेपाल सही दिशामा अघि बढ्न सक्छ भनेर समयसापेक्ष टुंगोमा पुग्नु पर्ने सल्लाह दिँदै नेपाल बीमा संस्थानका पूर्व अध्यक्ष डा.फत्तबहादुर केसीले विषयवस्तुको गाम्भीर्यतालाई ध्यान दिँदा छलफल अझ नपुगेको र यस्ता विषयमा थप गहन छलफल चलाएर सही निष्कर्शमा पुग्नु पर्ने भन्दै वक्ताहरुका धारणामाथि विभिन्न जिज्ञाषा राखेका थिए ।
त्यसैगरी अर्का जिज्ञाषु सिंचाई सम्बन्धि कार्यक्रमका ज्ञाता तथा अभियन्ता शिव श्रेष्ठले कतिपय वक्ताहरुले विषयान्तर गरेर बोल्दा कुरो अन्तै बरालिएको, विषयवस्तुमा जति गम्भीर ध्यान केन्द्रित हुनु पर्दथ्यो त्यति हुन नसकेको बताए। वक्ताहरुले मूल विषय छोडेर बोल्ने र श्रोताहरुले त्यसैमा ताली लगाउने हल्काफुल्का सँस्कृतिको विकास भएको औंल्याए ।
कर्यक्रममा यूवा जिज्ञाषु दीप पाठकले पनि राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रका बारेमा आफ्ना जिज्ञाषाहरु राख्दै यूबा पिढीलाई देशमा दुर्दशा किन आयो र त्यसको निराकरण के हुन सक्छ भन्ने बोध गराउनु पर्ने आवश्यकता रहेकाे औल्याएका थिए । कार्यक्रममा डा. प्रकाश सापकोटा, पुष्पलाल जन्म शतवार्षिकी राष्ट्रिय समारोह समितिका सदस्यहरु सीता सुवेदी, नरेशलाल अमात्य, सरिता भुसाल लगायत महानुभावहरकाे सहभागिता रहेको थियाे ।