नेपालले द्धिपक्षीय सम्झौतमा बमोजिम भारतका बिहार र हरियाण राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले हरियाण राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको हो ।
१० जलविद्युत आयोजनाहरुबाट उत्पादित १२५ मेगावाट विद्युत बिहारलाई र २ जलविद्युत आयोजनाहरुबाट उत्पादित थप १२५.८९ मेगावाट विद्युत हरियाणा राज्यका वितरण कम्पनीहरुलाई बिक्री गरिने छ । प्राधिकरणले हरियाण राज्यलाई हाल १०९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ । नेपालमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुन देखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गरिने छ । योसँगै मध्यकालीन सम्झौता बमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीहरुलाई बिक्री गरिने विद्युत्को परिमाण ३६० मेगावाट पुगेको छ ।
आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रति युनिट ८ रुपैयाँ ७२ पैसा (५ .४५ भारु) रहेको छ । गत वर्ष हरियाणलाई बिक्रीका लागि स्वीकृति दिएको १०९ मेगावाटको प्रति युनिट दर ८ रुपैयाँ ४० पैसा (५.२५ भारु)छ । यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु प्राधिकरणले बेहेर्नु पर्ने छैन । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ ।
भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स) को रियल टाइम मार्केट, डे–अहेड बजारमा प्रतिश्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरियाणा राज्यलाई बिक्री गरिरहेको छ । भारतबाट स्वीकृति पाएसँगै अब बिहारलाई पनि विद्युत् बिक्री सुरु हुनेछ । प्रतिश्पर्धी बजार र मध्यकालीन सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री हुनेछ ।धिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय पक्षबाट स्वीकृति पाएसँग अब छिट्टै बिहार र हरियाणामा थप विद्युत् निर्यात सुरु गरिने बताए ।
नेपालपत्र संवाददाता