मनकामना बचत तथा ऋण सहकारी संस्थाले संस्थामा आवद्ध बालबालिकाहरूलाइ सम्मान गरेको छ। शेयर सदस्यका छोराछोरी तथा बालबचतकर्ताहरू मध्ये २०८० सालको एसईई तथा कक्षा १२ को परीक्षामा उत्तीर्ण हुने कुल ११४ जना विद्यार्थीहरुलाई मनकामना शैक्षिक सम्मान प्रदान गरेको हो ।
एक कार्यक्रमका बीच सम्मानित विद्यार्थीहरुलाई सम्मान–पत्र, खादा, मायाको चिनोका साथै संस्थाको शेयर सदस्यता प्रदान गरिएको थियो । कार्यक्रममा काभ्रे जिल्लाबाट ४ जिपिए सहित सर्वोत्कृष्ट अंक हासिल गर्न सफल लिङ्कन इन्टरनेसनल स्कुलकी छात्रा समृति श्रेष्ठलाई तथा सर्वोत्कृष्ठ विद्यालय बन्न सफल लिङ्कन इन्टरनेसनल स्कुललाई पनि सम्मान गरिएको थियो ।
संस्थाबाट सामुदायिक तथा संस्थागत विद्यालयका छात्रछात्रा १–१ जना, कक्षा १२ को उत्कृष्ट अंक ल्याउँन सफल छात्रछात्रा १–१ जना गरी ६ जना विद्यार्थीलाई नगद सहित विशेष सम्मान गरिएको हो ।
शिक्षा उपसमितिका सदस्य पशुपति शिलवालले सञ्चालन गरेको औपचारिक कार्यक्रमको सभापतित्व शिक्षा उपसमिति संयोजक शम्भु प्रसाद घिमिरेले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा बालकृष्ण दाहाल रहेका थिए ।
संस्थाका सञ्चालक समिति, लेखा समिति, शिक्षा उपसमिति , सेवा केन्द्र व्यवस्थापन उपसमितिका पदाधिकारी लगायतको उपस्थिति रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष गोपाल प्रसाद घिमिरेले स्वागत मन्तव्य राखेका थिए । त्यस अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले संस्थागत जानकारी तथा वित्तीय साक्षरताका सम्बन्धमा प्रस्तुति दिएका थिए ।

