शुक्रबार, कार्तिक ७ गते २०८३
NEFSCUN 37th Anniversary

सञ्जालीकरणमार्फत् एक सय संस्थाको पूर्ण जिम्मेवारी लिनेगरी नेफ्स्कुन अगाडि बढ्दैछ

श्रावण ३१, २०८१ बिहीबार
सञ्जालीकरणमार्फत् एक सय संस्थाको पूर्ण जिम्मेवारी लिनेगरी नेफ्स्कुन अगाडि बढ्दैछ


नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) स्थापनाको ३७ वर्षमा प्रवेश गर्दैछ । २०४५ सालमा साउन ३२ गते स्थापना भएको उक्त संघले बचतऋण अभियानलाई मुलुकभर स्थापित गर्नका निम्त अग्रणी भूमिका खेलेको छ । शुरुवाती दिनमा नेफ्स्कुन  बचतऋण सहकारी अभियानललाई मुलुकभर विस्तार गर्न लागिपरेको भएपनि पछिल्लो समय संस्थाहरुलाई सुरक्षित र गुणस्तरयुक्त बनाउने क्रममा छ । यसका लागि नेफ्स्कुनले एशियाली ऋण महासंघ (अकु) सँगको साझेदारीमा एक्सेस कार्यक्रम र सरकारसँगको साझेदारीमा राष्ट्रिय स्तरको प्रोबेसन कार्यक्रमका साथै कर्ब्स, आधारशीला जस्ता स्तरिकरण कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । त्यसका साथै संस्थाहरुलाई जोखिमलाई न्युनिकरण गरी सुरक्षित बनाउन स्थिरिकरण कोष समेत स्थापना गरेको छ । नेफ्स्कुनले छैंटौ चार वर्षे रणनीतिक योजनमार्फत् ‘स्वस्थ र सुरक्षित साकोसहरुको जवाफदेहि र एकीकृत सञ्जाल निर्माण’ लिएको अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए ।

नेफ्स्कुनमा आवद्ध रहेका एक सय सहकारी संस्थाले सञ्जालिकरणमा आवद्ध गराई उनीहरुको पूर्ण सूरक्षाको प्रत्याभूति नेफ्स्कुनले लिनेगरी रणनीति तय गरेको उनले बताए । संघमा अद्यावधिक रहेका ३७०० सहकारी संघसंस्थामध्ये चारवर्ष भित्र १०० संस्थाको जिम्मा लिने योजनाकासाथ अघि बढेको अध्यक्ष ढकालको भनाई छ । साकोस अभियानलाई सुरक्षित, विश्वसनीय र व्यवस्थित अभियानको रुपमा विकास गर्न आफुहरु लागिपरेको उनले जनाए । नेफ्स्कुन स्थापनाको ३७औं वर्षको सेरोफेरोमा अध्यक्ष ढकालसँग नेपालपत्रन्यूजले गरेको कुराकानीको सारः  

४ वर्षे रणनीतिक योजनामार्फत् नेफ्स्कुन कसरी अगाडि बढ्न खोजेको हो ? 

यसअघि बनेको रणनीतिक योजनालाई हामीले समीक्षा ग¥यौं । त्यसका धेरै कम्पोनेन्टहरु कार्यान्वयनमा जान सकेका थिएनन् । हामीले नेटवर्कभित्र सबै प्रारम्भिक संस्थाका साथै प्रदेश र जिल्ला बचत संघ ल्याउने भनेका थियौं । यो नै एउटा सहकारिता हो । बचतऋण  सहकारीहरु एकै ठाउँमा हुनुपर्छ भनेका हौं । हाम्रो बीचमा फरक खालका धारणा र विषयहरु उठ्नु हुँदैन । एउटै लय र आवाजका साथ बचत ऋण सहकारी अभियानको हितका लागि काम गर्नुपर्छ । हाम्रो सदस्य भनेको प्रारम्भिक संस्थाहरु हुन् । नेफ्स्कुन आफैंमा बचतऋण सहकारी संस्थाको फेडरेशन हो । यसर्थ नेटवर्किङमा काम गर्ने पहिलो विषय राखेका छौं । नेटवर्किङमा गएपछि सदस्यहरुसँग सहकार्य गरेर सदस्यहरुकै लागि काम गर्ने हाम्रो ध्येय हो । जबसम्म सदस्यहरुको लागि काम गर्दैनौं तबसम्म सहकारीको विषय, सिद्धान्त र उद्देश्य पूरा हुँदैन । त्यसो गर्नसके अहिलेको जस्तो समस्या आउँदैन । तसर्थ हामीले सहकार्यलाई बलियो बनाएर जानुपर्छ । सञ्जाल व्यवस्थापनको लागि नेटवर्किङको कन्सेप्ट ल्याएका हौं ।

सबै सहकारीहरुको फरकफरक नभई एउटै सञ्जालको कुरा हामीले उठाएका छौं । यसका लागि सहकारीका केहि सैद्धान्तिक मूल्य मान्यतालाई अगाडि सारेका छौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सहकारीका मुल्य, मान्यता र सिद्धान्त छन् । ती सिद्धान्तप्रति प्रतिवद्ध रहेर सहकारी संस्थाको प्रवद्र्धनका लागि सरकार, प्रविधि र सुशासन सँग जोडिएको कुरामा सहकार्य गरेर जानुपर्छ । हामीले एउटै उद्देश्यका लागि काम गर्नुपर्छ । सबै सहकारीलाई एउटै प्रविधिले व्यवस्थापन गर्ने, सबै संस्थाको आधार सुशासन भएकाले यो विषयमा शुद्धिकरण गरेर जानुपर्छ । यो कुरा नगरी सञ्जाल व्यवस्थापन गर्न सकिँदैन । 

अर्को, व्यवसायिक सहकार्यको कुरा उठाएका छौं । नेफ्स्कुनसँग भएको पुँजी वा सम्पत्ति प्रारम्भिक संस्था र विषयगत संघहरुको हो । सहकारीहरुलाई सहज र सुलभ प्रविधि हस्तान्तरण गर्नुपर्छ भनेर प्रविधिलाई प्राथमिकताको विषय बनाएका छौं । सहज रुपमा सहकारीमा कसरी प्रविधि पु¥याउन सकिन्छ भनेर छुट्टै कम्पनीसँग सहकार्य गरेर हामीले काम गरिराखेका छौं । सहकारीमैत्री प्रविधि बनाउने र सबै संस्थाहरुले प्रयोग गर्न सक्ने गरी न्यूनतम शुल्कको प्रविधिलाई अगाडि बढाएका छौं ।

अर्कोतर्फ बचतऋण सहकारीलाई कसरी स्थिर गर्न सकिन्छ, संस्थाहरुलाई सञ्जालिकरणमा आवद्ध गराएपछि ती संस्थाहरुलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर स्थिरिकरण कोष ल्याएका छौं । मन्त्रालयले स्थिरिकरण कोषको कार्यविधि स्विकृत गरेको छ । कोष सञ्चालक समितिले निर्णय गरेर कोषमा आवद्ध सबै संस्थाहरुलाई सुपरभिजन गर्नसक्ने अधिकार पाएका छौं । कोषले कार्ययोजना बनाएर कसरी सबै संस्थाहरुलाई सुपरभिजन गरेर जान सकिन्छ भनेर गृहकार्य गर्दैछौं । सबै संस्थाहरुको भौतिक सुपरिवेक्षण सम्भव नभएपनि अफलाइन मनिटरिङको काम शुरु गरिसकेका छौं ।

यहि साउनबाट करिब ५ सय संस्थाहरुको अफसाइड मनिटरिङ शुरु भएको छ । ती संस्थाहरुको अवस्थाको रिपोर्टिङ गर्ने र उनीहरुलाई आवश्यक फिडब्याक दिन् काम शुरुवात भएको छ । स्थिरिकरण कोषको कार्यान्वयनले यसलाई थप मदत पुग्छ भन्ने हाम्रो बुझाई हो । पछिल्लो समय संस्थाहरुबीच एकिकरणको प्रभाव पनि बढेको छ । एकिकरणमार्फत संस्थाको संख्या घटाई बलियो र सुरक्षित संस्था बनाएर लैजान्छौं । एकिकरणको प्रक्रियालाई निरन्तर रुपमा अगाडि बढाउँछौं । छरिएर रहेको पुँजी, दोहोरो सदस्यता र नेतृत्वबीच भएको अस्वस्थ प्रतिस्पर्धालाई व्यवस्थापन गर्न यसले सघाउ पु¥याउँछ । सुरुमा तीनचार वटा कुरालाई व्यवस्थित गरेर जानु पर्छ । तब सहकारी अभियानको अभिभावकत्व कसले लिने, त्यसको स्टेक होल्डर को हुने तथा सधैं सहकारी समस्याको रुपमा मात्र रहिरहने हो ? भन्ने खालका तरल परिस्थितिहरुको उचित व्यवस्थापन हुन्छ । 

त्यसैगरी हामीले वित्तीय सहकारीको ऐन माग गरिराखका छौं । त्यो काम आजको भोलि हुँदैन । स्टेक होल्डरहरुसँग बसेर हामीले काम गरिरहेका छौं । सरकारसँग जोडिएका विषयहरुमा पनि हामीले छलफल बढाएका छौं । जर्मन र नेदरल्याण्डसहितका संस्थाहरुसँग साझेदारी गरेर काम गरेका छौं । अन्तर्राष्ट्रिय अनुभव र कामको दख्खलता समेतलाई आधार बनाएर आन्तरिक सहकार्य गरेर अगाडि बढेका हौं । देशबाहिर एशियाली ऋण महासंघसँग राम्रो सहकार्य छँदैछ भने पछिल्लो पटक हामी वल्र्ड काउन्सिलसँग पनि जोडिएका छौं । नेपालको सहकारी अभियानलाई काउन्सिलले कसरी सहयोग गर्न सक्छ भनेर पनि हामीले छलफल चलाएका छौं । त्यहाँका अभ्यासहरुलाई कसरी नेपालमा आन्तरिकीकरण गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएका छन् । 

४ वर्षभित्र नेपालको साकोस अभियानले सही बाटो समाउँछ त? 

नेफ्स्कुनको नेतृत्व सम्हालिरहँदा यहाँभित्र विगतदेखि केहि समस्याहरु रहेछन् । ऋण असुलीमा धेरै समस्या रहेको पाइयो । असुलीलाइ प्राथमिकताको विषय बनाएर गयौं । गत आर्थिक वर्षमा हामीले राम्रै रिकभरी गर्न सफल भयौं । सरकारसँगको लबिइङ्गमा कहिँकतै ग्याप भएकोमा पछिल्लो समय मन्त्रालय र विभागसँग राम्रो सम्बन्ध बनाएका छौं । सरकारले छिट्टै ऋण असुली न्यायाधिकरण गठन गर्दैछ । विभागीय मन्त्रीले नेफ्स्कुनले आयोजना गरेको धेरैवटा कार्यक्रममा सहभागि भएर हामीलाई उत्साह दिनुभएको छ । विभागसँगका साझेदारीमा ६ वटा प्रदेशमा काम ग¥यौं । लबिइङ्ग र एड्भोकेसीसँग जोडिएका विषयमा पनि हामी लागिरहेका छौं ।

कर्जा सूचना केन्द्रको विषयमा पनि गृहकार्य भएको छ । अहिले भएकै कर्जा सूचना केन्द्रमा जोडिएर जाने सहमति बनेको छ । हामीले नेफ्स्कुनमा निर्वाचित भएर आउनुपूर्व जे भनेको थियौं, त्यहि काम गरिरहेका छौं । सहकारी क्षेत्रको निराशालाई तोड्दै आशातर्फ हाम्रा पाइला अगाडि बढाएको सन्देश गत आ.व.को क्लोजिङले दिएको छ । ५ महिनाको बीचमा बुटक्याम्प, प्लानिङ, जिल्ला बचत संघहरुसँगको साझेदारी बैठक सकिसक्यौं भने सरकारसँगको लबिइङ्गले केहि परिणाम प्राप्त गरेका छौं । छोटो समयमा भद्रगोल अवस्थाका बीचमा पनि थुप्रै काम भएका छन् । संसदीय छानविन समितिमा पनि हामीले आफ्ना कुरा राखेका छौं । ३२ औं साधारण सभामार्फत् नेफ्स्कुनमा आउनुभएका टिमको उत्साहले गर्दा ४ वर्षभित्र थुप्रै सफलता प्राप्त गर्नेर्छौं । हामीले केहि गर्न खोजिराखेको रहेछ भन्ने कुराको सन्देश आगामी साधारणसभाबाट दिन्छौं । 

हालका दिनमा नेफ्स्कुनप्रति सदस्य संस्थाहरु त्यति सन्तुष्ट देखिँदैन नि ? 

सदस्यहरु नेफ्स्कुनप्रति त्यति विश्वस्त छैनन् भन्ने कुरामा आधार छैन । हामीसँग ४ हजार ७ सय संघसंस्था आवद्ध छन् । त्यसमध्ये ३ हजार ७ सय संस्था नविकरण भएका छन् । यसको मतलब ती संस्थाहरु कुनै न कुनै तरिकाले नेफ्स्कुनसँग जोडिएका छन् । यस अघि ५५–६० प्रतिशतभन्दा माथि संस्थाहरु नेफ्स्कुनसँग जोडिएको अवस्था थिएन । यसको मतलब अहिले नेफ्स्कुन सञ्चालकसँग संस्थाहरु आशावादी छन् । संस्थाहरुले गरेको विश्वासलाई यथार्थमा परिणत गर्न सक्दैनौं कि भन्ने चिन्ता हामीमा छ । तर पनि नेफ्स्कुन टिमले केहि गर्न खोजेको छ भन्ने कुरा संस्थाहरुले बुझेका छन् ।

यस अघिका साधारण सभामा सदस्यहरुले संघको आर्थिक प्रतिवेदनमाथि उठाएका आवाजहरु र मिडियाले हामीमाथि गरेका प्रश्नका साथै अनुगमनलाई फेस गरेका छौं । यी कुराको व्यवस्थापन गर्ने जिम्मा पनि हामीलाई दिइएको छ र त्यसलाई हामीले स्वीकार गरेका छौं । तर नेफ्स्कुनमा नजोडिएका, सुशासनमा नचलेका र नेफ्स्कुनको असुलीप्रति चित्त नबुझाएका केहि साथीहरुले आलोचना गर्नुलाई म त्यति ठूलो इस्यु मान्दिन । 

साकोस अभियानको छवि धुमलिएको छ, समाजमा यसको छविलाई पुनः स्थापना गर्नु पनि त्यत्तिकै चुनौतिपूर्ण छ नि ? 

३१ हजार सहकारी संस्था मुलुकमा छन् । हामीसँग प्रत्यक्ष जोडिएका संस्था भनेको ४ हजार सात सय हो । त्यसमध्ये ३ हजार ६ सय माथि संस्था अपडेट भएका छन् । यिनै संस्थाहरुले नै नेफ्स्कुनको राम्रो वा नराम्रो पक्ष र छविका विषयमा आवाज उठाउने हो । सबै संस्थालाई राम्रो बनाएर लैजाने कुरामा नेफ्स्कुनबाहेक विकल्प छैन भनेर ऐक्यवद्धता जनाएका छन् तर ५ महिनाको अवधिमा सबै सकारात्मक सन्देश मात्र दिन सकिँदैन । सहकारीमा सञ्जालिकरण गरेर जाने कुरामा हामी तयार छौं । तर बचतऋण सहकारीका साथीहरुले ऐक्यवद्धता जनाएर कँहि न कहिँ त जोडिन पर्छ होला नि ? त्यो नगर्ने,  संस्थालाई चलायमान र समुदायको प्रतिनिधित्व गर्ने संस्थाको रुपमा विकास नगर्ने तर टिप्पणीको लागि टिप्पणी गर्ने कुराले मात्र केहि अर्थ राख्दैन । नेफ्स्कुनले गरेको निर्णयले कुनै पनि संस्थालाई असहज भएको छ भने त्यो कुरा सच्याउन तयार छौं । 

सयवटा संस्थाको पूर्ण जिम्मेवारी लिने कुरा रणनीतिमा आएको छ । खास कुरा के हो ? 

एकसय सहकारी संस्थाहरुको सम्पूर्ण जिम्मा लिन नेफ्स्कुन तयार छ । संस्थाका लागि चाहिने सबै कुरा नेफ्स्कुनले तयार पारेर व्यवस्थापन गरिदिन्छ । त्यो संस्थाको पूर्ण सुरक्षाको प्रत्याभूति नेफ्स्कुनले लिन्छ । पहिलो चरणमा १ सय वटा संस्थामा त्यो काम गर्न सकियो भने यसले ठूलो पाठ सिकाउँछ भन्ने लाग्छ । संस्थाहरुलाई यसरी गुणस्तरयुक्त र स्तरिकृत गर्नुपर्ने रहेछ तब संस्था आफैं सुरक्षित हुने रहेछ भन्ने कुरा बुझाउन हामीले यो काम गर्न आँटेका हौं । एक सयवटा संस्थाको जिम्मा लिने अवस्थासम्म पुग्दा ३७ सय संस्थाको संख्या घटेर २ हजारमा आउँछ भन्ने लाग्छ । किनभने ३७ सय संस्थामध्ये केहि एकिकरण हुन्छन्।

मुलुकभर राम्रोसँग सञ्चालन भएका, सुशासनमा बसेर वित्तीय कारोबार गरेका र केहि समस्या नभएका संस्था त्यसबेलासम्म २ हजार वरपर हुन्छन् । ती दुईहजार संस्थाको पर्फमेन्स सबैले हेर्न लायक हुन्छ । त्यसको सुरुवात एक सय वटा संस्थाबाट गर्ने योजना बनाएका छौं । दोलखाबाट हामीले यूनिफिकेशन कार्यक्रम सुरु ग¥यौं । सबै संस्थाहरु सुरक्षित, प्रविधिमैत्री र सुशासनयुक्त छन् भनेर दोलखाबाट त्यो कार्यक्रम शुरुवात गरेका हौं । क्रमश अन्य जिल्लामा पनि जान खोजिराखेका थियौं तर कोरोनाका कारणले सम्भव भएन । अब सीमित जिल्लामा नभई देशभर यो कार्यक्रम शुरु हुन्छ । केहि संस्थाबाट शुरु गर्ने र भविष्यमा धेरै संस्थाहरु यसमा जोडिन्छन् भन्ने हाम्रो बुझाई हो ।

नेफ्स्कुनको ३७ औं स्थापना दिवस मनाइरहँदा के सन्देश दिनुहुन्छ ? 

आज सहकारी अभियान सबैको रुचिको विषय बन्नुपर्नेमा पछिल्ला समयमा आएको कोभिड, आर्थिक मन्दी र तरलता अभावसँगसँगै  केहि संस्थाहरुले सदस्यको बचत अपचलन गर्दा सहकारीप्रतिको विश्वास घटेर गएको छ । यी सबैका बावजुद पनि नेफ्स्कुनले ३७ औं स्थापना दिवस मनाउँदै छ । समाजमा नराम्रा सहकारी पनि छन् । तिनलाई राम्रा बनाउने भनेको हामीले नै हो । राम्रो संस्था बनाउने भन्दैमा सबै संस्थाको नेतृत्व नेफ्स्कुनले गर्ने भन्ने होइन । प्रारम्भिक संस्थाको नेतृत्व सोही संस्थाका सञ्चालक र विषयगत संघको नेतृत्व सोही संघका अध्यक्षहरुले गर्ने हो । प्रारम्भिक संस्था र विषयगत संघको नेतृत्वसँग नेफ्स्कुनले सहकार्य गरेर जान्छ । सहकार्यमार्फत न्यूनतम कुराका लागि संघसंस्थाले साथ माग्नुपर्छ। हामीले त्यस विषयलाई बिनाशर्त संस्थागत गरेर जान्छौं ।

राम्रा संघसंस्था बनाउने विषयमा नेफ्स्कुनको प्राथमिकता रहन्छ । अहिलेको रणनीतिक योजनाले त्यसलाई आधारतभूत कामको रुपमा लिएको छ । सहकारी संस्थाको सुशासन र शुद्धिकरणको अभियान नेफ्स्कुनले शुरु गरिसक्यो । बोर्डका सञ्चालक समितिका सबै संस्थाहरुको आन्तरिक नियमन भइसक्यो । नेफ्स्कुनमा आवद्ध सबै संघसंस्थालाई प्राथमिकीकरण गरेर अनुगमन गर्ने, कमीकमजोरीलाई सुधार गरेर लैजाने, आवश्यक व्यवस्थापन गर्ने तथा छिटोभन्दा छिटो प्रादेशिक संरचना बनाउने योजना छ । ७ वटै प्रदेशबाट नेफ्स्कुनको केन्द्रबाट दिएजत्तिकै सेवा दिने गरी प्रादेशिक संरचना बनाउँदैछौं । प्रदेश र स्थानीय तहबाट नै सेवा प्रवाह गरेर संघसंस्थालाई सबल बनाउन हामी लागिपर्छौं । प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरेर प्रवद्र्धनको पक्षमा उभ्भिने र सबैको विश्वास आर्जन गर्नेगरी काम गर्छौं । सहकारी संघसंस्था र नेफ्स्कुनको बीचमा रहेको दूरीलाई यसले घटाउनेमा म पूर्ण रुपमा आशावादी छु ।