शुक्रबार, कार्तिक ७ गते २०८३

‘भारतमा साँच्चै स्वतन्त्र अधिराज्य उत्तर–पूर्वी सीमावर्ति नेपालमात्र हो’ जवाहरलाल नेहरु


श्रावण ३१, २०८१ बिहीबार
‘भारतमा साँच्चै स्वतन्त्र अधिराज्य उत्तर–पूर्वी सीमावर्ति नेपालमात्र हो’ जवाहरलाल नेहरु

आज अगस्ट १५ : ७८ औँ भारतीय स्वतन्त्रता दिवस । यसै दिन (विभिन्न वर्षमा) विश्वका अन्य ५ मुलुक पनि स्वाधीन भएका थिए- १८६६ मा जर्मनीबाट लिकस्टेन्सटिन, १९४५ मा जापानबाट उत्तर र दक्षिण कोरिया, १९६० मा डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो १९७१ मा बेलायतबाट बहराइन । पाकिस्तानको स्वतन्त्रता दिवस पनि आजै हुनुपर्नेहो। तर पाकिस्तानले हिजै यो दिवस मनाउने गर्छ ।

भारतको स्वतन्त्रता बिना नेपालमा प्रजातन्त्र, विकास र नवयुगको ढोका खुल्न असम्भव छ भन्ने धरातलीय वास्तविकता बुझेर नै नेपालका नेताहरू भारतको स्वतन्त्रतामा सक्रियतापूर्वक सरिक भए । जननायक बीपी कोइराला, सर्बोच्च नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, डा. डिल्लीरमण रेग्मी, सूर्यप्रसाद उपाध्याय, मनमोहन अधिकारी, रामजनम तिवारी, मात्रिकाप्रसाद कोइराला, गजेन्द्रनारायण सिंह, रामचन्द्र साह, बलराम नायक, गोबर्धनबहादुर कार्की, मनमोहन गुप्ता, रुद्रप्रसाद गिरि आदि करिब ३०० नेपाली प्रजातन्त्रवादीहरू भारतको स्वतन्त्रता संग्राममा सक्रियताका साथ सहभागी भएका थिए ।

भारतीय स्वतन्त्रतासँगै सबै भूभाग स्वतन्त्र भारतमा आउन सकेनन् । गोवा, हैदरावाद, जुनागढ र काश्मिरको समस्या पहिलो आमनिर्वाचन (१९५१–१९५२) सम्म यथावत थियो। काश्मिर भारतमा बिलय गराउने ९ बुँदे दस्तावेज (यसको पूर्णपाठ मसँग छ) मा एकातिर काश्मिरका राजा हरि सिंहले अर्कातिर भारतका अन्तिम गभर्नर जनरल लर्ड माउन्टबेटनले १९४७ अक्टोबर २७ मा सही गरे पनि काश्मिर मामिलालाई पाकिस्तानले आजसम्म भारतसँग शत्रुताको मूल विषय बनाएर उठाइरहेकै छ, जसलाई लिएर दुई देशबीच ३ पटक युद्ध भईसक्यो र कुनैपनि बेला चौथो सम्भावित युद्धको लागि दुवै मुलुक रेडी देखिन्छन् ।

चीन–भारत युद्ध (१९६२) मा चिनिया सेना भारतको भित्री भागसम्म लखट्दै आएर शर्मनाक पराजय भोग्नुपरेको चिन्ताबाट नेहरुलाई लागेको भयानक झट्का र त्यसकै कारण मुटुको रोगले उनी ओछ्यान परे, आफ्नो पुर्ख्यौली भूमि काश्मिरमा यी कश्मीरी पण्डित धेरै महिना आरामको लागि बसे । स्वतन्त्रतापछि १७ वर्षसम्म भारतको प्रधानमन्त्री रहेका पं. जवाहरलाल नेहरु (१८८९–१९६४) ले भारतीय स्वतन्त्रताको पूर्वसन्ध्या (१४ अगस्ट) मा भारतीय संविधानसभामा बोल्दै भनेका थिए, "हाम्रा महापुरुषको आकांक्षा हरेक आँखाको आँसु पुछ्ने हो । जबसम्म आँसु र पीडा हट्दैन, तबसम्म हाम्रो काम सकिन्न...." (The ambition of the greatest men of our generation has been to wipe every tear from every eye. That may be beyond us, but so long as there are tears and suffering, so long our work will not be over.) पं. नेहरुको भाषणको सँगालो, ‘ट्राइस्ट विथ डेस्टिनी १९४७' बाट उद्धृत।

माथि उद्धृत उनको वाणी 'डिस्कभरी अफ इन्डिया' नामक उनैको खोजमुलक ऐतिहासिक विवरण युक्त ५९५ पृष्ठको पुस्तकको पृ.३१० बाट लिइएको हो :"The only truly independent kingdom in India is Nepal on the north-eastern frontier, which occupies a position analogous to that of Afghanistan, though it is rather isolated."
यो पुस्तक नेहरुले स्वतन्त्रता आन्दोलनताका बन्दी जीवनमा लेखेका थिए।स्वतन्त्रता दिवसको यस पुनीत अवसरमा एक नेपालीको तर्फबाट भारतीय जनतामा हार्दिक बधाई तथा शुभकामना ।