वीन्द्रनाथ टैगोर (१८६१–१९४१) लाई गुरुदेव वा विश्वकविको नामले पनि जानिन्छ । उनी नोबेल पुरस्कार पाउने पहिलो एशियाली कवि, साहित्यकार र दार्शनिक हुन् । सन् १९१३ मा गीता दर्शनका आधारमा लिखित उनको काव्यरचना ‘गीताञ्जली’ का लागि उनलाई नोबेल पुरस्कार दिइएको हो । गुरुदेवको अर्को विशेषता उनी भारतको राष्ट्रगान “जन गण मन....” र बाँग्लादेशको राष्ट्रगान “आमार सोनार बाँग्ला.....” का रचयिता हुन् । एउटै व्यक्तिले दुई स्वतन्त्र राष्ट्रको राष्ट्रगान रचना गर्नु दुर्लभ संयोग हो । गत जुलाई ७ मा उनको ८२औँ पूण्य स्मृति दिवस हो ।
टैगोरले आफ्ना साहित्यिक कृति पद्यमा लेखेका छन् । कविताका अतिरिक्त कथा, निवन्ध, उपन्यास, लघुकथा, नाटक, गाना र यात्रा वर्णन पनि उनले लेखेका छन् । मैले टैगोरलाई सर्वप्रथम चिनेको हाईस्कूल (दशौं कक्षा) को अँग्रेजी (Prose selection) मा समावेश उनको एक मनोवैज्ञानिक कथा 'सुभा' पढेर हो । एक बाबुले आफ्ना ३ सुन्दर छोरीलाई सुभाषिनी (मीठो बोली भएकी), सुकेशिनी (सुन्दर केश भएकी) र सुहासिनी (सुन्दर मुस्कान भएकी) नाम दिन्छन् तर सभाषिनीको बोली फुट्दैन। उनी लाटी हुन्छिन्। त्यो अवस्थामा एक स्नेही बाबुको मनोदशा कस्तो होला, त्यसको सजिव र मार्मिक वर्णन उक्त कथाको विशेषता हो । हामी कुना-कन्दराका गाउँले किशोर विद्यार्थीलाई सो कथा को भाव व्याख्या गरेर बुझाउन अँग्रेजी पढाउने आदरणीय हेड सर दिनप्रसाद सुवेदीलाई विशेष मिहिनेत परेको, अहिले पनि सम्झन्छु। गीतञ्जली चैं काठमाडौंस्थित इन्डियन लाईब्रेरीमा बसेर बांग्ला र हिन्दी दुईभाषिक पुस्तकमा पढियो । कतिपय बांग्ला पद्यांस कण्ठस्थ भएछ, घत लागेर होला।
१९१५ मा बेलायतको सर्बोच्च सम्मानद्वारा उनलाई विभूषित गरिएको थियो । तर १९१९ मा पञ्जावको जालियाँवाला बगैँचामा भएको गोली काण्ड र नरसंहारमा १५ सयभन्दा बढी निहत्था सर्वसाधारणको हत्या गरेपछि तत्कालीन बेलायती उपनिवेशी शासनलाई विरोधस्वरुप ब्रिटिश महारानीले दिएको उक्त सम्मान फिर्ता गरे ।
रवीन्द्र संगीत, विभिन्न विषयलाई सम्बोधित गर्ने, टेगोरद्वारा रचित बंगाली सङ्गीतको एक विधा, जसले भारत र बङ्गलादेशका दुवैतिर सङ्गीतको अवधारणामा एक नया आयाम, लोकप्रियता र प्रभाव नै ल्यायो। अंग्रेजी भाषामा शेक्सपियरको जतिकै प्रभाव बङ्गाली लोक साहित्यमा रवीन्द्रनाथको छ। रविन्द्र सङ्गीतका गीतहरूलाई बङ्गलादेश तथा भारत, दुवैतिर अर्थात बांग्ला भाषी समाजमा सांस्कृतिक निधि मानिन्छ। बङ्गाली समुदायले भोगेका ५०० वर्षको साहित्यिक र सांस्कृतिक मन्थन रवीन्द्र संगीतका गीतहरूमा पाइन्छ।
धेरै वर्षसम्म उनको निधनको खास कारणबारे कसैले यकिनका साथ भनेका छैनन् । तर धेरै वर्ष भएको छैन एउटा गहिरो अनुसन्धानपछि उनको निधन पोस्ट्रेट क्यान्सरबाट भएको हो भनिन्छ। कालिम्पोङ् गएका बेला उनको पेट अचानक दुखेपछि पिशाब बन्द भएको समस्या थियो । यसैबाट उनको निधन भयो।
चन्द्रमणि गाैतम