आइतबार, आश्विन १८ गते २०८३

सहकारी ठगी गरी विदेश फरार भएकालाइ स्वदेश फिर्ता ल्याउन गृहमन्त्रीलाइ समितिको निर्देशन


श्रावण १४, २०८१ सोमबार
सहकारी ठगी गरी विदेश फरार भएकालाइ स्वदेश फिर्ता ल्याउन गृहमन्त्रीलाइ समितिको निर्देशन

 

सहकारी संस्थाको बचत अपचलन गरी फरार रहेका व्यक्तिहरूलाइ पक्राउ गर्न संसदीय समितिले निर्देशन दिएको छ । संसदीय सहकारी छानबिन समितिले बचत अपचलन सम्बन्धमा उजुरी परेका हाल विदेशमा रहेका भनिएका विभिन्न सहकारी संस्थाका १८ जना सञ्चालक तथा व्यवस्थापकलाई स्वदेश फर्काउने पहल गर्न सरकारलाई निर्देशन दिएको हो।

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार समितिको सोमबार बसेको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेर सहकारी ठगीको आरोप लागेका हाल देशबाहिर फरार भएका १८ जनालाई स्वदेश फर्काउने व्यवस्था गर्न समितिले सरकारलाई निर्देशन दिएको छ।

सभापति थापाले सानुपाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीहरूको रकम दुरुपयोगको छानबिन गर्ने क्रममा जीबी राई, सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जन, सूर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढा मगर, शिवशिखर सहकारीका भूपेन्द्र राई, तेजबहादुर बम्जन तामाङ र लिलानाथ गौतमलाई स्वदेश झिकाउन निर्देशन दिएको जानकारी दिए।

यस्तै, इमेज सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल, साना पाइलाका तस्विरण खातुन र असरफ अली, सहारा बचत तथा ऋण सहकारी र सुप्रिमका सुवास केसी, कान्तिपुर सहकारीका प्रेमध्वज लामा, मेगाड्रिम सहकारीका महाशंकर रेग्मीलाई पनि नेपाल फर्काउन गृहमन्त्रीलाई आग्रह गरिएको छ।

अध्यक्ष थापाले भने, ‘उनीहरूलाई स्वदेश ल्याएपछि मात्र छानबिन समिति निष्कर्षमा पुग्नेछ, यसका लागि सरकारलाई आवश्यक निर्देशन दिएका छौं, यसमा गृहमन्त्रालय पनि सहमत भइसकेको छ।’

साथै, बैठकले कारागारमा रहेका सहकारीका सञ्चालक तथा व्यवस्थापकसँग पनि सोधपुछ गर्ने निर्णय गरेको छ। थापाले भने, ‘यसका लागि गृह मन्त्रालयलाई प्रबन्ध मिलाउन भनिएको छ।’