बागमती प्रदेश सहकारी संघको पाँचौं स्थापना दिवसका अवसरमा वृक्षारोपण गरेको छ । हरेक वर्ष श्रावण १३ गते मा प्रदेश भित्रका विभिन्न जिल्लाहरुमा सामाजिक कार्य गरि मनाउने गरिएकोमा यस पटक भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका स्थित हनुमन्ते करिडोरमा करिव २०० वटा विभिन्न प्रजातीका विरुवाहरु रोपेर संघको स्थापना दिवस मनाइएको हो।
काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला सहकारी संघ लिमिटेड भक्तपुर र अन्नपूर्ण बहुमुखी सहकारी संस्था लिमिटेडको समन्वयमा आयोजित कार्यक्रमको अध्यक्षता बागमती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष रामशरण शर्मा घिमिरेले गरेका थिए । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष अेामदेवी मल्लको प्रमुख आतिथ्यता, उपाध्यक्ष डि.बी. बस्नेतको विशेष आतिथ्यता, राष्ट्रिय सहकारी बैंक लिमिटेडका संचालक ध्रुब बहादुर विष्ट, नेफ्स्कूनकी सञ्चालक मन्दरा मिश्र, जिल्ला सहकारी संघ लिमिटेड भक्तपुरका अध्यक्ष ध्रुव बहादुर रायमाझी लगायतको उपस्थिति रहेको कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र मकवानपुर जिल्लाबाट करिब १५० जना सहकारीकर्मीको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि अोमदेवी मल्लले ठूला हलमा भड्किलो कार्यक्रम गरेर समय बिताउनुभन्दा रचनात्मक ढंगले सामाजिक कार्य गरेर मनाउनु उपयुक्त हुने उल्लेख गरिन् । स्थापनाको पाँचौं दिवश मनाइरहँदा सीमित श्रोत र साधनको बाबजुत प्रदेश सहकारी संघले प्रदेश भित्रका १३ वटै जिल्लाहरुमा निरन्तर कार्यक्रमहरु गरिरहेकोमा प्रशंसा गर्दै प्रदेश भित्रका सम्पूर्ण सहकारी संघ/संस्थाको साझा संघको रुपमा प्रदेश सहकारी संघले अनुकरणीय भूमिका निर्वाह गरिरहेकोमा धन्यवाद् दिइन् ।
सभाध्यक्ष रामशरण शर्मा घिमिरेले संघको स्थापना दिवसमा हरेक वर्ष कुनै सामाजिक कार्य गरेर अगाडि बढ्ने योजना अनुसार भक्तपुर जिल्लामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको जानकारी गराउँदै कार्यक्रम सफल बनाउनका लागि विभिन्न जिल्लाबाट आएका सहकारीकर्मीहरु, प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु र समन्वयात्मक भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण संघ/संस्थाहरुलाई धन्यवाद् ज्ञापन गरेका थिए ।
नेपालपत्र संवाददाता