आइतबार, आश्विन १८ गते २०८३

सहकारीहरु समस्याग्रस्त हुँदा अर्थतन्त्रमा असर परेको स्वीकार, नियामक निकायका लागि समन्वय गरिने


श्रावण ११, २०८१ शुक्रबार
सहकारीहरु समस्याग्रस्त हुँदा अर्थतन्त्रमा असर परेको स्वीकार, नियामक निकायका लागि समन्वय गरिने

 

चालु आर्थिक वर्ष २०८१ ८२ का लागि ल्याइएको मौद्रिक नीतिमा सहकारी संस्थाहरु समस्याग्रस्त बन्दा मुलुकको अर्थतन्त्रमा नै असर परेको उल्लेख गरिएको छ । खासगरी बचत तथा ऋण सहकारी संस्थाहरुमा देखिएको समस्या समाधान नगरी आर्थिक गतिविधि बढाउन कठिन रहेको आत्मसात मौद्रिक नीतिले गरेको छ । 

आन्तरिक मागको कमीले गर्दा आर्थिक गतिविधि सुस्त रहेको औंल्याउँदै मौद्रिक नीतिमा भनिएको छ, ‘आर्थिक वर्ष २०८०÷८१ मा आन्तरिक मागको कमीले आर्थिक शिथिलता कायमै रहेकोले कर्जा असुलीमा कमी आई बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा अनुपात बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा अनुपात २०८० असारमा ३.०२ प्रतिशत रहेकोमा २०८१ जेठमा ३.९८ प्रतिशत पुगेको छ । आन्तरिक आर्थिक गतिविधिमा सुधार, बचत तथा ऋण सहकारी संस्थामा रहेको समस्याको समाधान र सरकारको बाँकी भुक्तानीहरुको फस्र्याैट हुन सकेमा कर्जा असुली सहज हुने देखिन्छ । ’

त्यसैगरी वैदेशिक रोजगारी र विदेश अध्ययनमा ठूलो संख्यामा युवाहरु विदेश गएकोले आन्तरिक माग शिथिल रहेको छ । यस्तो अवस्थामा समयमा नै पुँजीगत खर्च गरेर अर्थतन्त्रको उत्पादन क्षमता वृद्धिका साथै निर्माण व्यवसायीहरुको भुक्तानी विवाद र बचत तथा ऋण सहकारी संस्थाहरुमा देखिएको समस्या समाधान भएमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने देखिन्छ ।

बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै संयन्त्रको निर्माणका लागि आवश्यक कानुन बनाउन नेपाल राष्ट्र बैंकले सरकारसँग समन्वय गर्ने मौद्रिक नीतिमा जनाइएको छ ।