नेकपा एमालेले संघीय सहकारी विभागले जारी गरेको निर्देशन कार्यान्वयन नगर्नरनगराउन नेकपा आग्रह गरेको छ । सहकारी विभागले सहकारी एेन २०७४ को व्यवस्था बमोजिम ३० दिनभित्र एउटा कुनै सहकारी सङ्घ तथा संस्थाको मात्र सञ्चालक पद कायम राखी अन्य पदको हकमा त्याग गर्नुपर्ने अन्यथा कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने सूचना गत साता जारी गरेको थियो ।
एमाले केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको बुधबार बसेको बैठकले विभागद्वारा जारी उक्त निर्देशनले सहकारी अभियानमा कठिनाइ उत्पन्न भएको भन्दै सो व्यवस्था लागु नगराउन भनेको हो ।
सो विभाग प्रमुख खगराज अधिकारीले उक्त निर्देशनले प्रारम्भिक संस्था तथा सङ्घहरूमा बीचमै नेतृत्व छोड्दा अन्यौल सिर्जना भई सहकारी व्यवस्थापन गर्न असहज हुनुका साथै विद्यमान परिस्थितिमा थप समस्या हुने जनाएका हुन् ।
प्रारम्भिक सहकारी संस्थाको हकमा कुनै एक व्यक्ति एकै समयमा एकमात्र संस्थाको सञ्चालक हुनसक्ने छ भन्ने विषयलाई संस्थागत गर्दै सहकारीहरूको शुद्धीकरण र सुदृढीकरणमा ध्यान पुर्याउन एमाले सहकारी विभागले नियामक निकायको ध्यानाकर्षण गराएको छ ।
सहकारी विभागको निर्देशनले सहकारी क्षेत्रमा देखिएका विद्यमान अन्यौलको अवस्थामा सहकारी अभियानको मूल समस्याबाट अन्यत्र ध्यान मोड्न खोजिएको आशंका एमालेको छ।
सहकारी संस्थाको अनुगमन प्रभावकारी बनाउने, सहकारीमा ऋण तिर्ने वातावरण सिर्जना गर्ने, कर्जा असुलीमा अटेर गर्ने सहकारी संस्थालाई कारबाही गर्ने विषयमा तत्काल पहलकदमी लिन तीनै तहका सरकारलाई एमालेले अनुरोध गरेको छ।
नेपालपत्र संवाददाता