समस्याग्रस्त शिवशिखर सहकारीद्वारा ललितपुरको ठैवमा सञ्चालित गार्डेन मार्ट लिलामीमा राखिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सात दिन भित्र निवेदन दिन आव्हान गर्दै लिलामीका आज एक सूचना जारी गरेको छ ।
ललितपुर जिल्ला गोदावरी न.पा., वडा नं. १४, ठैवस्थित गौरी लाल श्रेष्ठको नाममा रहेको कित्ता नं. ३२८ क्षेत्रफल १ रोपनी २ आना जग्गामा संस्थाबाट संरचना निर्माण गरी गार्डेन मार्ट तथा सहकारी संस्थाको शाखा सञ्चालनमा रहेकोमा गार्डेन मार्टको संरचना, मार्ट भित्र रहेका सामान तथा सहकारी संस्थाका फर्निचर तथा कम्प्यूटर उपकरणहरुको न्यूनतम एकमुष्ट मूल्यांकन एक करोड पन्ध्र लाख अठहत्तर हजार आठ सय पैंतीस कायम गरी समितिले लिलामी खुलाएको हो ।
नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मिति २०८० भदौ २५ मा समस्याग्रस्त घोषित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि व्यवस्थापन समिति मातहत गएको थियो ।
सहकारी ऐन, २०७४ को परिच्छेद १८, दफा १०६ को खण्ड ‘ज’ बमोजिम सहकारी संस्थाको सम्पत्ति बेचविखन गर्नु पर्ने भएकोले घरधनी, बचतकर्ता वा बाह्य इच्छुक पक्षले उल्लिखित रकमभन्दा कम नहुने गरी बढी बढाउमा सकार्न चाहेमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र समितिको कार्यालय बुद्धनगरमा उपस्थित भई गोप्य शिलबन्दी निवेदन दिन सूचनामा भनिएको छ ।
नेपालपत्र संवाददाता