भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. वित्तीय सेवा प्रवर्धन उपसमितिको आयोजनामा दुई दिवसीय ‘बार्षिक योजना तथा बजेट निर्माण’ तालिम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी संस्थामा बार्षिक योजना तथा बजेट बनाउनु कानुनी व्यवस्था पालना गर्नुको साथै संस्थामा सुशासन कायम गर्नमा समेत टेवा पुग्ने उल्लेख गरे । सहकारीमा बार्षिक योजना तथा बजेटको महत्वबारे चर्चा गर्दै उनले सहकारी विभागले जारी गरेका निर्देशनकाबारेमा समेत जानकारी गराए ।
संघका कोषाध्यक्ष एवं उपसमितिका संयोजक कान्छाभक्त घजुले सहकारीमा राम्रो योजना र बजेटले मात्र संस्था सफल हुने बताउँदै बजेट अनुसार खर्च नपुग भएमा अर्को शिर्षकबाट रकमान्तर गर्ने व्यवस्था पनि रहेको उल्लेख गरे । उपसमितिका सदस्य राजकुमार लघुले तालिमबाट सिकेको कुरा संस्थामा प्रयोग गर्नुपर्ने बताए ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले संस्थाको परिकल्पना, ध्येय र उद्देश्य प्राप्त गर्न सकिने गरी बार्षिक योजना तथा बजेट निर्माण गर्नुपर्ने जोड दिए । तालिमका सहजकर्ता राधेश्याम दुवालले हालको परिस्थितिमा सहकारीलाई नाफा घाटाको होड बाजीमा नलागी सहकारीलाई विषम परिस्थितीबाट जोगाउन विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।
तालिममा योजना तथा बजेट बनाउन ध्यान दिनुपर्ने कुरा, योजना तथा बजेटको महत्व, योजनाको प्रकार, बार्षिक योजना प्रक्रिया, संस्थाको आन्तरिक तथा बाह्य विश्लेषण, संस्थाको परिकल्पाना, ध्येय, उद्देश्य, लक्ष्यको प्रयोग लगायतका विषयमा सिक्न पाएकोमा सहभागीहरुले खुशी व्यक्त गरे । संघमा आवद्ध सदस्य संस्थाहरुमध्येबाट कोषाध्यक्ष, व्यवस्थापक वा लेखासहायक गरी १९ जनाको सहभागिता रहेको थियो । तालिमको समापन समारोहको संचालन उपसमितिका सदस्य राजाराम गोसाईंले गरेका थिए ।
नेपालपत्र संवाददाता